बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

एआईको शरीर

बिहीबार, ०७ साउन २०८३, १७ : २९
बिहीबार, ०७ साउन २०८३

सारांश

  • एआईको 'मस्तिष्क' तीव्र विकसित भए पनि 'शरीर' विकासमा पछाडि परेको छ, जसलाई टीडीकेले प्रविधिमार्फत पूरा गर्ने लक्ष्य राखेको छ ।
  • एआईयुक्त रोबोटहरूले मानव अपेक्षा पूरा गर्न ऊर्जा खपत, कनेक्टिभिटी, सेन्सर, सुरक्षा र विश्वसनीयता जस्ता चुनौतीहरूको सामना गर्नुपर्नेछ ।
  • टीडीकेले फोटोनिक्स, उन्नत ताप व्यवस्थापन र सेन्सिङ प्रविधिमार्फत एआईको भौतिक विस्तारका लागि ऊर्जा दक्षता र भरपर्दो सञ्चालनमा जोड दिएको छ ।

एक दशकभन्दा केही बढी अवधिमा एआई ‘मस्तिष्क’का रूपमा तीव्र गतिमा विकसित भएको छ । यसले सिकाइ, तर्क गर्ने क्षमता र समस्या समाधान गर्ने दक्षतामा उल्लेखनीय प्रगति हासिल गरेको छ । 

तर, एआईको ‘मस्तिष्क’ जति तीव्र रूपमा विकसित भएको छ, त्यसको ‘शरीर’ भने त्यही अनुपातमा विकसित हुन सकेको छैन । टीडीके (टेक्नोलोजीको क्षेत्रमा काम गर्ने जापानी मल्टिनेसनल कम्पनी) का कर्पोरेट अफिसर तथा कर्पोरेट रणनीति मुख्यालयका महाप्रबन्धक तारो इकुशिमाका अनुसार एआईको अर्को पुस्तालाई सक्षम बनाउन यसको भौतिक पक्षको विकास अत्यावश्यक छ । उनका अनुसार टीडीकेको प्रविधिले यो खाडल पुर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

‘एआईको नवप्रवर्तन वा विकास केवल साइबर स्पेसमा मात्र भइरहेको छैन, यो भौतिक संसारमा पनि विस्तार भइरहेको छ,’ उनले भने । 

यद्यपि, एआईयुक्त रोबोटहरूले मानवले अपेक्षा गरेको स्तरमा पुग्नुअघि अझै धेरै चुनौतीहरू बाँकी रहेको उनले जुलाई ९ मा सिंगापुरमा आयोजित ‘रायटर्स नेक्स्ट’ फोरममा सम्बोधन गर्दै बताए । ‘आफैं सोच्न सक्ने र स्वतन्त्र रूपमा काम गर्न सक्ने रोबोटहरू बन्नु अत्यन्त रोमाञ्चक हुनेछ,’ उनले भने, ‘तर त्यो सम्भव हुनुअघि समाधान गर्नुपर्ने धेरै समस्या छन् । यदि टीडीकेले आफ्ना प्रविधिमार्फत ती समस्याको समाधानमा योगदान दिन सक्यो र अझ विश्वसनीय तथा सुरक्षित रोबोट निर्माणमा सहयोग गर्न सक्यो भने हामी निकै खुसी हुनेछौं ।’ 

इकुशिमाका अनुसार यस्ता समाधान खोज्न साझेदारहरूसँग सहकार्य र समन्वय गर्नु नै सबैभन्दा महत्त्वपूर्ण हुनेछ । उनले एआई क्षेत्रको तीव्र विकास देखाउने तथ्यांक पनि प्रस्तुत गरे । सन् २०१२ देखि २०२२ सम्म एआई मोडेलको कम्प्युटिङ क्षमता एक करोड (१० मिलियन) गुणा बढेको छ । त्यस्तै विश्वव्यापी डेटा उत्पादन सन् २०३० सम्म ६०० जेट्टाबाइट पुग्ने अनुमान गरिएको छ । एक जेट्टाबाइट बराबर १० खर्ब (१ ट्रिलियन) गिगाबाइट हुन्छ, जुन सन् २०२० को स्तरभन्दा करिब १० गुणा बढी हो । 

एआई भौतिक संसारमा प्रवेश गर्न थालेसँगै ऊर्जा खपत, कनेक्टिभिटी, सेन्सर, सुरक्षा र विश्वसनीयता जस्ता विषयहरू अर्को पुस्ताका बुद्धिमान प्रणालीका प्रमुख चुनौतीका रूपमा देखापरेका छन् । 

‘सोच्ने’ क्षमताभन्दा पनि धेरै आवश्यक

इकुशिमाका अनुसार वास्तविक संसारमा काम गर्न एआईसँग केवल बुद्धिमत्ता हुनु पर्याप्त हुँदैन । अहिले धेरैजसो ध्यान एआईलाई ‘मस्तिष्क’का रूपमा हेर्नेमा केन्द्रित भए पनि अबको मुख्य चुनौती भनेको त्यसलाई भौतिक वातावरणमा भरपर्दो रूपमा सञ्चालन गर्न सक्षम बनाउनु हो । उनका अनुसार स्वतन्त्र रूपमा सञ्चालन हुने रोबोट व्यापक रूपमा प्रयोगमा आउनुअघि अझ राम्रो ब्याट्री, अझ संवेदनशील सेन्सर र उच्च गुणस्तरका कम्पोनेन्ट आवश्यक पर्नेछन् । 

‘यदि तपाईंको रोबोट ३० मिनेटमै ब्याट्री सकिएर बन्द भयो वा वरपरको अवस्थालाई गलत रूपमा बुझ्यो भने त्यो अवस्था तपाईंलाई पक्कै मन पर्दैन,’ उनले भने । 

फोटोनिक्सबाट ऊर्जा बचत

एआईको भविष्यलाई समर्थन गर्ने महत्त्वपूर्ण प्रविधिमध्ये एक फोटोनिक्स हो । इकुशिमाका अनुसार उद्योग अहिले डाटा सेन्टरभित्र सर्भर–टु–सर्भर वा र्याक–टु–र्याक जडानभन्दा अगाडि बढेर चिपकै नजिक अप्टिकल कनेक्टिभिटी प्रयोग गर्ने दिशामा अघि बढिरहेको छ । 

यस परिवर्तनले ऊर्जा खपत घटाउँदै डेटा प्रसारण क्षमता बढाउन मद्दत गर्न सक्छ । टीडीकेले यस्तो रूपान्तरणलाई सहयोग पुर्‍याउन फोटोनिक्स उपकरणहरू विकास गरिरहेको जनाएको छ । उनका अनुसार एआईलाई भौतिक संसारमा व्यापक रूपमा विस्तार गर्न ऊर्जा दक्षता अत्यन्त महत्त्वपूर्ण हुनेछ । एआई कम्प्युटिङको बढ्दो मागले डाटा सेन्टरहरूमा ठुलो दबाब सिर्जना गरिरहेको छ, जसका कारण विद्युत् खपत र शीतलीकरण (कुलिङ) उद्योगका प्रमुख चुनौती बनेका छन् । 

उन्नत ताप व्यवस्थापन (थर्मल म्यानेजमेन्ट) र फोटोनिक्सजस्ता प्रविधिले ऊर्जा बचत गर्दै कम्प्युटिङ क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

भौतिक एआई निर्माण

टीडीकेले उन्नत सेन्सिङ प्रविधिमार्फत एआई प्रणालीलाई भौतिक संसारबारे अझ राम्रो जानकारी दिने प्रविधिको विकासमा ध्यान केन्द्रित गरेको छ । यसै उद्देश्यका लागि कम्पनीले जुलाई २०२४ मा ‘टीडीके सेन्सई’ स्थापना गरेको थियो । 

यो कम्पनी अत्याधुनिक सेन्सर र सफ्टवेयरमार्फत पूर्वानुमानात्मक मर्मत (प्रिडिक्टिभ मेन्टिनेन्स) प्रणाली विकासमा केन्द्रित छ ।

यस प्रविधि औद्योगिक क्षेत्रमा प्रयोगमा आइसकेको छ । यसले अति संवेदनशील सेन्सरमार्फत अत्यन्त साना परिवर्तनसमेत पत्ता लगाएर वास्तविक समयमा डेटा विश्लेषण गर्छ, जसले समस्या देखिएलगत्तै प्रतिक्रिया दिन सम्भव बनाउँछ । 

उदाहरणका लागि, कारखानामा प्रयोग हुने मोटरमा हुने सूक्ष्म असामान्य कम्पन पत्ता लगाएर उपकरण बिग्रिनुअघि नै चेतावनी दिन सकिन्छ । उच्च तापक्रम, ध्वनि, दबाब वा कम्पनका कारण उत्पन्न समस्या पनि स्वतः र वास्तविक समयमा पहिचान गरी नियन्त्रण गर्न सकिन्छ । 

स्मार्ट चस्माको नयाँ युग

टीडीकेले विकास गरिरहेको स्मार्ट चस्मा कम्पनीको तीव्र प्रगतिका उदाहरणमध्ये एक हो । यी स्मार्ट चस्माले सञ्चार, तत्काल अनुवाद, नेभिगेसन, स्पेसियल कम्प्युटिङलगायत विभिन्न क्षेत्रमा प्रयोग हुने सम्भावना बोकेको छ । यसको उद्देश्य मानिसहरूको दैनिक जीवनलाई अझ सहज बनाउनु हो । 

‘सफ्टआई’ कम्पनी अधिग्रहणपछि टीडीकेले प्रयोगकर्ताको आँखाको चाल पछ्याउने (आई ट्रयाकिङ) तथा उसले कुन वस्तु हेरिरहेको छ भन्ने पहिचान गर्न सक्ने प्रविधि प्राप्त गरेको छ । एआईसँग संयोजन गर्दा यसले आवाज वा स्पर्शमार्फत आदेश दिनुपर्ने आवश्यकता घटाउँदै अझ स्वाभाविक प्रयोगकर्ता अन्तरक्रिया (युजर इन्टरफेस) सम्भव बनाउन सक्छ । 

टीडीकेका अनुसार स्मार्ट चस्माका लागि लेजर अप्टिकल इन्जिन आवश्यक हुन्छ । हार्ड डिस्क ड्राइभ (एचडिडि) बाट विकसित नानो–सटीक एलाइनमेन्ट प्रविधिमा आधारित यो नयाँ अवधारणामा कम्पनीको आफ्नै रेटिनल प्रोजेक्सन प्रविधि प्रयोग गरिएको छ, जसले प्रयोगकर्ताको आँखाको रेटिनामै प्रत्यक्ष रूपमा अल्ट्रा–हाई फोरके रिजोल्युसनमा जानकारी प्रदर्शन गर्छ । यो उपकरण हल्का, ऊर्जा–दक्ष तथा ठुलो मात्रामा उत्पादन गर्न उपयुक्त बनाइएको छ ।

साइबर स्पेसबाट भौतिक संसारतर्फ

टीडीकेको लक्ष्य केवल छुट्टाछुट्टै कम्पोनेन्ट आपूर्ति गर्नु होइन । एआई डिजिटल संसारबाट भौतिक संसारतर्फ विस्तार भइरहेका बेला कम्पनी ब्याट्री, सेन्सर, इलेक्ट्रोनिक कम्पोनेन्ट र फोटोनिक्समा रहेको आफ्नो विशेषज्ञतालाई संयोजन गरेर समग्र समाधान प्रदान गर्ने दिशामा केन्द्रित भएको इकुशिमाले बताए । 

उनका अनुसार एआईयुक्त पहिलो पुस्ताका रोबोटहरू कारखाना र गोदामजस्ता नियन्त्रित वातावरणमा प्रयोग हुने सम्भावना बढी छ, जहाँ तिनको परीक्षण र सुधार गर्न सकिन्छ । ‘यदि एजीआई (आर्टिफिसियल नेनेरल इन्टलिजेन्स) उपलब्ध भयो भने रोबोटले स्वतन्त्र रूपमा काम गर्नेछ र आफैं निर्णय गर्न सक्नेछ,’ उनले भने । तर त्यसका चुनौतीहरू पनि थुप्रै छन् । ब्याट्री सकिएपछि रोबोट ३० मिनेटमै बन्द हुन सक्छ । उसले निर्देशन गलत बुझ्न सक्छ । अन्य उपकरणबाट आउने आवाजले उसको काममा अवरोध पुर्‍याउन सक्छ वा असामान्य व्यवहार गर्न सक्छ । 

यी सबै समस्या समाधान गर्न आवश्यक रहेको इकुशिमाले बताए । ‘रोबोटलाई अझ राम्रो सेन्सर, लामो समय टिक्ने ब्याट्री, भरपर्दो पार्ट्स आपूर्ति र उच्च गुणस्तरका कम्पोनेन्ट आवश्यक छन् । यिनै समाधान हामी उपलब्ध गराउन सक्छौँ ।’ 

इकुशिमाका अनुसार एआईको अर्को चरण केवल बुद्धिमत्ताको विकासले मात्र निर्धारण हुने छैन । बरु, वास्तविक संसारमा एआईलाई सुरक्षित, ऊर्जा–दक्ष र विश्वसनीय रूपमा सञ्चालन गर्न सक्षम बनाउने प्रविधिहरूले नै यसको भविष्य तय गर्नेछन् । 

रोयटर्स नेक्स्ट फोरममा उनले अन्त्यमा भने, ‘धेरै मानिसहरू एआईलाई केवल मस्तिष्कका रूपमा हेर्छन् । तर जब एजीआई बजारमा उपलब्ध हुन्छ, त्यसले भौतिक संसारमा प्रवेश गर्नेछ ।’ 

रोयटर्सबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप