सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
रङ्गमञ्च

नाटक ‘दमिनी भीर’बाट आत्महत्या गरेका प्रश्नहरू

मङ्गलबार, ०२ असोज २०८०, १५ : ११
मङ्गलबार, ०२ असोज २०८०

जब काजीबाट बलात्कृत भएकी दमिनी भीरबाट हामफालेर आत्महत्या गर्छे, तब सहनाई ढल्छ । यो दृश्यविधानले विम्बात्मक रूपमा यही भन्छ — त्यो सहनाईको आधार थिई दमिनी । 

मञ्चको पछिल्लो कुनामा पहाड बनाइएको छ, तह–तह पारेर । मञ्चको बीचमा घरको भित्तोको प्रतीकका रूपमा चारपाटे अग्लो सेट राखिएको छ । त्यससँगै एउटा अग्लो किलो छ, धुरीको प्रतीकका रूपमा । त्यसैमा एउटा झोला झुन्ड्याइएको छ । काजीले ऋण तिर्न ताकेता गरेपछि त्यही झोला टिपेर सुके दमाईले घर छाड्छ । झोलाको ठाउँमा उसले छाडेको सहनाई रहन्छ । सहनाईलाई मसिनो धागोले बाँधेर चारपाटे सेटमा अड्याइएको हुन्छ । उता दमिनीले आत्महत्या गर्दा यता डोरी तानेर सहनाई ढालिन्छ । ध्वनिसहितको यो दृश्य नाटकभरिकै शक्तिशाली लाग्छ । यद्यपि यसमा ललितकला शैलीमा आएको सहनाई पात्रलाई नाटकले सम्मान गर्न सकेको छैन । 

नाटकको निर्देशकले विम्बमा सोच्नु र सोही अनुसार कथा भन्न खोज्नु साहित्यिक मूल्यका रूपले विशेष हो । यद्यपि यो दृश्य सामान्य प्राविधिक चलाखीभन्दा माथि छैन । यसमा अरु कलाकार (हुन सक्छ, सुके)को दर्दलाई समेत जोडेर अभिनयात्मक ढंगले दृश्यलाई थप सशक्त बनाउन सकिन्थ्यो । 

नाटकमा दुई–दुईपल्ट बलात्कारको दृश्य देखाइएको छ । बाल–बालिकाले हिंसा भनेर बुझ्ने तर यौनहिंसा भनेर नबुझ्ने गरी यी दृश्य देखाइएका छन्, यसमा निर्देशकको कामलाई एक ढंगले राम्रै मान्नुपर्छ ।

बलात्कारका दृश्यमा पनि नयाँ विम्ब वा प्रतीकमा खेल्न सकिने प्रशस्त आधार छँदै छन् । हामीकहाँ विम्ब र प्रतीकका बारेमा खासै बहस भएका छैनन्, विद्यालय र विश्वविद्यालयले साहित्यमा पढाउनेबाहेक । विम्ब र प्रतीक शास्त्रीय मापदण्डका मात्रै हुँदैनन्, दर्शक वा पाठकको मानसिकतामा कुनै भाव वा तरंग पैदा गर्ने खालका धेरै नयाँ विम्ब र प्रतीक निर्माण गर्न सकिन्छ । यो एउटा रागबाट हजारौँ गीत बनेजस्तै हो । यद्यपि विम्ब र प्रतीकको पनि आफ्नो आधारभूमि हुन्छ नै । 

हामीले पूर्वीय दर्शनमा शब्दशक्ति (अभिधा, व्यञ्जना र लक्षणा)का माध्यमबाट साहित्यलाई हेरिरहँदा पश्चिमले सिम्बोल (प्रतीक) र इमेज (विम्ब) का माध्यमबाट कला र साहित्य पस्कँदै आए, यसमै टेकेर विभिन्न वाद वा आन्दोलन पनि जन्मिए । बलात्कारजस्तो जघन्य अपराधलाई कला वा साहित्यमा कसरी प्रस्तुत गर्ने ? यो संसारकै लागि चुनौती र बहसको विषय छ । 

यो नाटकमा मञ्च साजसज्जा रङसँग खेल्न वा रङको सौन्दर्य पोख्न मिल्ने गरी बनाइएको छ । प्राकृतिक रूपमा इन्द्रेणीपछि सबैभन्दा बढी रङको सौन्दर्य पोखिने हिमालमै हो । हिमालमा घाम वा जूनको प्रकाश पर्दा हामीलाई विभिन्न समयको आभास हुन्छ ।

यो नाटकमा मञ्च साजसज्जा रङसँग खेल्न वा रङको सौन्दर्य पोख्न मिल्ने गरी बनाइएको छ । प्राकृतिक रूपमा इन्द्रेणीपछि सबैभन्दा बढी रङको सौन्दर्य पोखिने हिमालमै हो । हिमालमा घाम वा जूनको प्रकाश पर्दा हामीलाई विभिन्न समयको आभास हुन्छ । एकपल्ट मात्रै यस नाटक हेर्दा (मैले राम्रोसँग ध्यान दिन नसकेको हुन सक्छ) यसमा प्रकाशका माध्यमबाट रङको जति प्रयोग गर्न सकिन्थ्यो, त्यति नभएको जस्तो लाग्छ । एउटा दृश्य छ, लच्छी (नाटकको प्रधानपात्र लाग्छ) लाई भेट्न कान्छा रातको समयमा आएको हुन्छ । यही बेला पछाडि हिमालमा रातो प्रकाश परेको थियो । भनियो रात, तर देखाइयो हिमाल रातो अर्थात् बिहानको । यस्ता थुप्रै दृश्यमा विम्ब, प्रतीक, प्रकाश वा रङलाई लिएर थप काम गर्न सकिने देखिन्छ । सामान्यतः विश्वमै स्थापित वा मानकका रूपमा रहेका विम्ब र प्रतीकमै पनि हामी सजक भएको पाइँदैन, थुप्रै अन्य साहित्यमा पनि । 

1

दमिनीले भीरबाट हाम फालेर आत्महत्या गर्नुसम्मको दृश्य नाटक ‘दमिनी भीर’को पूर्वकथा हो । दमिनीले आत्महत्या गरिसकेपछि नाटककै पात्रकै रूपमा उद्घोषक–उद्घोषिका उपस्थित भएर नाटकको बारेमा बताउँछन् — दमिनीले श्री ३ हरूका पाला(राणाशासन)मा आत्महत्या गरेको भीरलाई दमिनीभीर भनिन्छ । यसपछि इँगिहोपो कोइँच सुनुवार निर्देशित र राजन मुकारुङ लिखित नाटक अगाडि बढ्छ । खासगरी फिल्महरूमा देखिने पूर्वकथा (प्रिक्वेल)पछि मूलकथा सुरु हुने शैली मैले नेपाली नाटकमा पहिलोपटक देखेँ, (यस्तो प्रयोग नाटकमा यसअघि भयो कि ? मेरो जानकारीमा छैन) ।  

अब लागौँ, यस नाटकको कथानकतर्फ । यसपछि लगत्तै दमिनी भीरकै फेँदीमा अर्की दमिनी बलात्कृत हुन्छे, उसका दुःखहरूसँगै नाटक अगाडि बढ्छ । आफूलाई बलात्कार गरेर हिँड्ने चेतन फर्केर आई गल्ती नस्विकार्दासम्म उसले पर्खिरहन्छे, यो बीचमा आफूलाई माया गर्न आउने कथित ठूलो जातिको व्यक्ति कान्छालाई उसले मन त दिन्छे तर तन दिन्नँ । अन्ततः उसले कान्छालाई नै रोजेपछि नाटक सकिन्छ । 

गणतन्त्रपछि संविधानसभा कालमा देशका विभिन्न उत्पीडित समुदायले आवाज उठाइरहेका बेला राजन मुकारुङको दमिनी भीर उपन्यास आएको थियो । देश जनयुद्धबाट गुज्रेर आउँदा नेपाली समाजमा विद्यमान जातीय चिन्तनमाथि सबैभन्दा ठूलो धक्का परेको थियो । खासगरी पहाडतिरका दलितहरू र जातीय भेदभाव तथा छुवाछुत गर्दै आएका गैरदलितहरूको लामो निद्रा खलबलिन पुगेको थियो । यस नाटककी मूल पात्र लच्छी पनि राजनीति (जनयुद्ध) सँग परोक्ष जोडिएकी छे तर उसले बदला लिन सक्ने सम्भावित विद्रोहलाई नाटकले मत्थर पारेको छ । उसले विद्रोहको नाममा केवल बिहे गर्दिनँ, समाजले भिराउन खोजेको पुरुषसँग । बलात्कारीलाई लुकाएर अर्कै पुरुष भिराउन खोज्नेहरूलाई उसले सजाय दिने वा सबक सिकाउने ठाउँहरू प्रशस्त थिए ।   

जनयुद्धको उत्तराद्र्ध काल र गणतन्त्रपछि संविधानसभाबाट संविधान नबन्दासम्मको अवस्था यस्तो थियो — उत्पीडित समुदायको थोरै व्यथा (विद्रोह होइन) मिसिएको कृति, कविता वा आलेखले बजार पाउँथ्यो । खासगरी युद्धबिनै समस्याको हल चाहने शान्तिप्र्रेमी लेखकहरू वा उत्पीडक वर्ग तथा समुदायका लेखकहरू उत्पीडित समुदायको पीडा लेख्न उद्यत् थिए । अर्कोतिर, जातीय दलन र दमनबाट मुक्तिको अपेक्षासहित कैयौँ दलितहरू जनयुद्धमा परोक्ष वा प्रत्यक्ष रूपमा सहभागी भएका थिए । समस्याको टालटुले भए पनि समाधान नहुने हो भने दलित लगायत उत्पीडित वर्गको विद्रोह नरोकिने हो कि भन्ने चिन्ता वा भय सत्तापक्ष (सत्ता समाजमा पनि हुन्छ) वा उत्पीडक वर्गको थियो । 

2

उत्पीडक वर्ग तथा समुदायको मनोविज्ञान यस्तो हुन्छ — उसले उत्पीडित समुदायको चर्को विद्रोह चाहँदैन, उत्पीडितहरू मानव भएर आफ्नो हाराहारी उभिएर आँखा जुधाएको उसलाई त्यति प्रिय लाग्दैन । उत्पीडितहरू पीडामा बाँचेको, उनीहरूले केही गर्न नसकेर आत्महत्या गरेको र उनीहरूप्रति आफूहरुको दयाभाव पलाएको चाहना वा कल्पना उनीहरूमा बढी हुने गर्छ र सोही अनुसारको कतिपय साहित्य पनि जन्मे, जन्मँदै छन् । यसैलाई प्रोत्साहन गर्न विभिन्न घटकहरू पुरस्कारका नाममा पनि अगाडि बढ्दै छन् । 

यसै प्रवृत्तिको शृंखला थियो, राजनको दमिनी भीर उपन्यास । उनको यो कृति उनकै दाजु (श्रवण)को कविताबाट बढी प्रभावित थियो — 

नाथे मेरी स्वास्नी हो मारिएकी,

नाथे मेरी छोरी न हो बलात्कृत भएकी

नाथे यो बिसेको झुप्रो न हो जलाइएको

यत्तिमै यो बिसे उफ्रिनुपर्ने– थुइक्क बिसे... । 

अचम्म त यो छ — दलितलाई पात्र बनाएर लेखिएका साहित्यमा सबैभन्दा बढी सायद दमाईहरू नै परेका होलान् । 

सिलाउने र बाजा बजाउनेजस्तो सुकिलो तथा मनोरञ्जनात्मक पेसा भएको र कतिपय अवस्थामा ‘साइत पर्ने जात’ भन्ने मिथ पनि रहेकाले धेरै सर्जकको ध्यान दमाईप्रति गएको देखिन्छ । 

5

खासगरी संविधानसभा कालमा दलितहरू साँच्चिकै पीडामा छन् भनेर देखाउन पनि खोजियो, यो धेरै हिसाबले ठीक थियो, किनकि संविधानमै दलित हक लेखाउन साहित्यले पनि बल दिन्थ्यो । आर्थिक र सांस्कृतिक रूपमा नउठ्दासम्म दलितहरूलाई विशेषाधिकार आवश्यक छ, जुन राज्यले विभेदको क्षतिपूर्तिका रूपमा दिनुपर्छ, यो स्थापित गर्न पनि दलितका पीडाहरू देखाउनुपर्ने थियो ।  

एउटै कृतिमा धेरै पक्ष देखाउन सम्भव हुँदैन । दलितहरूको उत्पीडनको इतिहास र कार्य–कारण, दलितहरूको मुक्ति आन्दोलन, राजनीतिक र वैचारिक द्वन्द्व, सांस्कृतिक पक्ष र सांस्कृतिक रूपान्तरण, दलितहरूको साँचो मुक्ति आदिलाई मसिनो ढंगले नबुझीकन अर्थात् मूल जरादेखि फल वा फूलसम्मको सुगन्ध कला वा साहित्यमा ल्याउन सकिँदैन । त्यसैले भावनाका झोँक्काका कारण खस्ने वा उब्जने पात प्रवृत्तिका साहित्य खासगरी थुप्रै जन्मिएका पनि छन् । 

यो कृतिमा जातको अस्तित्वलाई स्वीकार गरिएको छ वा मानिएको छ । अझ हिजोको जंगबहादुरको कानुनले करार गरेका मासिन्या वा नमासिन्या मतवालीलाई ‘ठूलो जात’ भनिएको छ । नेपाली समाजमा बाहुन–क्षत्रीभन्दा मुनिका र पानी नचल्ने दलितहरूभन्दा माथिका जात वा जातिले दलितहरूलाई बढी जातीय भेदभाव तथा छुवाछुत गर्दै आएको वा गरेको देखिन्छ, कारण उनीहरूलाई सार्वजनिक स्थानमा बाहुन क्षत्रीसँग पानी चलाउनुछ । अन्यथा सुँगुर खाने, जाँड–रक्सी खाने, गाई खाने भनेर कतिपय जनजातिलाई बाहुन–क्षत्री समाजले मात्रै होइन राज्यले समेत अझै विभेद गरिरहेकै छ । हिजो कानुन नै त्यस्तो बन्दाको असर वा प्रभाव थियो यो । 

४८ वर्षअघि राजा वीरेन्द्रको राज्याभिषेकमा लिम्बुलाई शूद्र बनाउने संस्कार वा अनुष्ठान कल्पिइएको थियो । लिम्बुले शूद्र हुन नमानेपछि चारजना राई केटाहरूलाई क्षत्रीको दर्जा दिने संस्कार गरियो । अर्थात् उनीहरूलाई हिन्दू वर्ण–व्यवस्थाभित्र समेटिएको थियो । आज कुनै जातीय भेदभाव तथा छुवाछुतका घटना हुँदा अबुझ जनजाति युवाहरू नै दलितका विरुद्ध फेसबुक लगायत सामाजिक सञ्जालमा उफ्रेको देखिन्छ । आज आएको नाटकमा पनि उही सानो र ठूलो जात मानिँदा दर्शकले के बुझ्ने ? ए, दमाईभन्दा त राई ठूलो हो भनेर बुझ्ने ? कि त भन्न सक्नुपथ्र्यो — हामीमाथि पनि राज्यले यसरी यसरी विभेद गरेको थियो र हामी एउटै पीडाका मानव हौँ । जात भनेको पेसा, विवाह र भोजनको नियमले बनेको विभेदकारी व्यवस्था हो, आज यो नियम नै नरहेपछि यो व्यवस्था स्वतः म¥यो, हामीहरू त जात व्यवस्था उन्मूलनमा लाग्नुपर्छ । अर्कोतिर, पहिचानको कुरा छ, तीन–चार हजार वर्षको इतिहासमा जाने हो भने दलितहरूले आफूलाई खस–आर्य समुदायको रूपमा पहिचान खोज्न सक्छन् । वा, आफ्नो थलो वा संस्कृतिका रूपमा पहिचान खोज्न सक्छन् तर विभेदकारी जात व्यवस्थालाई नमानेर । मैले कुनै धार्मिक, सांस्कृतिक वा मिथकीय कुरा नमानेर आफूलाई केवल मान्छे भन्छु, आफूले चाहेको थर लेख्छु वा लेख्दिनँ भन्ने पनि अधिकार मान्छेलाई हुनुपर्छ । तर नाटकले यसो भन्दैन । उहिलेदेखि मिडियामा कथित ठूलो वा सानो जात भनेर लेखिँदै आइएको छ, यसको (खासगरी कथित शब्दको) मर्म हाम्रा कला साहित्यले किन बिर्सन्छन् ?

3

नाटकमा पात्रको चरित्रको निर्माण खास तवरले हुँदैन । एउटा समूहकै रूपमा नाटकमा पात्रहरू आएका छन् तैपनि समूहभित्र द्वन्द्वहरू थुप्रै छन् । मूल समस्या भएको पात्रको पृष्ठभूमि (संस्कृति आदि) सहित देखाउन नाटक चुकेको छ । भद्रगोल ढंगले पात्र र संवाद ल्याउनुको सट्टा मूल पात्रको समस्यालाई केलाउन सकिन्थ्यो ।  

हो, एउटै कृतिमा सबै कुरा भन्न सकिँदैन तर गलत कुरा भन्न भएन । विवाह हुँदैमा समान भयौँ भन्ने छैन । फरक ‘जात’मा विवाह गरेपछि कुल वा वंशमा बस्न कति गाह्रो छ ? यस्तो विवाह गर्ने अधिकांश युवाहरू कुल वा समाजबाट विस्थापित हुन्छन्, भइरहेका उदाहरण छन् । हिजोआज अलिकति पढे–लेखेको दलित समुदायको पुरुष कथित उच्च जातकी महिलातिर वा अलिकति पढे–लेखेकी दलित समुदायकी स्त्री कथित माथिल्लोतिर भड्कने प्रवृत्ति पनि छ । यसले सबैभन्दा बढी असर दलित महिलालाई गर्छ, किनभने दलित पुरुषले गैरदलितलाई बिहे गर्दा परिवारमा सहजै स्विकारिन्छ, तर दलित महिलालाई गैरदलित परिवारमा त्यति सहजै स्विकारिँदैन । यस्ता कुरा समाजलाई बुझाउन सांस्कृतिक क्रान्ति नै आवश्यक छ, यस्ता कला–साहित्य आजको आवश्यकता हो । 

इतिहासमा बलात्कार र ऋणको पीडा एउटा जात (दमाई)लाई मात्रै थिएन । इतिहासमा थुप्रै भीरबाट थुप्रै मानिसले आत्महत्या गरेका छन् । प्रश्न उठ्छ — सर्जकले दमिनीलाई नै किन रोजे, पुस्तक वा मुद्दा बिक्रीका लागि ? त्यसो हो भने पुस्तकबाट बिक्री भएको वा पुस्तकको नामबाट आएका रोयल्टी, पुरस्कार आदि यही समुदायलाई दिनेछु भन्नुपथ्र्यो । अर्कोतिर दलितको मुद्दा भन्नेबित्तिकै मानिसहरू त्यसमा दाता वा डलर जोड्न उद्यत हुन्छन् । यस नाटकमा पनि ‘हातेमालो’का नाममा अनेक संस्था आएका छन् । सरकारले सहयोग नगरेपछि गैरसरकारबाट उत्पीडितले सहयोग लिनु स्वाभाविक हो तर किन ? भन्ने प्रश्न उठ्नुपर्छ । 

प्रश्न अर्को पनि छ, आज आफूहरूले ढुंगा–ढुंगामा, थुम्का–थुम्कामा पहिचान खोज्दा दमिनी भीरको पहिचान के ? नस्लीय पुरुषवादले आफ्ना चेलीहरूलाई बलात्कृत बनाएर साहित्य वा इतिहास लेख्दैन । नस्लीय चेतनाले आफ्ना पुर्खा हारेको पनि देखाउँदैन । हिजो जुन समुदायले कानुन वा सामाजिक मूल्य–मान्यताका नाममा विभेद ग¥यो, आज उनीहरूले नै विभेद र उत्पीडनको कथा बेचेर फाइदा लिँदै छन् । उनीहरूले त दलितहरूलाई आफ्नो उत्पीडनको कथा आफैँ भन्न प्रोत्साहित गर्नुपर्ने होइन र ? इतिहासमा यी विषयको पनि पुनर्मूल्यांकन हुन आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप