सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कूटनीति

भारतमा जी–२० सम्मेलन सकियो, नेपालले किन पाएन सहभागिता ?

आइतबार, २४ भदौ २०८०, १७ : ५२
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । छिमेकी देश भारतमा अन्तर्राष्ट्रिय महत्त्व बोकेको दुई दिने जी–२० सम्मेलन सकिएको छ । शनिबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा भएको सम्मेलन आइतबार सकिएको हो । 

आगामी नोभेम्बरमा भारतले जी–२० भर्चुअल शिखर सम्मेलन गर्ने घोषणाका साथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलन समापनको घोषणा गरेका छन् ।  

जी–२० सम्मेलनमा बेलायतका प्रधानमन्त्री ऋषि सुनक, अमेरिकाका राष्ट्रपति जो वाइडेन, अर्जेन्टिनाका राष्ट्रपतिसहित विभिन्न १७ देशका प्रमुखहरु सम्मेलनमा सहभागी भएका थिए । सो सम्मेलनमा भारत हुँदै मध्यपूर्वबाट युरोप जोड्ने आर्थिक करिडोरको समेत घोषणा गरिएको छ । सम्मेलनले शनिबार ३७ पृष्ठ लामो घोषणापत्र सार्वजनिक समेत गरेको छ । 

सो सम्मेलनमा जी–२० मा आबद्ध रहेका देशहरुका अलावा भारतको निमन्त्रणमा बंगलादेश, मौरिसस, नेदरल्याण्ड, सिंगापुर, ओमान जस्ता देशहरु आमन्त्रित देशको रुपमा सहभागी थिए । तर भारतको अभिन्न छिमेकी देशको रुपमा रहेको नेपाललाई भने भारतले प्राथमिकता नदिनुमा नेपालको कूटनीतिक क्षमता कमजोर रहेको परराष्ट्रविद्को बुझाई छ ।   

परराष्ट्रविद् शम्भुराम सिंखडाले रातोपाटीसँगको कुराकानीमा भने–‘भारतले बंगलादेशलाई बोलायो, मौरिससलाई बोलायो, नेदरल्याण्ड, सिंगापुर लगायतका देशहरुलाई बोलायो र तर नेपालचाँही त्यसमा परेन । यसबाट प्रष्ट हुन्छ कि छिमेकीहरुसँग परराष्ट्रनीतिमा हामी कमजोर छौँ । परराष्ट्रनीति सबैभन्दा राम्रो हुनु भनेको विश्वासको वातावरण निर्माण हुनु हो । अहिले त हाम्रो परराष्ट्रनीतिमा विश्वासको संकट रहेको छ यो पनि त्यसैको परिणाम हो ।’ 

उनले भारत र भारतको प्रधानमन्त्रीले भारतसँगको राम्रो सम्बन्ध जुनदेशसँग छ, त्यी देशलाई मात्र बोलाएको हुनसक्ने उल्लेख गरे । उनले भने–‘जी–२० का सदस्य राष्ट्र नभएपनि सिंगापुर, बंगलादेश, नेदरल्याण्ड, युएई, ओमानलाई आमन्त्रण गरे । यी देशहरु भारतको र प्रधानमन्त्रीको विशेष आग्रहमा सम्मेलनमा आएका हुन ।’ 

भारतले महत्त्व दिने लिष्टमा नपरेका कारण यो सम्मेलनमा भारतले आमन्त्रण नगरेको सिंखडा बताउँछन् । नेपालको र भारतको सम्बन्ध आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक हिसाबले अत्यन्त महत्त्वपूर्ण किसिमको भएपनि भारतको नजरमा नेपाल पर्न नसकेको उनले बताए ।  

परराष्ट्रविद् अर्जुनकान्त मैनाली भने भारतले जी–२० मा नबोलाउँदैमा नेपालको परराष्ट्रनीति कमजोर भएको मान्न नसकिने बताउँछन् । 

रातोपाटीसँगको कुराकानीमा उनले भने–‘नेपालको कूटनीतिक कमजोरीका कारण भारतले जी–२० मा नबोलाएको भन्ने जस्तो मलाई लाग्दैन । नेपाल बराबरका अरु १९० देशहरु छन्, त्यसो हो भने त अरुलाई पनि बोलाउनुपर्ने हो । यसलाई नेपालको कूटनीतिक क्षमताका कारण नबोलाएको भन्न मिलिहाल्ला र ? यो नेपालको कमजोरी हैन ।’

उनले भारतमा हुने प्रत्येक अन्तर्राष्ट्रियकरण सम्मेलनमा हामीलाई बोलाइदिए हुन्थ्यो भन्ने लागेपनि त्यसका लागि नेपालको क्षमता, पहुँच हुनुपर्ने बताए । 

उनले भने,‘त्यहाँ सहभागी हुनका लागि एउटा हैसियत चाहियो । कुनै सम्मेलनमा सहभागी हुनका लागि केही न केही आधार वा हैसियत त चाहियो । त्यसकारण यो कोणबाट पनि सोच्नुपर्छ जस्तो लाग्छ ।’

जी–२० मा यूरोपियन संघका साथै विभिन्न १९ देशहरु अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत, अमेरिका आबद्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप