शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अब प्रहरीले पनि अन्तराष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ

शुक्रबार, २९ भदौ २०८०, १३ : १६
शुक्रबार, २९ भदौ २०८०

हेटौँडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीहरूले पनि सोही अनुरूप अन्तर्राष्ट्रिय तहको विज्ञान प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताएका छन् । शुक्रवार मकवानपुरको पदमपोखरी प्रहरी चौकीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री श्रेष्ठले बागमती प्रदेशका प्रहरीहरूलाई अत्याधुनिक उपकरणले युक्त प्रविधि मैत्री बनाउँदै लैजाने बताए । मन्त्री श्रेष्ठले अहिलेको प्रहरीको क्षमतालाई गुणात्मक ढङ्गले वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दै नागरिक मैत्री बनाउने कुरामा सरकार लागिरहेको बताए ।  तर एउटा हातले मात्र ताली नबज्ने भनेझैँ नागरिकहरू पनि प्रहरी मैत्री बन्न सक्नुपर्ने उनको भनाइ थियो । 

नेपाल सरकारले २०८० भाद्र मसान्तसम्म प्रहरी समायोजन सम्पन्न गर्ने प्रतिबद्धता गरेको बताउँदै उनले सो प्रतिबद्धता अनुसार प्रहरी समायोजन नहुने भएपछि सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न बाध्य हुँदै गएको धारणा समेत व्यक्त गरे ।

कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पदम पोखरीमा प्रहरी चौकी स्थापना हुनु खुसीको कुरा भएको भन्दै यहाँ नागरिक र प्रहरीले समन्वय र सहकार्यमा कार्य गर्नुपर्नेमा जोड दिइन् । मन्त्री श्रेष्ठले पदम पोखरीमा इलाका प्रहरी कार्यालय आवश्यक रहेको भन्दै यसका लागि पहल भइरहेको बताए ।

कार्यक्रममा मन्त्रालयका उपसचिव दीपकप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, प्रहरी नायब महानिरीक्षक किरण राणा, हेउनपा १३ का वडा अध्यक्ष पेमा लामा, मकवानपुर प्रहरी प्रमुख सिताराम रिजाल, प्रहरी उपरीक्षक चित्र गुरुङ, राकेश सिंह, सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा चौकी निर्माणमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको २ करोड २६ लाख १५ हजार १ सय १७ रुपैयाँ बजेटमा १ कठ्ठा ९ धुर क्षेत्रफलमा महिला पुरुष अलग अलग हिरासत कक्ष,  महिला ब्यारेक, कार्यालय प्रमुख निवाससहित ३ तल्ले प्रहरी चौकीको निर्माण भएको हो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप