शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पेसागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो : प्रहरी महानिरीक्षक कार्की

शनिबार, ०९ साउन २०८३, १२ : ५७
शनिबार, ०९ साउन २०८३

सारांश

  • प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हरेक नागरिकले आफ्नो पेसा र व्यवसायमा गर्व गर्नसक्ने वातावरण निर्माण हुनु नै वास्तविक लोकतन्त्र भएको बताएका छन् ।
  • उनले लोकतन्त्र केवल शब्दको उच्चारणमा मात्र सीमित नभई व्यवहारमा चरितार्थ हुनुपर्ने र नागरिकहरूले आफ्ना कर्म र पेसामा गौरव महसुस गर्न पाउनुपर्नेमा जोड दिए ।
  • पेसा वा व्यवसायको आधारमा कोही सानो वा ठुलो नहुने उल्लेख गर्दै उनले लोकतन्त्रमा सबै प्रकारका कर्मलाई धर्म ठानेर सम्मान गरिनुपर्ने र समाजमा व्याप्त विभेदकारी प्रवृत्तिको आलोचना गरे ।

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हरेक नागरिकले आफ्नो पेसा र व्यवसायमा गर्व गर्नसक्ने वातावरण निर्माण हुनु नै वास्तविक लोकतन्त्र भएको बताएका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

महानिरीक्षक कार्कीले लोकतन्त्र केवल शब्दको उच्चारणमा मात्र सीमित नभई व्यवहारमा चरितार्थ हुनुपर्नेमा जोड दिए । लोकतन्त्र भनेको पटक–पटक सोही शब्द दोहोराउनु मात्र नभएको बरु नागरिकहरूले आफ्ना कर्म र पेसामा गौरव महसुस गर्न पाउनु भएको उनको भनाइ छ ।

पसले, इलेक्ट्रिसियन, भान्से, लुगा सिलाउने व्यक्ति, प्रहरी वा मजदुर–सबैले आ–आफ्नो काममा आत्मसम्मान पाउनुपर्ने र समाजले उनीहरूको योगदानको कदर गर्नुपर्ने बताए । पेसा वा व्यवसायको आधारमा कोही सानो वा ठुलो नहुने उल्लेख गर्दै उनले लोकतन्त्रमा सबै प्रकारका कर्मलाई धर्म ठानेर सम्मान गरिनुपर्ने बताए। समाजमा व्याप्त विभेदकारी प्रवृत्तिको उनले आलोचना गरे । मानिसको ओहदा हेरेर फरक–फरक व्यवहार गर्ने, कसैलाई सम्मान दिने र कसैलाई तिरस्कार गर्ने प्रवृत्ति कतै पनि स्वीकार्य हुन नसक्ने जिकिर गरे । 

महानिरीक्षक कार्कीले प्रहरी कार्यालयहरूमा सेवा लिन आउने नागरिकलाई समान व्यवहार गरिनुपर्ने र कुनैपनि आधारमा विभेद हुन नहुने कुरामा जोड दिए । उनले नवनिर्मित भवनहरूले सेवाग्राहीको सहजता र प्रहरी कर्मचारीहरूको कार्यसम्पादनमा थप ऊर्जा प्रदान गर्ने विश्वास समेत व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप