शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’

शनिबार, ०९ साउन २०८३, १३ : ०७
शनिबार, ०९ साउन २०८३

सारांश

  • क्यानडाको ब्राम्पटन सहरमा लालीगुराँस स्पोर्ट्स एन्ड कल्चरल क्लबको आयोजनामा तेस्रो नेपाल फेस्टिभल आयोजना हुदैछ।
  • महोत्सवको मुख्य उद्देश्य नेपाली कला-संस्कृति, गीत-सङ्गीत, भेषभूषा, नेपाली खाना, हस्तकला र विभिन्न नेपाली उत्पादनको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्नु रहेको छ।
  • फेस्टिभलमा विभिन्न जातजातिका भेषभूषासहितको झाँकी, नृत्य र लाखेनाच प्रदर्शन गरिनेछ भने प्रवेश र पार्किङ निःशुल्क रहनेछ।

टोरन्टो । क्यानडाको ब्राम्पटन सहरमा आज शनिबार ‘तेस्रो नेपाल फेस्टिभल–२०२६’ हुँदै छ। लालीगुराँस स्पोर्ट्स एन्ड कल्चरल क्लबको आयोजनामा यो फेस्टिभल हुन लागेको हो।

नेपाली कला-संस्कृति, गीत-सङ्गीत, भेषभूषा, नेपाली खानाका परिकार, नेपाली हस्तकला र विभिन्न नेपाली उत्पादनको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ।

फेस्टिभलको सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिका संयोजक तथा क्लबका अध्यक्ष विश्व अधिकारीले जानकारी दिए। मञ्चको तयारीका साथै कार्यक्रम स्थल र वरपर नेपाली झन्डा र नेपाली संस्कृति झल्किने ब्यानर तथा सजावटको व्यवस्था गरिएको अध्यक्ष अधिकारीले बताए।

ब्राम्पटन सिटीको सपर वर्ल्ड कम्प्लेक्सको प्राङ्गणमा क्यानडाको समयअनुसार दिउँसो १ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न नेपाली खानाको परिकारसहित करिब ३० भन्दा बढी व्यावसायिक र सामाजिक स्टल रहनेछन्। यस विषयमा लालीगुराँस स्पोर्ट्स एन्ड कल्चरल क्लबका महासचिव एवं महोत्सवका मूल समारोह समिति सदस्य धर्म न्योपानेले जानकारी दिएका छन्।

महोत्सवमा गुरुङ, तामाङ, शेर्पा, नेवार, थारू, मधेसीलगायत विभिन्न जातजातिका भेषभूषासहितको झाँकी, नृत्य र लाखेनाच प्रदर्शन गरिनेछ।

महोत्सवमा प्रवेश र पार्किङ दुवै निःशुल्क व्यवस्था गरिएको क्लबका कोषाध्यक्ष अनिल ज्ञवालीले जानकारी दिए। कार्यक्रममा करिब १० हजारभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको आयोजक संस्थाका उपाध्यक्ष एवं मूल समारोह समिति सदस्य श्याम अर्यालले बताए।

गत वर्षहरूमा पनि लालीगुराँस स्पोर्ट्स एन्ड कल्चरल क्लबकै आयोजनामा ब्राम्पटन सिटीमा पहिलो र दोस्रो नेपाल फेस्टिभल भव्य रूपमा सम्पन्न भएको थियो। आज हुने फेस्टिभलको उद्घाटन क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलले गर्नेछन्। कार्यक्रममा क्यानडाका सिटिजन्स तथा मल्टिकल्चरल मन्त्री ग्राहम म्याकग्रेगोर, सङ्घीय सांसद सोनिया सिधु, अमन दीप, एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटालगायत विशिष्ट व्यक्तिको उपस्थिति रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप