शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पुल्चोक क्याम्पस बन्यो उत्कृष्ट आङ्गिक क्याम्पस, दुई सोधकर्तालाई ‘नेपाल प्रविधि विद्याभूषण’

बुधबार, ०३ असोज २०८०, १७ : १२
बुधबार, ०३ असोज २०८०

काठमाडौँ ।  राष्ट्रिय शिक्षा दिवस, २०८० को उपलक्ष्यमा विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमध्ये 'पुल्चोक क्याम्पस' यस वर्षको उत्कृष्ट क्याम्पस घोषणा भएको छ । 

अध्ययन, अध्यापन र अनुसन्धानको माध्यमद्वारा गुणात्मक एवम् स्तरयुक्त उच्च शिक्षाको अवसर सबै नेपालीलाई सर्वसुलभ उपलब्ध गराउने नीतिलाई आत्मसात गर्दै उच्च शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेबापत क्याम्पसलाई दुई लाख पचास हजार नगद सहित यो पुरस्कार प्रदान गरिएको हो ।

त्यसैगर, पुल्चोक क्याम्पसका दुई सोधकर्ता डा. मन्दीप सुवेदी र ई. राजन के.सी.लाई शिक्षा मन्त्रालयद्वारा यसै वर्षदेखि सुरु गरिएको ‘नेपाल प्रविधि विद्याभूषण’ पुरस्कारले सम्मान गरिएको छ । देशभरिका स्नातकोत्तर र विद्यावारिधि तहका सोधकर्ता मध्ये यसवर्ष ११ जनालाई प्रदान गरिएको यस पुरस्कारमा दुई जना पुल्चोक क्याम्पसका परेका हुन् । 

डा. सुवेदीलाई उनले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट विद्यावारिधि तहमा ‘काठमाडौंमा भूकम्पका कारण हुन सक्ने तरलीकरण (लिक्विफ्याक्सन) र यसले पुर्याउन सक्ने जोखिम र न्यूनीकरणका उपाय’ विषयमा गरेको उत्कृष्ट सोधका लागि पुरस्कार प्रदान गरिएको हो । उनको यो सोधले यसअघि अन्तर्राष्ट्रिय जर्नलबाट ‘उत्कृष्ट सोधपत्र २०२२’ को अवार्ड पनि हासिल गरिसकेको छ । उनको यस अध्ययनलाई सहरी विकासको योजना तर्जूमामा उपयोगी हुने ठानिएको छ । यस अध्ययनमा उनका सुपरिवेक्षक सह.प्रा.डा.ईन्द्र प्रसाद आचार्य रहेका थिए । 

यस्तै, पुल्चोक क्याम्पस कै अर्का सोधकर्ता ई. राजन के.सी.ले स्नातकोत्तर तहमा सडक पुलको फाउन्डेसन (जग) निर्माणमा देखिएका जटिल समस्याहरूको समाधान स्वरुप सुरु भएको नयाँ फाउन्डेसन (सि.सि.पि.एफ) डिजाइन गर्ने विधिबारे गरेको सोधका लागि यस वर्षको ‘नेपाल प्रविधि विद्याभूषण’ हासिल गरेका हुन् । उनको अध्ययनमा आधारित रहेर नेपाल सरकारको सडक विभागले पुलको फाउन्डेसन डिजाइन गाइडलाइन तयार गर्ने चरणमा रहेको छ । 

Capture

यसबाट निर्माणका क्रममा रोकिएका कैयौं पुलहरूको समस्या समाधान हुने विश्वास लिइएको छ । उनले यस अध्ययन बारे भारत, काजकस्तान एवं जापानमा समेत प्रस्तुत गरिसकेका छन् । यस अध्ययनमा उनलाई क्याम्पसबाट सह.प्रा.डा.ईन्द्र प्रसाद आचार्य र क्यानडाको बिजिसी ईन्जिनियरिङ कम्पनीमा संलग्न डा. केशव शर्माले सुपरिवेक्षण गरेका थिए ।

सम्मानित भएसँगै पुल्चोक क्याम्पसका प्रमुख समेत रहेका सह.प्रा.डा. आचार्यले सीमित स्रोत साधनका बाबजुत पनि पुल्चोक क्याम्पसले यति उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । उनले  राज्यले साच्चै चासो र प्राथमिकता दिएर हेर्ने हो भने पुल्चोक क्याम्पस सँगै इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले विश्व मै आफूलाई उच्च दर्जमा राख्न सक्ने बताए ।

केही समय अगाडि मात्रै सरकारले इन्जिनियरिङ शिक्षा क्षेत्रमा पर्याप्त बजेट नछुट्याएकाले नियमित अध्ययन, अध्यापन र अनुसन्धानलाई कायम राख्न भन्दै आईओईले विद्यार्थी शूल्क बृद्धि गरेको थियो, जुन केही समय राजनीतिक खिचातानीका कारण विवादित पनि हुन पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप