बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
चलचित्र

‘कमलामाई’ बनेका अभिनेता विपिनलाई जब साथीले चिनेनन्...

शुक्रबार, २२ भदौ २०८०, १० : १९
शुक्रबार, २२ भदौ २०८०

काठमाडौँ । दर्शक फिल्ममा विपिन कार्की हेर्न जान्छन् । तर उनीहरुले फिल्ममा विपिनलाई चिन्न हम्मेहम्मे पर्छ । कारण, उनी हरेक फिल्ममा फरक चरित्रमा देखिन्छन् । त्यो चरित्रको गेटअप, लवजदेखि बडी ल्याङ्ग्वेजसम्म भिन्न हुन्छ ।

फिल्म कालोपोथीको ‘दलित पात्र’, पशुपति प्रसादका ‘भष्मे डन’ ‘जात्रा’ र ‘जात्रै जात्राका’ फणिन्द्र तिमिल्सिनादेखि ‘नाका’को जुन डनसमेत विपिन नै हुन् भनेर सजिलै पत्याउन पनि सकिन्न ।

अहिले त झन् ट्रान्सवुमन कमलामाईको अपत्यारिलो भूमिकामा देखिदैछन् विपिन । उनी यस्तो भूमिकामा फिल्म ‘एक भगवत् गीता’मा देखिन लागेको हुन् । झरना थापानिर्देशित २९ भदौबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको पोष्टर, टिजर र ट्रेलर समेत सार्वजनिक भैसकेको छ । सबैमा उनको कमलामाई गेटअपको प्रचार गरिएको छ ।

यी तीनै प्रचार सामाग्रीमा देखिने कमलामाई विपिन हुन् भनेर सजिलै भन्न जो कोहीलाई कठिनै पर्छ । अभिनयमा भेराइटी दिन माहिर उनी अनौठो भूमिकाबाट दर्शक रिझाउन सफल छन् । त्यसैले, कमलामाई  भूमिकाबाट पनि दर्शक सन्तुष्ट हुने अपेक्षा उनको छ ।

‘दर्शकले मबाट सधैँ ठुलो अपेक्षा राख्दै आउनु भएको छ’, फिल्म ‘एक भगवत् गीता’ प्रचारको क्रममा रातोपाटीसँग ठोक्किएका विपिनले भने, ‘कमलामाई भूमिका पनि दर्शकको अपेक्षामा खरो उत्रन्छ भन्ने विश्वास छ ।’ 

कमलामाई आफूले ‘पशुुपति प्रसाद २ः भष्मे डन’को ‘भष्मे डन’ चरित्र भन्दा महत्वका साथ हेरेको र निर्वाह गरेको चरित्र भएको उनले सुनाए ।

विपिनको अर्काे फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ आगामी दशैँमा रिलिज हँुदैछ । दुबै फिल्मको प्रचार प्रसार अहिले चलिरहेको छ । ‘एक महिनाको अन्तरालमा दुई फिल्म रिलिजमा आउँदै गर्दा म त प्रचारको लागि कन्फ्युज हुन्छु । एकै दिन दुइटा फिल्म आएकालाई कति टेन्सन हुन्छ होला,’ उनले भने ।  

लोभले ट्रान्सवुमन

कलाकारलाई सधैँ फरक भूमिका अभिनयको लोभ हुन्छ । कमलामाई लैङ्गिक हिसावले पनि भिन्न भूमिका भएकोले मुस्किलले मिल्छ । पहिले पहिले नाटकमा महिला कलाकारको कमी हुँदा पुरुषले लिङ्ग परिवर्तन गरेर अभिनय गर्ने गरेका थिए । अहिले त्यो परम्परा हराएर गएको छ ।

निर्देशक झरनाले विपिनलाई कमलामाई भूमिका अफर गर्दा विपिन ‘पशुपति प्रसाद २ः भष्मे डन’ अभिनयको तयारीमा थिए । अभिनेताको हिसावले कमलामाई भूमिका गर्न पाए हुन्थ्यो, यसमा काम गरें भने फरक अनुभुति मिल्छ, दर्शकलाई नयाँ स्वाद दिन सक्छु भन्ने लाग्दा लाग्दै पनि उनले ‘एक भगवत गीता’को अफर नकारे । किनभने उनीसँग समय थिएन ।

निर्देशक झरनाले समय मिलाएर सुटिङ गर्छाै भनेपछि अभिनयका लागि उनले स्क्रिप्ट सुने । 

‘ट्रान्सवुमनको भूमिका आफर गर्नु भएको छ । यस्तो पात्रलाई मजाकको पात्र मात्र बनाएर हेरिएको इतिहास छ । मैले स्क्रिप्ट सुन्नु अगाडि झरना दिदीलाई भने’, विपिन ती दिनमा फर्किए, ‘स्क्रिप्ट सुन्दा कमलामाईको चरित्र एकदमै पोजेटिभ पाएँ । झरना दिदीले पनि भाइको जस्तै सोच हो मेरो भन्दा उत्साह मिल्यो ।’

विपिनले धेरै फरक फरक भूमिका गरेपनि पुरुषको रुपमा मात्र अभिनय गरेका छन् । कमलामाई त्यो पनि ट्रान्सवुमन पात्र उनको लागि कम चुनौती थिएन । तै पनि यो भूमिका गर्नुपर्छ भन्ने उनलाई लाग्यो ।

‘समाजलाई नियाल्दा हामीले देखिरहने पात्र हुन् ट्रान्सवुमन । अहिले सम्मको जीवन यात्रामा कति त्यस्तो पात्रसम्म ठोक्किसकेको छु’, उनी भन्दै थिए, ‘यस्तो दुई पात्र स्कुल समयमै भेटेको रहेछु । एउटा कलाकारको आँखाले त्यसरी हेरेको हुन्छ ।’ यो चरित्रको आयाम निकै भिन्न छ र फरक दृष्टिकोणबाट पनि देखाउन सकिन्छ भन्ने लागेकोले पनि अनिनयमा लोभ जागेको उनले सुनाए ।

‘पुरुषका रुपमा बिभिन्न फरक आयामहरु खोजिरहेको ब्यक्तिलाई लिङ्ग नै फरक हुँदा गर्न सक्छु भन्ने कन्फिडेन्ट आफै बढ्दो रहेछ । त्यसकारण पनि कमलामाई बने’ उनले थपे ।

ट्रान्सवुमनको कहालीलाग्दो जीवन

फिल्ममा कमलामाई चरित्र मिथिला कल्चर, संस्कृतिमा आधारित रहेर  प्रस्तुत गरिएको छ । मिथिला सभ्यतामा ट्रान्सवुमनलाई भगवान्को रुपमा हेरिन्छ, आर्शिवाद लिइन्छ र घरको शुभ–कार्यमा बोलाउने चलन पनि छ । 

विपिनलाई पनि यो चरित्र अभिनय गर्दाै यस्तै यस्तै गतिविधि गरे । कतिलाई लाग्न सक्छ, विपिनले कमलामाई चरित्रमा धेरै रिसर्च गरे । बर्षाै लगाए । तर, उनले यसका लागि रिसर्चसमेत गर्नु परेन । किनकि विराटनगरमा जन्मिएका उनी यो बिषयमा पहिलेदेखि नै जानकार थिए । मैथिली अन्य ठाउँमा भन्दा जनकपुरमा अझै पोलाइटनेश छ भन्ने बुझेका उनले भाषाका लागि भने केही समय खर्चिनु पर्यो । 

‘अभिनय गर्दा गटेअप ट्रान्सवुमनको बनाएर म त्यही अनुसारको गतिविधि गर्थे’, विपिनले अनुभव सुनाए,, ‘महिलाको हाउभाउ नमिल्दा निर्देशक झरना दिदीले सिकाउनु हुन्थ्यो ।’ फिल्मको निर्देशक झरना नारी भएकोले पनि आफूलाई कमलामाई भूमिका निर्वाह गर्न धेरै सहज भएको विपिनको अनुभव छ ।

366358995_6708483665840205_8430708336450614965_n

‘हरेक अनुभव सुखद र दुःखद दुबै हुन्छ । कमलामाई अभिनयमा पनि उनका अगाडि धेरै अप्ठ्यारा आए । अहिले फिल्म रिलिज हुने समयमा आउँदा, टिचर र ट्रेलरको चर्चा र दर्शकको राम्रो प्रतिक्रिया मिल्दा एकदमै खुसी छु’ उनले भने ।

कमलामाइको गेटअपमा साथीहरुले नचिनेको रमाइलो अनुभव पनि छ विपिनसँग ।

‘साथीहरु मलाई भेट्न सुटिङ सेटमाआउँथे । नचिनेर मलाई विपिन कता भनेर सोध्थे’, उनले हाँस्दै भने, ‘त्यो समय लाग्थ्यो, म चरित्रमा परफेक्ट देखिएको रहेछु ।’

ट्रान्सवुमन पात्रको अभिनय गर्दा केही तीतो अनुभव पनि गरेका छन् उनले । त्यो हो, उनीहरुको अनेक दुःख । भन्छन्, ‘ट्रान्सवुमन मानिसहरुको भीडमा एकछिन रमाउँछन् होला । हाम्रो समाजमा उहाँहरु खुसी हुने अवस्था भने रहेनछ । उनीहरुको जीवन भयंकर कहालीलाग्दो छ ।’

केही दिन ह्याङ्ग

फिल्म क्षेत्रमा केही कलाकार यस्ता पनि छन्, जो छिट्टै चरित्रमा घुस्छन् र निस्कन्छन् पनि । विपिनलाई भने दुबै प्रोसेसमा समय लाग्छ रे । पहिले पहिले यो प्रोससमा धेरै समय लगाउने उनी अहिले यो प्रोसेस थोरै समयमा झरेको छ । छिटो भने गर्न सकेको छैनन् । कमलामाई चरित्रमा घुस्न र निस्कन समेत उनलाई केही दिन लागेको छ ।

‘चरित्रमा पस्ने हरेक कलाकारको आ–आफ्नो तरिका हुन्छ । म अलि फरक तरिकाबाट गर्छु  । सुरुमा चरित्रमा पस्न पनि समय लाग्छ । हत्तपत्ती निस्कन पनि सक्दिन’, विपिन अगाडि भन्छन् ‘जति अभिनय बढ्दै गएको छ । त्यति नै यो प्रोसेस छिटो हुँदै गएको छ ।’ अहिले छिटो छिर्ने र छिटो निस्कने प्राक्टिस गर्दै गरेको उनले बताए ।

उनले महसुस गरेको कुरो छ,‘कलाकार भएपछि एउटै पात्रमा डुबेर बसिरहनु हुँदैन ।’ कमलामाई चरित्रबाट निस्कन धेरै समय नलागेको बताएका विपिन सुटिङ सकिएपछि पनि केही दिन जनकपुरमै बसेका थिए । 

‘नङमा चरित्रको पालिसदेखि मेहन्दीसम्म निख्रिएको थिएन । चरित्रको अलिअलि ह्याङ बाँकी नै थियो । त्यसैले, सुटिङ सकिएपछि घरमा ढाँटेर थप केही दिन जनकपुरमै बसे,’ उनले भने । 

एकै दिन ५ गेटअप 

विपिनलाई कुनैपनि चरित्रमा घुस्न र निस्कन समय लाग्छ । यदि एकै दिन फरक फरक चरिमा काम गर्नुपर्यो भने के गर्लान् त विपिन ? त्यसको जवाफ केही समयमै रिलिज हुने ईसेवाको एक विज्ञापनले दिन्छ । किनभने यो विज्ञापनमा उनले एकैदिन ५ थरिको चरित्र निर्वाह गरेका छन् ।

232629116_923768388489357_5579490631084587181_n

एक चरित्रबाट अर्काेमा जान र अर्काेबाट झन् अर्काेमा जान निकै अप्ठ्यारो भएको उनको अनुभव छ ।

ईसेवाको उनी ब्राण्ड एम्बेसडर पनि हुन् । यसको विज्ञापनमा उनले ५ भिन्न चरित्र छिन छिनमा गेटअप बदलेर अभिनय  गरे । यो अभिनयले कलाकार भएपछि छिनछिनमै गटअप बदल्न मनस्थिति बनाउनु पर्दो रहेछ भन्ने महसुस भएको विपिन बताउँछन् ।

पछिल्लो समय विपिनलाई धेरै फिल्म अभिनय गरेको आरोप पनि छ । तर, त्यसको खण्डन गर्छन् उनी । 

‘करिब ५÷६ महिनामा एउटा फिल्म आएको भए दर्शकमा कौतुहलता हुन्थ्यो’, विपिन अगाडि भन्छन्, ‘मेले धेरै फिल्म खेल्नु भन्दा पनि दुइटा फिल्मको रिलिज समय मिल्न गएकाले धेरै फिल्म खेलेको देखिन गयो ।’

‘एक भगवत् गीता’ मा विपिनको कमलामाई अवतारको अलावा अभिनेत्री सुहाना थापाको मैथिली र धिरज मगरको गुरुङ गेटअप छ । अन्तरजातीय प्रेमकथामा बनेको फिल्मको अन्य कलाकारमा वर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुर लगायतको अभिनय छ । 

तीन करोड बढीको लगानीमा फिल्म सुनिल कुमार थापाले सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा एक भगवत् गीता’ निर्माण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप