शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनएको एकतासम्बन्धी सहमति भाँडियो, छुट्टै महाधिवेशन गर्ने कुँवर समूहको निर्णय

आइतबार, २४ भदौ २०८०, ०८ : १८
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकतासम्बन्धी सहमति भाँडिएको छ । संस्थापन पक्षले एकताको सहमतिअनुसार कार्यान्वयन गर्न नमानेको निष्कर्ष निकाल्दै विनोद कुँवर नेतृत्वको एनआरएनएले छुट्टै महाधिवेशन गर्ने निर्णय गरेको हो । 

शनिबार कुँवरको सभापतित्व तथा  पूर्व प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न सङ्घको विशेष साधारणसभाले मार्चभित्र महाधिवेशन गर्ने निर्णय गरेको हो । 

जसअनुसार गत जुलाई सम्म सम्पन्न गर्नुपर्ने राष्ट्रिय महाधिवेशन नोभेम्बर सम्म पछि सार्न गरिएको प्रस्ताव सभाबाट पारित भएको छ। त्यसैगरी सङ्घको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन मार्च २०२४ भन्दा पहिले सम्पन्न गर्नेगरी परिषद् बैठकले निर्णय गर्ने गरी प्रस्ताव पनि पारित भएको अध्यक्ष कुँवरले जानकारी दिए । 

‘सङ्घको विधानको दफा २३ र दफा २४ अनुसार जुलाई भित्रमा सबै देशमा राष्ट्रिय महाधिवेशन गरिसक्नु पर्ने व्यवस्था भएकाले धेरै देशमा राष्ट्रिय महाधिवेशन हुन् बाँकी रहेको स्थिति र महाधिवेशनको लागि अरू धेरै प्रक्रिया पुरा गर्नुपर्ने लगायतका परिस्थिति भएकाले यो पटक राष्ट्रिय महाधिवेशनहरू जुलाई २०२३ देखि नोभेम्बर २०२३ सम्म सम्पन्न गरिसक्ने निर्णय गरिएको छ’, कुँवरले भने । 

कम्तीमा १० जना गैरआवासीय नेपालीहरू भएका देशमा तदर्थ समिति गठन गर्न सकिने गरी निर्णय भएको छ । तदर्थ समितिले अन्तर्राष्ट्रिय महाधिवेशन भन्दा पहिला राष्ट्रिय महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने भन्दै सङ्घले अन्यथा महाधिवेशनमा भाग लिन नपाउने निर्णय गरेको छ । 

गैरआवासीय नेपाली सङ्घको २०२३–२०२५ अवधिको लागि सदस्यता यो पटकको लागि अक्टुवर २०२३ सम्म खुला रहने कुँवरले बताए । यसपूर्व राष्ट्रिय महाधिवेशन सम्पन्न भएका देशहरूमा भने सोही राष्ट्रिय महाधिवेशन भएको मितिलाई मान्य हुने उनको भनाइ छ । 

गैरआवासीय नेपाली सङ्घको सदस्यता शुल्क यस पहिला नै निर्णय गरिए अनुसार कम्तीमा ५ अमेरिकी देखि बढीमा १० अमेरिकी डलर भित्र हुनेगरी एनसीसीहरुले तोक्न सक्नेछन्। निःशुल्क सदस्यताको अवधारणा तत्काल विधानमा छैन। कुनै एनसीसीहरुले निःशुल्क सदस्यता दिएमा पनि अन्तर्राष्ट्रिय परिषदलाइ प्रति सदस्य २ अमेरिकी डलर भने बुझाउनु पर्नेगरी निर्णय भएको छ । 

सङ्घको गत १० औँ महाधिवेशन २०२२ का प्रतिनिधिहरूले सम्बन्धित देशको एनसीसीमा अक्टुवर २०२३ सम्म आफ्नो सदस्यता शुल्क सहित नवीकरण गरेमा यस्ता सदस्यहरूले ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि हुनको लागि नाम दर्ता गर्न सक्ने कुँवरले बताए। तर भविष्यमा यो नजिर कायम नहुनेगरी निर्णय भएको छ । 

गैरआवासीय नेपाली सङ्घको विधान २०२२ को व्यवस्था अनुसार सङ्घको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी मार्चभित्र महाधिवेशन प्रतिनिधिहरूको प्रत्यक्ष उपस्थितिमा नेपालमा गरिने कुँवरले बताए । 

विशेष साधारण सभामा पूर्व अध्यक्ष तथा पूर्व संरक्षक देवमान हिराचन, निवर्तमान उपाध्यक्ष सोनाम लामा, पूर्व संरक्षक दिल गुरुङ, सङ्घका पदाधिकारी, परिषद् सदस्य, कार्यकारी निर्देशक राजेश राना, सल्लाहकार र राष्ट्रिय समन्वय परिषद्, पंजीकृत सदस्य लगायतको उपस्थिति रहेको थियो ।  

सभाले विभिन्न प्रस्तावहरूका साथै केहि नीतिगत निर्णय पनि पारित गरेको छ । त्यसैका आधारमा परिषद्ले नियमावली समेत तयार गर्ने कुँवरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप