बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

एकैदिन ४४.४ अर्ब डलरले घट्यो एलन मस्कको सम्पत्ति

बिहीबार, ०७ साउन २०८३, १७ : २८
बिहीबार, ०७ साउन २०८३

सारांश

  • विश्वका सबैभन्दा धनाढ्य व्यक्ति एलन मस्कको सम्पत्ति एकै दिन ४४ अर्ब ४० करोड डलरले घटेको छ ।
  • टेस्लाको त्रैमासिक वित्तीय नतिजापछि कम्पनीको शेयर मूल्य घटेकाले मस्कको सम्पत्तिमा ठूलो कमी आएको हो ।
  • अप्रिलदेखि जुन त्रैमासमा कम्पनीको कमाई २८ अर्ब २४ करोड डलर पुगे पनि नाफा र प्रति शेयर आम्दानी अपेक्षाभन्दा कम भएपछि लगानीकर्ताहरू निराश बने ।

क्यालिफोनिर्या । विश्वका सबैभन्दा धनाढ्य व्यक्ति अमेरिकी खर्बपति व्यापारी एलन मस्कको सम्पत्ति एकै दिन ४४ अर्ब ४० करोड डलरले घटेको छ । 

मस्कको विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको त्रैमासिक वित्तीय नतिजापछि कम्पनीको शेयर मूल्य घटेपछि मस्कको सम्पत्तिमा ठूलो कमी आएको हो । ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार अहिले मस्कको कुल सम्पत्ति घटेर ७ खर्ब ४५ अर्ब अमेरिकी डलरमा समेटिएको छ । केही समयअघि उनी विश्वका पहिलो ट्रिलियनेयर थिए ।

अप्रिलदेखि जुन त्रैमासमा कम्पनीको कमाई २८ अर्ब २४ करोड डलर पुगेको देखिएको छ । यो बजारको अनुमानभन्दा राम्रो भए पनि नाफा र प्रति शेयर आम्दानी अपेक्षाभन्दा कम भएपछि लगानीकर्ताहरू निराश बने । तथ्यांकअनुसार टेस्लाको खुद नाफा करिब पाँच प्रतिशत घटेर १ अर्ब ११ करोड डलरमा सीमित भएको छ भने प्रति शेयर आम्दानी शून्य दशमलव ३३ सेन्ट मात्र रह्यो । यो नतिजा सार्वजनिक भएपछि आफ्टर–मार्केट कारोबारमा टेस्लाको शेयर करिब पाँच प्रतिशतले घट्यो ।

यस वर्ष मात्रै टेस्लाको शेयर मूल्य करिब १५ प्रतिशतले घटिसकेको छ । पछिल्लो कमीले कम्पनीमाथि थप दबाब सिर्जना गरेको छ र त्यसको प्रत्यक्ष असर इलन मस्कको सम्पत्तिमा परेको हो । टेस्लाले नाफा घट्नुका प्रमुख कारणहरूमा कम मूल्यमा सवारीसाधन बिक्री, नियामकीय क्रेडिटबाट कम आम्दानी तथा ऊर्जा वारन्टीसम्बन्धी अतिरिक्त खर्चलाई उल्लेख गरेको छ । कम्पनीको नाफा मार्जिन घटेर १६ दशमलव ८ प्रतिशतमा पुगेको छ भने करिब १ अर्ब १० करोड डलरको नकारात्मक नगद प्रवाह पनि रेकर्ड भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप