शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
स्वास्थ्य

स्तनपान गराउने आमाको सङ्ख्या घट्दै

पूर्ण स्तनपान गराउने दर ५६ प्रतिशतमा झर्‍यो
शनिबार, ०९ साउन २०८३, १३ : ००
शनिबार, ०९ साउन २०८३

सारांश

  • नेपाल जनसाङ्ख्यिकी स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ६ महिनासम्म पूर्ण स्तनपान गराउने दर ५६ प्रतिशतमा सीमित भएको छ ।
  • निजी अस्पतालमा सिजरियन बढ्नु, शल्यक्रियापछिको दुखाइ कम गर्ने बहानामा आमा र शिशुलाई छुट्टाछुट्टै राख्ने गलत अभ्यास, सामाजिक सञ्जालमा स्तनपानले फिगर बिग्रिन्छ भन्ने भ्रमजस्ता कारणले स्तनपानको अवस्था खस्कँदै गएको छ ।
  • यस समस्यालाई सम्बोधन गर्न सरकारले ह्युमन मिल्क बैंक स्थापना, दक्ष स्वास्थ्यकर्मी परिचालन र बीएमएस ऐन कडाइका साथ लागू गर्ने जस्ता कार्यक्रम अघि बढाएको छ ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । पछिल्लो तथ्याङ्क अनुसार स्तनपान गराउने आमाको सङ्ख्या घट्दै गएको छ । नेपाल जनसाङ्ख्यिकी स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ६ महिनासम्म पूर्ण स्तनपान गराउने दर ५६ प्रतिशतमा सीमित भएको हो ।

शिशु जन्मिएलगत्तै पहिलो घन्टाभित्र आमाको दुध खुवाउने दर पनि घटेर ५६ प्रतिशतमा झरेको छ । खासगरी निजी अस्पतालहरूमा शल्यक्रिया (सिजरियन) मार्फत बच्चा जन्माउने क्रम बढ्नु र शल्यक्रियापछिको दुखाइ कम गर्ने बहानामा आमा र नवजात शिशुलाई छुट्टाछुट्टै राखेर उपचार गर्ने गलत अभ्यास लगायतका कारणले सन् २०१६ को तुलनामा स्तनपानको अवस्था खस्कँदै गएको पोषणविद्हरू बताउँछन् । शिशुको लागि आमाको दुध अमृत समान मानिन्छ ।

तथ्याङ्क अनुसार सन् १९९६ मा पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या ७५ प्रतिशत थियो । सन् २००१ मा यो ६८ प्रतिशतमा झरेको थियो । यो सङ्ख्या सन् २००६ मा ५३ प्रतिशत हुँदै सन् २०११ मा ७० प्रतिशत पुगेको थियो । सर्वेक्षण अनुसार स्तनपान गराउनेको सङ्ख्या सन् २०१६ मा ६६ प्रतिशत पुगेको थियो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लिलाविक्रम थापाले शिशुको वृद्धि विकासका लागि आमाको दुध अति आवश्यक भए पनि स्तनपान गराउने आमाको सङ्ख्या भने घट्दो क्रममा रहेको बताए । उनले भने, ‘स्तनपान गराउने आमाको सङ्ख्या घटिरहेको छ । घट्नुको पछाडि धेरै कारण छन् ।’

थापाका अनुसार सहरतिर शल्यक्रियामार्फत बच्चा जन्माउने प्रवृत्ति बढेको र आमालाई दुख्छ भनेर बच्चालाई छुट्टै राखेर उपचार गर्ने चलनले गर्दा जन्मने बित्तिकै बच्चाले स्तनपान गर्न नपाउने प्रस्ट पारे । अर्कोतिर स्तनपान गराउन आत्मबल दिने काम परिवारका सदस्यबाट नहुनु, फिगर बिग्रिन्छ भन्ने भ्रम जस्ता कारणले पनि स्तनपान गराउने आमाको सङ्ख्या घटेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा देखिने भ्रामक प्रचारका कारण किशोर–किशोरी तथा युवा आमाहरूमा ‘स्तनपानले शारीरिक बनावट (फिगर) बिग्रिन्छ’ भन्ने गलत छाप पर्न जाँदा उनीहरूमा स्तनपान गराउने आत्मबल खस्कँदै गएको छ । यसका साथै परिवार र समुदायबाट पाउनुपर्ने आवश्यक प्रोत्साहन तथा सहयोगको अभावले गर्दा पनि नवजात शिशुलाई दुध खुवाउने दर निरन्तर घट्दै गएको विज्ञ बताउँछन् ।

स्वास्थ्य सेवा विभागले शिशुलाई बोतलको दुध विस्थापन गरी पूर्ण स्तनपानलाई प्रोत्साहन गर्न नेपाल सरकारले ‘ह्युमन मिल्क बैंक’ (अमृत कोष) र दक्ष स्वास्थ्यकर्मीको परिचालन जस्ता प्रभावकारी कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।

नेपाल जनसाङ्ख्यिकी स्वास्थ्य सर्वेक्षण अनुसार स्तनपान गराउने दर घट्दै गएपछि स्वास्थ्य मन्त्रालयले बहुआयामिक रणनीति अख्तियार गरेको जनाएको छ । यसै क्रममा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘ह्युमन मिल्क बैंक’ सञ्चालन भइसकेको छ ।

यो वर्ष युनिसेफ र अमेरिकी सरकारको सहयोगमा भरतपुर, चितवनमा पनि ‘ह्युमन मिल्क बैंक’ बैंक स्थापना गर्न लागिएको विभागले जनाएको छ । यस प्रविधिमार्फत आमाको दुध नआउने वा समस्यामा परेका शिशुहरूलाई अन्य आमाहरूले स्वेच्छाले दान गरेको दुध प्रशोधन गरी खुवाउने व्यवस्था मिलाइनेछ ।

साथै, आमाहरूमा अनुभवको कमी वा ज्ञानको अभावले स्तनपान गराउन हुने कठिनाइ हटाउन सरकारले देशका २४ वटा ठुला अस्पतालहरूमा आमालाई सहजीकरण गर्ने, शिशुलाई दुध चुसाउने तरिका (पोजिसनिङ) सिकाउने र आत्मबल बढाउने उद्देश्यले दुई–दुई जना तालिमप्राप्त स्टाफ नर्स परिचालन गरेको छ ।

आमाको दुधलाई विस्थापित गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन २०४९ लाई कडाइका साथ लागु गर्न ७५३ वटै स्थानीय तहका स्वास्थ्य संयोजक, अस्पतालका प्रतिनिधि तथा जिल्ला र प्रदेशका अधिकारीहरूलाई ‘बीएमएस एक्ट इन्स्पेक्टर’ (निरीक्षक) का रूपमा खटाइएको छ ।

उनीहरूले आफ्ना क्षेत्रका औषधि पसल तथा क्लिनिकहरूमा बोतल फिडिङ वा आमाको दुधलाई प्रतिस्थापन गर्ने उत्पादनको गैरकानुनी प्रवर्द्धन भए/नभएको प्रत्यक्ष अनुगमन गर्नेछन् ।

स्तनपान केवल शिशुको स्वास्थ्यका लागिमात्र नभई आमा स्वयंको आरोग्यताका लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेकोबारे जनचेतना फैलाउन तयारी गरिरहेको विभागले जनाएको छ ।

पोषणविद्हरूका अनुसार आमाको दुध शिशुका लागि पहिलो प्राकृतिक खोप हो, जसले उनीहरूको मानसिक तथा शारीरिक वृद्धि विकास गर्नुका साथै विभिन्न रोगहरूबाट जोगाउँछ ।

स्तनपान नगराउँदा आमाहरूमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर जस्ता गम्भीर स्वास्थ्य समस्याको जोखिम उच्च रहने वैज्ञानिक अध्ययनहरूले देखाएका छन् । स्वास्थ्यकर्मी, जनप्रतिनिधि र समुदाय स्तरसम्म व्यापक सचेतना अभिवृद्धि कार्यक्रमहरू सञ्चालन भइरहेको विभागले जनाएको छ ।

शिशु जन्मेपछिका सुरुवाती केही दिन आउने बाक्लो र पहेंलो दुध (बिगौते दुध) शिशुको स्वास्थ्यका लागि अत्यन्तै लाभदायी हुने चिकित्सकहरूले बताएका छन् । यस दुधमा प्रशस्त मात्रामा पोषक तत्वका साथै रोगसँग लड्ने शक्तिशाली प्रतिरोधात्मक क्षमता हुने भएकाले यसलाई शिशुको ‘पहिलो खोप’ पनि भनिन्छ ।

विज्ञहरूका अनुसार बिगौते दुधमा प्राकृतिक रूपमै प्रतिरोधात्मक तत्व (इम्युनिटी बुस्टर) पाइन्छ । यसले भर्खरै जन्मिएका नवजात शिशुलाई विभिन्न प्रकारका सङ्क्रामक रोगहरूबाट जोगाउन सुरक्षा कवचको रूपमा काम गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप