बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

११ वर्षदेखि ननिदाएको दाबी गर्ने महिला

बिहीबार, २८ भदौ २०८०, १६ : ४८
बिहीबार, २८ भदौ २०८०

३६ वर्षकी एक महिलाले आफू विगत ११ वर्षदेखि ननिदाएको दाबी गरेकी छिन् । ती महिलाको यस्तो दाबीमा उनकै देशका भियतनामीले प्रश्न उठाएका छन् । तर उनले आफूले झुटो नबोलेको दाबी गर्ने गर्छिन् । 

भियतनामको क्वाङ गाइकी बासिन्दा त्रान थी लु एक प्रि–स्कुलमा काम गर्छिन् । भियतनामको सोसल मिडियामा उनी विगत ११ वर्षदेखि निदाउन नसकेको जानकारी आएपछि यतिबेला चर्चाको केन्द्रमा छिन् । हालै सार्वजनिक भएको एक अन्तर्वार्ता अनुसार ती महिलालाई सुरुमा बिना कारण रुन मन लाग्ने समस्या थियो, त्यो समस्या त निको भयो तर त्योभन्दा पनि ठुलो समस्या आइलाग्यो जसले उनलाई पछिल्लो ११ वर्षदेखि पछ्याइरहेको छ ।  

उनका अनुसार उनलाई रुनका लागि खासै केही कारण चाहिँदैनथ्यो । आँसु आउन थालेपछि उनी आँखा चिम्लेर निदाउन खोज्थिन् तर आँसु रोकिँदैनथ्यो । यो अचम्मको समस्या निको त भयो तर त्यसपछि उनको निदाउने क्षमता भने पूर्ण रूपमा गायब भयो । उनले निदाउन प्रयास नगर्ने होइन । आँखा थाकेका हुन्छन् तर दिमाग पूर्ण रूपमा जागा । त्यसैले पछिल्लो ११ वर्षदेखि उनी आँखा चिम्लेर आफ्नो थकान मेटाउने प्रयास गर्दै आएकी छिन् जबकि उनका श्रीमान् र छोराछोरी भने मज्जाले सुत्छन् । 

liuu‘म पछिल्लो ११ वर्षदेखि निदाउन नसकेको कुरा साँचो हो । लाइक र भ्यु पाउन रचेको बनावटी कुरा होइन,’ त्रानले भनिन् । ‘तपाईंले मलाई नजिकबाट हेर्नुभयो भने यसका असर राम्रोसँग देख्न सक्नुहुन्छ । मेरो आँखा वरिपरि डार्क सर्कल छन् । ११ वर्षअघि मेरो कुनै डार्क सर्कल थिएन, अनुहारमा कुनै दाग धब्बा पनि थिएनन् ।’

‘उनले मलाई धेरै साहस दिन्छन्,’ श्रीमान् बारे कुरा गर्दै उनले भनिन् । ‘उनले मलाई प्रत्येक रात ‘आनन्दले आँखा चिम्लेर निदाउने प्रयास गर’ भनेर प्रोत्साहन गर्छन् । तर म त्यसो गर्न सक्दिनँ । उनी मज्जाले सुतिराख्दा म भने किन निदाउन सकिनँ भनेर विचार गर्न थाल्छु । त्यसपछि मैले एकदिन अस्पताल गएर आफ्नो अवस्थाबारे जान्ने कोसिस गरेँ ।’

३६ वर्षकी ती महिला एकदिन क्वाङ गाइ प्रोभिन्सियल मेन्टल अस्पतालमा उपचारका लागि गइन् । त्यहाँ डाक्टरले उनलाई ‘सिभियर इन्सोम्निया’ द्वारा ग्रसित भएको पाए । डाक्टरले उनलाई औषधी पनि दिए तर औषधी खाएपछि उनको खुट्टा हिँड्नै नसक्ने गरी दुख्यो । तर औषधी असाध्यै महँगो र साइड इफेक्ट पनि भयानक भएका कारण उनले त्यो सेवन गर्न छोडिन् । 

लुकी छिमेकीले उनको अवस्थाबारे पुष्टि गरेकी छिन् । १० वर्ष अघि आफूलाई लुले निदाउन नसकेको कुरा साझा गरेको उनले स्मरण गरिन् । उनले भनिन्, ‘उनको कहानी अपत्यारिलो त छ तर उनको घरसँगै मेरो घर जोडिएकोले उनको भनाइमा सत्यता छ ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप