सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
बीपी साहित्य महोत्सव

‘विश्वजी ! तपाईंले बहुत कठिन प्रश्न सोध्नुभयो, नेपाली कांग्रेसको भवनको प्राङ्गणमा हामी उभिइरहेका छौँ’

सोमबार, २५ भदौ २०८०, १० : ३८
सोमबार, २५ भदौ २०८०

‘बीपीले जटिल पात्रहरूको सिर्जना गरेका छन् आफ्ना लेखनमा । ती सबै पात्रभन्दा जटिल पात्र बीपी स्वयंं हुन् । आत्मकथाको अन्तिम पंक्तिमा उनी के भन्छन् भने अध्यात्ममा म रहस्यवादी हुँ । साहित्यमा म छायावादी रोमान्टिक हुँ तर राजनीतिमा के शब्द प्रयोग ग-या छन् अँ...,’ राजनीति विश्लेषक सीके लालले आफूले टिपेर ल्याएको नोट हेर्दै भने, ‘ए, राजनीतिमा म गान्धीको आदर्शवादी हुँ । रहस्यवाद, रोमाञ्चवाद र आदर्शवाद तीनवटैले जीवनलाई तीन किसिमले जिउनलाई सिकाउँछ ।’

सहजकर्ता विश्वप्रकाश शर्माले सीके लाललाई सोधेका थिए — हामी भन्छौँ, कर्म गर फलको आशा नगर । बीपीले २०१७–१८ सालतिर यसमा केही विमति राख्नुभएको छ । बीपी भन्नुहुन्छ — कर्म गर्ने मानिसले फलको आशा गर्छ । फेरि २०२३ सालतिर आइपुग्दा बीपी भन्नुहुन्छ — फल हाम्रो दाबी अनुसारको नहुन पनि सक्छ, तर कर्म गर्ने सन्दर्भमा कृष्णले जे कुरा भनेका छन्, त्यसलाई पछ्याउनुचाहिँ पर्छ । यो अलिकति विरोधाभास पनि देखिन्छ । यहाँनेर बीपीको विश्लेषण गर्दा हामी बीपीको अघिल्लो भनाइ वा पछिल्लो भनाइ केमा उभिने ? 

सीके लालका लागि पहिलो प्रश्न, जो गीतासारसँग जोडिएको थियो, जसमा उनको जवाफ गहन थियो । यस्तो लागेको थियो — बीपीको विचारधारा र व्यवहारलाई वक्ताहरूले राम्रैसँग केलाउनेछन् । 

बीपी साहित्य महोत्सव, २०८० को पहिलो दिन ‘बीपीको दृष्टिमा बीपी’ शीर्षकको छलफलको प्रसंग हो यो । साहित्यकार भुवन ढुंगाना, प्राध्यापक कृष्ण खनाल र राजनीति विश्लेषक सीके लाल वक्ता रहेको यस छलफलको शीर्षकको सोझो अर्थ यही लगाउन सकिन्छ — बीपी कोइरालाले आफूलाई कसरी लिन्थे वा हेर्थे ? यसको जवाफ पाउन उनका कृति र कर्महरू नै नियाल्ने हो । त्यसो त यो शीर्षक अभिधा अर्थमा होइन, यसलाई व्यञ्जना र लक्षणामै बुझ्नुपर्ला ।

हाम्रा प्रस्तुति अहिले पनि मध्ययुगकै जस्तो लाग्छ । बीपी आफूलाई भौतिकवादी भन्थे । अध्यात्मवादसँग उनको केही द्वन्द्व छ, तर बीपी निसन्देह भौतिकवादी हो,’ उनले भने, ‘बीपीले खोजेको समाज रूपान्तरणलाई हामीले मध्ययुगीन आस्थाका आधारमा परिवर्तन गर्दैछौँ ?

कुनै पनि व्यक्तिलाई बुझ्न उसको विचार र व्यवहारलाई नियाल्नुपर्छ । कुनै व्यक्तिको विचारको आधार भनेकै उसको आस्था हो, अर्थात् कुनै पनि व्यक्तिले कसरी सोच्छ वा विचार गर्छ भन्ने उसको आस्थामा निर्भर रहन्छ । करिब–करिब मानिसले आफ्नो आस्था अनुसारकै व्यवहार गरेको हुन्छ, तर जस्तो विचार लिएको छ, सोही अनुसारको व्यवहार गर्न सजिलो छैन, यसमा धेरै कारण हुन्छन् । अर्को कुरा, कुनै विचार घोटिएर वा खारिएर सिद्धान्त बन्न पनि सक्छ । बीपीको विचारले कुनै सिद्धान्तको रूप धारण ग¥यो वा पहिले नै निर्मित कसैको सिद्धान्तमा उनको विचार मेल खान पुग्यो ? यो गम्भीर प्रश्नकै कठघरामा बीपीका कृति र कर्मको विश्लेषण गर्नुपर्ने हुन्छ । यद्यपि आइतबारको छलफल यो गहिराइमा भएन । यतिसम्म कि ‘बीपीको समाजवाद’को नामै लिइएन । समाजवाद भन्ने शब्दबाट टाढै बसेर ‘बीपीको दृष्टिमा बीपी’ भन्ने बहस हुन सक्छ ? कांग्रेसी विद्वान्हरू नै जानून् । 

हुन त यस तीनदिने महोत्सवमा समाजवादको बहसका लागि अन्य सेसन राखिएका रहेछन् । अर्कोतिर बीपी अर्थात् विश्वेश्वर नाम पनि फरक–फरक कर्म र विधाका लागि भनिएको छ — राजनीतिमा बीपी, साहित्यमा विश्वेश्वर । यहाँ साहित्यकार विश्वेश्वरको नभई राजनीतिज्ञ बीपीको चर्चा भएको हो भने बीपीको समाजवादी चिन्तनमाथि झनै बहस हुनुपर्ने हो ।   

खैर, छलफलको अन्त्यतिर अर्का वक्ता प्राध्यापक खनालले बीपीको चिन्तन आधुनिकताबाट पनि उत्तरआधुनिकता पुगिसकेको बताए । ‘हाम्रा प्रस्तुति अहिले पनि मध्ययुगकै जस्तो लाग्छ । बीपी आफूलाई भौतिकवादी भन्थे । अध्यात्मवादसँग उनको केही द्वन्द्व छ, तर बीपी निसन्देह भौतिकवादी हो,’ उनले भने, ‘बीपीले खोजेको समाज रूपान्तरणलाई हामीले मध्ययुगीन आस्थाका आधारमा परिवर्तन गर्दैछौँ ? जाजरकोट घटना (नवराज विक काण्ड)मा व्यक्ति वा परिवार होइन, समाज संगठित भएर आक्रमण गर्न उठ्यो, यही नै सबैभन्दा डरलाग्दो कुरा भएको छ । आस्था मध्ययुगीन बोक्ने परिवर्तनचाहिँ आधुनिक खोज्ने ! यो मेल खाँदैन ।’ 

यहाँनेर खनालले बीपीलाई ‘भौतिकवादी’ भने । अन्त्यमा, मौका लिएर बोल्दा (पालो सकिए पनि) सीके लालको भनाइ रह्यो, ‘नेपाली कांग्रेसले तीनवटा कुरा त राम्रोसँग लिएको छ — राष्ट्रियता, प्रजातन्त्र र समाजवाद । यी तीनवटैको मूल जरो छुटेको छ, त्यो हो, व्यक्तिको स्वायक्तता (लिबर्टी) । त्यो स्वायक्तताले कर्तव्य र चाहनाको बीचमा के कुरालाई प्राथमिकता दिने ? आस्था, धर्म, कर्मकाण्ड के हो भन्ने बीपीको साहित्यमा पाइन्छ ।’

बीपीको आस्थाका बारेमा भोला चटर्जीले सोधेका छन्, ‘तपाईंलाई के भनौँ त नास्तिक या तर्कवादी ?’ 

बीपीको जवाफ छ, ‘तपाईंले मलाई एकखाले अध्यात्मवादी भन्न सक्नुहुन्छ । मलाई विश्वास छ, प्रकृतिमा केही तत्त्व छन्, जुन वैज्ञानिक व्याख्या र विश्लेषणका लागि उपयुक्त छैनन् । तपाईं यसलाई सम्पूर्णतामा अध्ययन गर्न सक्नुहुन्छ तर यसलाई टुक्र्याएर बुझ्न सकिन्न । दिमागी समस्या के हुन्छ भने विचारको बनोटसँग बुझाइ चल्नुपर्छ । विचारको साँचोमा ढालेर हेर्दा पनि सत्यको बोध हुन सक्दैन । मानिस तार्किक धरातलमा मात्र भर पर्छ भने उसका ज्ञान अपर्याप्त हुन्छन् ।’

टेक बी कार्कीको संकलन र अनुवाद रहेको पुस्तक ‘केही विदेशी पुस्तकमा नेपाल र नेपाली’बाट बीपीका यी विचार लिइएको हो । अन्तिम भनिएको बीपीको यस अन्तर्वार्तामा चटर्जीको पहिलो प्रश्न छ, ‘सन्  १९३० भन्दा अघिल्ला वर्षहरुदेखि तपाईं समाजवादी हुनुहुन्थ्यो, प्रजातान्त्रिक समाजवादबारे तपाईंंको खास धारणा के छ ? 

यसमा बीपीको जवाफ लामो छ, त्यसको सानो अंश भन्छ, ‘समाजवादको गुरुत्वाकर्षण केन्द्र युरोपबाट तेस्रो विश्वमा सरेको छ जहाँ समाजवाद उत्साहबर्द्धक जीवनको आदर्श र विकासका लागि नमुना र रुपरेखा दुवै हुन जाने सान्दर्भिक कुरा भएको छ ।’ 

नेपाली कांग्रेसले तीनवटा कुरा त राम्रोसँग लिएको छ — राष्ट्रियता, प्रजातन्त्र र समाजवाद । यी तीनवटैको मूल जरो छुटेको छ, त्यो हो, व्यक्तिको स्वायक्तता (लिबर्टी) । त्यो स्वायक्तताले कर्तव्य र चाहनाको बीचमा के कुरालाई प्राथमिकता दिने ? आस्था, धर्म, कर्मकाण्ड के हो भन्ने बीपीको साहित्यमा पाइन्छ ।

यस्तै, २०१७ कात्तिक ७ गते सिंहदरबार नाचघरमा आयोजित एक छात्र गोष्ठीमा बीपीले भनेका थिए, ‘समाजवादका सम्बन्धमा मार्क्सको दर्शनमा विश्वास राख्ने व्यक्तिको हैसियतले म यो विश्वास गर्छु कि समस्त परिवर्तनको आधार आर्थिक व्यवस्थाको परिवर्तन हो, (ग्रीस्मबहादुर देवकोटाको पुस्तक ‘नेपालको राजनीतिक दर्पण– भाग २’) ।’

यो पंक्तिकारको बुझाइ हो, बीपी अध्यात्म र भौतिकवादमा पनि करिब–करिब मध्यमार्गी थिए अर्थात् दुवैलाई अलिअलि लिने । उनको मेलमिलापको नीति पनि मध्यमार्गी देखिन्छ ।   

छलफलको सुरुवात ‘भोटो’ र ‘कात्रो’लाई विम्ब बनाएर सुरु भएको थियो । बीपीको ‘आत्मवृत्तान्त’ पुस्तकमा एउटा प्रसंग छ । एकपटक हिउँदमा फाटेका लुगा लगाएका ढाक्रेहरुलाई देखेर बीपीका पितालाई बडो ग्लानि भएछ । उनीहरुलाई नयाँ लुगा दिलाएर एउटा ढाक्रेको लुगा उनले लिएर छन् र चन्द्रशमशेरलाई पठाएछन् । उनले चन्द्रशमशेरलाई लेखेको चिठीमा भनिएको थियो, ‘सरकारले आफूले लगाएको पोसाक र आफ्ना प्रजाको पोसाकको फरक हेर्नका लागि यो पार्सल पठाउँदै छु, यो खोल्दा गन्हाउला, सरकारले टाढै बसेर खोल्न लगाई हेरिबक्सेला ।’ 

मोजमस्तीमा रमाएका निरंकुश राणाशासकलाई बुझाउन बीपीका पिताको त्यस कार्यको विशेष महत्त्व थियो, तर आज जनताको अवस्था बुझ्न कांग्रेस बीपीका पिताको यस भनाइको पछि लाग्नैपर्दैन । कांग्रेस कार्यालयमा अहिले पनि हजारौँ यस्ता कपडा वा कपडा लगाएका व्यक्ति आउन सक्छन् । बीपीका विचार र इतिहासलाई मन्त्र बनाएर केन्द्रमा बसेर कांग्रेस धामी–झाँक्री शैलीमा काम्छ र दूरदराजका जनताको रोग–भोक–शोक दूर हुन्छ भन्ने होइन । जनताको अवस्था बदल्न, कांग्रेस जनतासम्म पुग्न सक्नुपर्छ ।  

कात्रोका सम्बन्धमा भुवनले भनिन्, ‘बीपीकी आमा दिव्या कोइराला एकदमै साहसी हुनुहुन्थ्यो । बीपीको पथप्र्रदर्शकका रूपमा आमाले ठूलो भूमिका खेल्नुभएको छ । मोहन शमशेरको चाहना थियो कि बीपीले माफी मागून् । त्यो चाहनाको विपरीत, त्यसलाई चुनौती दिँदै आमाले भन्नुभयो — माफी माग्न त म भन्दिनँ । ऊ मर्यो भने पनि म उसलाई कात्रो पठाउन तयार छु ।’

बीपीकी आमाको साहस र बीपीको योगदानको गरिमा ठूलो छ, तर आज परदेशबाट बाकसमा फर्कने लास देखेर हुने आमाहरुका चित्कारलाई के भन्ने ? के सबै छोराहरुले फेरि बीपीले जस्तै विद्रोह गर्ने ? यस प्रश्नमा प्रतिप्रश्न उठ्छ, ‘कुन निरंकुश शासकविरुद्ध र कुन व्यवस्था ल्याउन विद्रोह गर्ने ?’

‘ठूलो होइन असल मानिस बन’ भन्ने बीपीको भनाइमाथि पनि बहस भयो । प्राध्यापक खनालको भनाइ रह्यो, ‘बीपीले असल बन्नुपर्छ भन्ने कुरा केटाकेटीमै अनुभूत गर्नुभएको थियो । खासगरी भिक्टर ह्युगोको उपन्यास ‘ले मेसरेबल्स’ पढेपछि बीपीलाई बोध भयो, असल मान्छे बन्ने रहेछ, ठूलो बन्ने होइन रहेछ ।’ 

विश्वप्रकाशको अर्को प्रश्न थियो — २०१७ सालमा राजा महेन्द्रले एक राजनीतिज्ञलाई थुने, तर जेलभित्र पुगेपछि तीन घुम्ती, नरेन्द्रदाइ, श्वैतभैरवी, बाबुआमा र छोरा, सुम्निमा यस्ता कृतिहरू जन्मे । २०३३ मा मेलमिलापको नीति लिएर फर्केपछि छोटो अवधि जेल पर्दा बीपीले ‘दलीय शासनको आवश्यकता’ शीर्षकको सानो आलेख लेखे । यसबाहेक जेलबाट उनका सबै साहित्यिक कृति आए । थुन्दा राजनीतिज्ञलाई थुन्ने, भित्र साहित्यिक कृति जन्मने — एउटा बीपी, दुइटा व्यक्तित्व । यहाँनेर हामीले बीपीलाई कुन रूपमा बुझ्नुपर्छ ?

यस प्रश्नमा भुवनको संक्षिप्त जवाफ रह्यो, ‘हामी साहित्यकारहरूका लागि बीपी साहित्यकार नै बढीजस्तो लाग्छ, किनभने उहाँका किताब पढेर हामीलाई धेरै कुरा प्राप्त हुन्छ, तर तपाईंहरूजस्तो राजनीति गर्नेहरूलाई त राजनीतिज्ञ नै बढी लाग्दो हो । यसलाई चाहिँ तराजुमा राखेर जोख्न सकिँदैन । मलाई लाग्छ, दुवै पक्ष उहाँका उत्तिकै प्रबल छन् ।’ 

नेता र सरकारलाई प्रश्न गर्नुपर्ने सन्दर्भमा बीपीले समीक्षा साप्ताहिकका सम्पादक मदनमणि दीक्षितलाई बोलाएर भनेको कुरा विश्वप्रकाशले उठाएका थिए । त्यतिबेला बीपीले भनेका थिए — मसँग त्यसै दुईतिहाइ छ । प्रतिपक्ष सानो र कमजोर छ, यदि कसैले मेरो कमजोरी केलाइदिएन भने, मेरो सरकारउपर गम्भीर प्रश्न गरिदिएन भने, मैले सही कुरा कसरी थाहा पाउने ? 

मलाई प्रश्न गर भनेर मिडियालाई लेख्न लगाउने बीपी, अहिले चाहिँ मलाई प्रश्न नगर भन्ने खालको मिडिया होस्, सामाजिक सञ्जाल चलाउने कुनै युवा होस्, पुराना वा नयाँ भनिएका राजनीतिक दलका व्यक्ति होऊन्, यो प्रवृत्तिका बीच बीपीका विचारलाई कसरी लिने ? 

यस प्रश्न सुन्दासुन्दै खनाल हाँस्दै थिए । ‘विश्वजी ! तपाईंले बहुत कठिन प्रश्न सोध्नुभयो, नेपाली कांग्रेसको भवनको प्राङ्गणमा हामी उभिइरहेका छौँ । मैले कसरी भनौँ, मलाई बहुत कठिन भइरहेको छ उत्तर दिनलाई । तपाईंले भनेको बीपीको कुरा आज के नेपाली कांग्रेसमा लागू हुन्छ ?’ उनले भने, ‘नेपाली कांग्रेसका नेताहरू त्यसलाई सुन्न चाहन्छन् ? मलाई लाग्दैन । आजको समस्या कांग्रेस अपवाद होइन, कांग्रेससहित राजनीति गर्ने सबैमा एउटा अहंकार के छ भने, मैले जति कसैले जानेकै छैन । तिमीले त मेरो फलो गर्ने हो । मैले भनेको नमान्ने, मैले भनेको टेर्दैनौ भनेर हप्काउने हो यिनलाई मैले । यो संस्कार बोकेको पार्टी छ आज । अनि कसरी यो बीपीको कुरालाई हेर्ने ?’

उनले बीपीको चेतना र चिन्तनको विश्लेषण गरे । जुन चेतले बीपीलाई बीपी बनायो । त्यो चेतमा प्रवेश नगरीकन यसको उत्तर नआउने उनको भनाइ थियो । ‘आज त्यो चेतना भएको मान्छे मैले नेपालको राजनीतिमा देखेको छैन,’ उनले भने, ‘त्यसकारण अहंकार छ — म त ठूलो नेता भएँ, प्रधानमन्त्री भएँ, पार्टीको अध्यक्ष वा सभापति भएँ । यत्रा मानिस मेरो पछाडि आउँछन् ताली पिट्छन् । त्यसकारण मैले कसैको कुरा सुन्नुपर्दैन भन्ने अहंकार जाग्यो ।’

उनका अनुसार, बीपी कोइराला आफैँमा एउटा उदाहरणीय चरित्र हुन् । त्यो चरित्रबिनाको रूप मात्रै छ अहिलेको राजनीतिमा । त्यस कारण चरित्र गुमाएको पात्रसँग कुरा गर्नुको कुनै अर्थ रहँदैन, तुलना नै हुँदैन । पार्टी बाहिर समाजमा अलिकति योगदान गर्न खोज्ने युवाहरूले बीपीलाई फेरि अध्ययन गर्नुपर्ने उनको आग्रह थियो । 

आज समाजमा विवेकीभन्दा आवेगी र आशावादीभन्दा निराशावादीहरू बढेको, मानिसहरु पपुलिजम् पछाडि कुदेको सन्दर्भ विश्वप्रकाशले उठाएका थिए । यस सन्दर्भमा सीके लालले खासगरी विश्वविद्यालयप्रति प्रश्न गरे । पुस्तकहरू पढेर ज्ञान बढाउनका लागि रचना गर्भ, रचना सन्दर्भ र रचना परिदृश्य बुझ्नुपर्ने उनको भनाइ थियो । ‘यस्ता कुरा बुझाउन हाम्रा विश्वविद्यालय विश्वविद्यालय रहेनन् । वैश्विक सोच दिँदैनन् हाम्रा विश्व विद्यालयहरूले । एक पक्षीय सोच विस्तारित गरिरहेका छन्,’ उनले भने, ‘विश्वविद्यालयले राष्ट्रवाद सिकाउँछन् । नाम छ विश्वविद्यालय, सिकाउने चाहिँ राष्ट्रवाद ! विश्वविद्यालयले आफ्ना भूमिका गुमाएका छन् ।’

अर्को प्रश्नमा सीके लालले बीपीले आफूलाई क्रान्तिकारी नभई विद्रोही भन्ने गरेको बताए । उनको भनाइमा विद्रोही र क्रान्तिकारीको बीचमा खासै धेरै फरक छैन । विद्रोही त्यो हुन्छ, जो यथास्थितिसँग सन्तुष्ट छैन र ऊ विद्रोह गर्न चाहन्छ । क्रान्तिकारी त्यो हो, जोसँग विद्रोह मात्रै होइन, विद्रोहपछिको अवस्थाका लागि विकल्प पनि हुन्छ । विद्रोहीसँग प्रतिरोध हुन्छ भने क्रान्तिकारीसँग स्पष्ट नीति हुन्छ । 

‘यी दुइटाको बीचमा पनि अरु दुइटा प्रवर्ग छन् — व्यावहारिक राजनीतिकर्मी र राजनीतिक अभियन्ता । व्यावहारिक राजनीतिकर्मीले परिस्थिति अनुसार निर्णय गर्छ, राजनीतिक अभियन्ताले परिस्थितिलाई आफ्नो आस्था अनुसार परिवर्तित गर्न खोच्छ । बीपी राजनीतिक अभियन्ता थिए, व्यावहारिक राजनीतिकर्मी थिएनन्,’ उनले भने ‘राजनीतिक अभियन्ता भएको हुनाले २०१६ सालमा उनी प्रधानमन्त्री हुन तयार भए । किनभने उनीसँग एउटा वैकल्पिक कार्यक्रम लागू गर्न सक्ने महत्त्वाकांक्षा थियो । २०३६ सालमा आफ्नो साटो अरुको नाउँ दिएर उनी व्यावहारिक राजनीतिकर्मी बन्ने प्रयत्न गरे । प्रधानमन्त्री हुनु उनका लागि त्यतिबेला व्यावहारिक कर्म थिएन, प्रधानमन्त्रीभन्दा धेरै माथि पुगिसकेका व्यक्तित्व भइसकेका थिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप