सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
यात्रा संस्मरण:

मार्खुको अविस्मरणीय प्राकृतिक छटा

आइतबार, २४ भदौ २०८०, १० : ५५
आइतबार, २४ भदौ २०८०

काठमाडौँबाट थानकोटसम्म गाडीमा पुगेपछि चन्द्रागिरि–चित्लाङको पुरानो गोरेटो बाटो हुँदै पहिलो पटक मार्खु पुग्दा मलाई संसारकै सुन्दर ठाउँमा पुगेको अनुभूत भएको थियो । चन्द्रागिरिको त्यो उकालो अनि ओरालो गोरेटो बाटोमा आफ्ना पैतालाको डोब छोड्दै चित्लाङ उपत्यकाको त्यो फराकिलो फाँट, वरिपरि हरिया डाँडा, पुरान झिँगटीका छाना, हाँसका कर्रकर आवाज अनि चित्लाङ खोलाको कलकल आवाजलाई पछ्याउँदै इन्द्रसरोवर ताल पुग्दा साँच्चै इन्द्रलोकको एक टुक्रा धर्तीमा झरे झैँ लागेको थियो । साँझमा तालको छेउछाउका होटल रिसोर्टबाट आएको सङ्गीतको गुञ्जन, आगोको रापमा पाक्दै गरेका मासुका विभिन्न परिकारको वास्ना अनि बत्तिको झिलिमिली प्रकाश तालको पानीमा तैरिरहेको देख्दा दिनभरी हिँडेको थकान पलभरमै मेटिएको थियो । 

बिहानीपख तालको पानीमा उठेको बाफको बादल, सूर्यको सुनौलो प्रकाश अनि रङ्गीबिरङ्गी डुङ्गामा सवार यात्रीहरूको चहलपहल जति हेरे पनि मन अघाएको थिएन । यस्तो लाग्यो यो ठाउँ छोडेर फेरि कोलाहल अनि उकुसमुकस पार्ने राजधानी खाल्टोमा पुनः जान नपरोस् तर जानु त थियो नै । जानुअघि मार्खुको सुन्दरतामा नतमस्तक भएर फेरि आउने वाचासहित मन अमिलो बनाएर फर्किएको थिएँ । त्यसपछि पनि मलाई मार्खुको सुन्दरताले बारम्बार लोभ्याइरह्यो । त्यसैले हरेक वर्ष प्रमिकालाई भेट्न गएजसरी म यो ठाउँ धाइरहन्छु ।    

IMG20230901072406

बर्खा सकिएसँगै देशैभर आन्तरिक पर्यटनको चहलपहल बढिरहेका बेला काठमाडौँको छेवैमा रहेको, प्राकृतिक छटाले भरिपूर्ण, नेपालकै पहिलो मानव निर्मित जलाशय अर्थात् इन्द्रसरोवर आसपासको मार्खु क्षेत्र भने सुनसान थियो । काठमाडौँ–दक्षिणकाली हुँदै हेटौँडा जोड्ने कतै व्यवस्थित त कतै धुलाम्मे सडक हुँदै शुक्रबार साँझ कुलेखानी मार्खु पुग्दा त्यहाँको दृश्य भने फरक थियो । जुन मेरो पहिलेको अनुभवसँग कहीँ कतै पनि मेल खाँदैनथ्यो । अधिकांश होटल, लज तथा रिसोर्टमा ताला लगाइएको थियो भने खुलेका केही होटल, रिसोर्टहरू पनि पहुनाको अभावमा झोक्राएर झैँ लाग्थ्यो । विगतका केही वर्षहरूमा सालैभर पर्यटक खचाखच हुने मार्खु वरपर अहिले आधा वर्ष सकिनै लाग्दा पनि चहलपहल शून्य प्रायः नै छ । मार्खु गहिरो सन्तापमा डुबेझैँ लाग्थ्यो । 

प्राकृतिक सुन्दरताले भरिपूर्ण, सांकृतिक तथा ऐतिहासिक धरोहर अनि देशको आर्थिक उन्नतिमा सधैँ काँध थाप्दै आएको मार्खु अहिले भने उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । केही वर्ष पहिलेसम्म सामाजिक सञ्जाल तथा इन्टरनेटकै भरमा यस ठाउँलाई खोज्दै पाहुना आउँथे । तिनै पाहुनाले थप प्रचार प्रसार गरिदिन्थे । होटल रिसोर्ट खचाखच हुन्थ्यो । कोठा पाउनै मुस्किल हुन्थ्यो । तर अहिले भने अवस्था फेरिएको रहेछ । लामो समयदेखि तालको छेवैमा ‘न्यू श्रेष्ठ होटल एन्ड लज’ सञ्चालन गरेर बसेका न्युटन श्रेष्ठले आफ्नो दुखेसो पोखे, ‘यसपालि खै के भएको हो, मान्छेको मुखै देख्न पनि धौ धौ छ । आधा होटलहरू त अझै खुलेका पनि छैनन्, जति खुलेका छन् तिनमा न बस्नलाई पाहुना छन् न होटल चलाउनलाई कामदार नै छन् । यस्तै अवस्था रहे यहाँ खुलेका व्यवसायको भविष्य के कस्तो हुने हो ?’ श्रेष्ठले दुःखेसो पोखे ।

मार्खु मात्र होइन यसको आसपासको रमणीय गन्तव्यहरूले पनि यसको महत्त्वलाई बढाएको थियो । जस्तै मोहनी झरना, इन्द्रसरोवरका ताजा माछा अनि तालमाथि डुङ्गा शयर, चित्लाङ उपत्यका र भेडा खर्क, सिस्नेरीको प्राकृतिक स्विमिङ पुल आदि ठाउँहरु घुम्न आउनेहरूको मुख्य रोजाइमा मार्खु हुने गर्थ्यो । सपरिवार तथा साथीभाइसँग जमघट, पिकनिक, हाइकिङ तथा साइक्लिङ गर्न उपुयक्त मानिने मार्खुमा अहिले भने पर्यटकीय गतिविधि कम भएको पक्कै छ तर निराश भइहाल्नुपर्ने अवस्था छैन । किनभने अहिले ताललाई नै मुख्य आकर्षण पारेर नयाँ नयाँ सुविधा सम्पन्न होटल, रिसोर्टहरू धमाधम बनिरहेका छन् र बन्ने क्रममा छन् । त्यस्तै तालमाथिबाट जिपलाइनको सुरुवात पनि हुँदै रहेछ भने बोटिङका लागि नयाँ डुङ्गा र मोटर बोटहरू पनि थपिएका छन् ।  

IMG20230901072510

सन् १९७७ ताका राजा वीरेन्द्रको शासनकालमा मार्खु वरपरका खोला खोल्सीहरूलाई बाँध बाँधेरे जलाशय बनाउने र उक्त जलाशयबाट विधुत् निकाल्ने योजनासहित निमार्ण कार्य सुरु भएको इन्द्र सरोबर । सन् १९८२ मा ६० मेघावाटको कुलेखानी प्रथम जलविद्युत् आयोजना पूरा भएको हो । हालसम्म उक्त जलाशयबाट कुलेखानी दोस्रो (३२ मेघावाट) र कुलेखानी तेस्रो (१४ मेघावाट) का जलविद्युत् आयोजनाहरू सञ्चालनमा रहेका छन् । 

वर्तमान समयमा यस जलासयलाई बर्खायाममा पानीलाई सङ्कलन गरेर राख्ने र हिउँदको समयमा अन्य खोलानालाबाट उत्पादन हुने विद्युत्को मात्र घट्दा र राजधानीलगायत अन्य ठाउँको विद्युत्को मागलाई पूरा गर्न यो जलाशयलाई प्रयोग गरिने रहेछ । तर हालै यस परियोजनाको सुरुङमार्गको ममर्त गर्नुपर्ने भएकाले तालको पानी घटाइएको रहेछ जसले गर्दा तालसँग आश्रित समुदाय तथा व्यवसाय धराशायी हुन पुगेको रहेछ । घट्दो तालको पानीको सतहले ताललाई कुरूप मात्र बनाएको छैन यसलाई आधार मानेर गरिएको सामूहिक माछा पालन, डुङ्गा, मोटर बोट तथा होटल, रिसोर्ट व्यवसाय पनि प्रभावित भएको छ । 

आशा गरौँ यो बर्खाको अन्त्यसम्ममा तालमा पानी भरिने छ र उसैगरी मार्खु आसपासका होटल रिसोर्ट र लजहरू आन्तरिक र बाह्य पर्यटकले खचाखच हुनेछ । देशलाई विद्युत्को हाहाकर परेको बेला परिपूर्ति गरिदिने यस कुलेखानी जलाशयले यहाँको सुस्ताएको पर्यटन व्यवसायलाई पनि पक्कै उज्यालो बनाउने छ ।

भूगर्भ शास्त्र केन्द्रीय विभाग, कीर्तिपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रदीप देवकोटा
प्रदीप देवकोटा
लेखकबाट थप