बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भारोत्तोलनमा विकासको तीन राष्ट्रिय कीर्तिमान

सोमबार, २५ भदौ २०८०, १६ : ३९
सोमबार, २५ भदौ २०८०

काठमाडौँ । नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले तीनवटा राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले रियादमा जारी आईडब्लूएफ विश्व च्याम्पियनसिपमा तीनवटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । 

विकासले पुरुष ८१ केजी तौलसमूहमा स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीनवटा राष्ट्रिय कीर्तिमान बनाएको जानकारी नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले दिए । यसअघि उक्त स्पर्धाको कीर्तिमान विकासकै नाममा थियो । 

विकासले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । विकासले स्न्याचमा एक सय २४ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरे । यसअघि उक्त स्पर्धामा एक सय २३ केजीको कीर्तिमान विकासको नाममा थियो । उनले सो कीर्तिमान १९औं एसियाली खेलकुदको अन्तिम छनोट प्रतियोगितामा बनाएका थिए ।

यसैगरी विकासले क्लिन एन्ड जर्कमा एक सय ४८ केजी वजन उठाउँदै अर्को कीर्तिमान बनाए । यसअघि उनले १९औं एसियाली खेलकुदकै पहिलो चरणको छनोटमा एक सय ४७ केजीको कीर्तिमान रचेका थिए । कुलमा उनले उठाएको दुई सय ७२ केजी पनि राष्ट्रिय कीर्तिमान हो । उनकै नाममा यसअघि दुई सय ७० केजीको कीर्तिमान थियो । विकास १९औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।

यसैबीच, अध्यक्ष श्रेष्ठ प्रतियोगिताका क्रममा हुने विश्व भारोत्तोलन महासंघको कोंग्रेसमा सहभागी हुन सोमबार नै रियाद प्रस्थान गरेका छन् । श्रेष्ठसंगै खेलाडी सागर भण्डारी पनि सोमबार रियाद प्रस्थान गरे । सागरले पुरुष एक सय नौ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप