सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जापानका नेपालीको समस्या सम्बोधन गर्न साझा फोरमको निर्माण गरिने

सोमबार, २५ भदौ २०८०, १५ : ०९
सोमबार, २५ भदौ २०८०

जापानवासी नेपालीहरुबीच विद्यमान साझा समस्याहरुको संयुक्त रुपमा सम्बोधन गर्न एक साझा फोरमको निर्माण गरिने भएको छ । 

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानद्वारा आइतबार जापानको टोकियोमा सम्पन्न ‘जापानमा रहेका संघ संस्थासँग समन्वयात्मक सहकार्यका लागि अन्तरक्रिया’ कार्यक्रमबाट उक्त फोरम निर्माण गरेर नेपालीको बृहत्तर हितको लागि समन्वयकारी भूमिका गर्दै मानवीय समस्या समाधानमा केन्द्रित रहने निचोड निकालिएको हो ।

साझा फोरमको निर्माणका लागि भुषण घिमिरे, तिलक मल्ल, डा. बलराम श्रेष्ठ, जिज्ञानकुमार थापा र सालिकराम भण्डारी रहेको एक कार्यदल गरी उक्त कार्यदलको समयाबधि एक हप्ता सिमामा संयन्त्र गठनको खाका र कार्यविधि तय गर्ने साथै संयन्त्रका लागि नामावली सिफारिश गर्ने सम्मको जिम्मेवारी प्रदान गर्ने गरिएको छ । 

जापानस्थित नेपाली समुदायको हितका लागि स्थापित भई क्रियाशील रहेका सामाजिक संघ संस्था र नेपाली दूतावाससँग नेपालीहरूलाई केन्द्रित गरी सहयोग र सेवा प्रदान गर्दा एकरूपता ल्याउदै समन्वयात्मक र सहकार्यमा कार्य गर्दा सेवा प्रवाहमा सरलता प्रभावकारी र दोहोरोपनामा कमी ल्याउनलाई सहज हुनेमा अन्तरक्रिया फलदायी रहेको एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले बताए ।

‘सहकार्यको आवश्यकता, औचित्य र त्यसपछि गरिनुपर्ने भूमिकासहितको जिम्मेवारीका बारेमा साझा बुझाई कायम भएको छ,’ अध्यक्ष निउरेले भने, 'साझा फोरमको रूपमा गठन गर्न लागिएको संयन्त्रलाई कामकाजी बनाउन र समस्याको (इण्ट्री) प्रस्थान विन्दु बनाइनका लागि उक्त फोरम उपयुक्त हुने छ ।'

जापानका लागि नेपाली राजदूतावासका कार्यबाहक राजदूत अम्बिकाप्रसाद जोशीले राजदूतावासले समन्वयकारी भूमिका निर्वाह गर्न तयार रहेको बताउँदै व्यवस्थित ढंगले सहयोग आदानप्रदान गरिनुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा जापानका नेपालीहरुको वर्तमान अवस्थाको बारेमा एनआरएनका पूर्व महासचिव जिज्ञानकुमार थापा, नेपाली संघसंस्थाहरुबीच सहकार्य र समन्वय कायम गर्दै समस्या समाधानका लागि साझा धारणा बनाई अगाडि बढ्नका लागि तय गरिनुपर्ने मार्गचित्र विषयक अवधारणपत्र पत्रकार तिलक मल्ल, जापानमा एनआरएन, संघसंस्था र नेपाली राजदूतावासबीचको कार्यगत एकता सम्बन्धमा एनआरएन आइसीसी उपाध्यक्ष भूषण घिमिरे र जापानमा बस्दै गर्दा अत्यन्त ध्यान दिनुपर्ने फौजदारी तथा श्रम सम्बन्धी कानूनी प्रावधानका बारेमा जापान नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. बलाराम श्रेष्ठले प्रस्तुतीकरण दिएको कार्यक्रममा उपस्थित विभिन्न व्यक्ति व्यक्तित्वले राय सल्लाह सुझाव र प्रतिक्रिया राखेका थिए । 

जापानमा क्रियाशील अधिकांश संघ संस्थाको सहभागिता रहेको उक्त अन्तरक्रियाबाट १६ बुँदे साझा निष्कर्ष निकालिएको एनआरएनए जापानका प्रवक्ताद्वारा सोमबार जारी गरिएको प्रेस नोटमा उल्लेख गरिएको छ ।

जापानवासी नेपालीको हक हित र नेपालको चिनारीलाई थप उचाइमा पुर्‍याउनका लागि एनआरएनए जापान भूमिका र गतिविधि केन्द्रित हुनुपर्ने, कार्यक्रमहरु प्रचारमुखी भएकाले परिणाममुखी गराइनु पर्ने, नेपाली संघसंस्थाहरुद्वारा आयोजना गरिने कार्यक्रमलाई अधिकतम व्यवस्थित गर्ने, नकारात्मक समाचारहरुलाई न्यूनीकरण गर्दै सकारात्मक सन्देश दिने समाचारलाई प्राथमिकता दिन अभिप्रेरित गरिनुपर्ने लगायत रहेका छन् । 

प्रेस नोटमा उल्लेख भएको अन्तरक्रिया कार्यक्रमका अन्य निष्कर्षहरूमा आर्थिक अभियान संचालनलाइ व्यवस्थित र उद्देश्यमूलक बनाउन जोड दिँदै सहयोग फण्ड संचालनको नीति अपनाउनु पर्ने, जापानी नीति नियम र कानूनको सामान्य ज्ञानको कमिले कानुनी झमेलामा परिरहेको पाइएकाले सचेतनामूलक कार्यक्रमहरु संचालन गरिनु पर्ने आवश्यकता औँल्याइएको छ । 

कार्यक्रममा नेपाली राजदूतावास, एनआरएनए आइसीसीका जिम्मेवार व्यक्तित्व, एनआरएनए जापानका पदाधिकारीसहित सदस्य,जापानमा क्रियाशील संघ संस्थाका प्रमुख वा प्रतिनिधि, क्षेत्रीय समितिका प्रतिनिधि, समाजका प्रतिष्ठित व्यक्तित्व, व्यवसायी पत्रकार लगायतको सहभागिता रहेको थियो । 

एनआरएन जापानका अध्यक्ष नवीन निउरेको अध्यक्षता र नेपाली राजदूतावासका उपनियोग प्रमुख अम्बिका जोशीको प्रमुख आतिथ्यतामा भएको सो संयुक्त अन्तरक्रिया कार्यक्रममा एनआरएन जापानका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक सिध्दार्थ श्रेष्ठको स्वागत मन्तव्य रहेको थियो । 

यसैगरी प्रवक्ता खगराज गौतमले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विषयमा प्रवेश गराएका थिए । यसैगरी कार्यक्रममा टिप्पणीकारको भूमिकामा रहेका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानका अध्यक्ष रबिन शर्माले कार्यक्रमका सम्बन्धमा आफ्नो समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप