बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सय डलर नजिक पुग्यो कच्चा तेलको भाउ

बिहीबार, ०७ साउन २०८३, १७ : ३२
बिहीबार, ०७ साउन २०८३

सारांश

  • अमेरिका, इरान र इरान समर्थित समूहबीचको सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उकालो लागेको छ ।
  • मध्यपूर्वबाट तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ताले विश्व ऊर्जा बजारमा दबाब बढेको छ ।
  • यमनका हुथी विद्रोही र इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले समुद्री मार्गमा गरेको आक्रमण वा दाबीले तेलको मूल्यमा थप वृद्धि भएको छ ।

न्यूयोर्क । अमेरिका, इरान र इरान समर्थित समूहबीचको सैन्य तनाव थप बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उकालो लागेको छ । मध्यपूर्वबाट हुने तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ताका कारण विश्व ऊर्जा बजारमा दबाब बढेको हो ।

 विश्व बजारको प्रमुख सूचक ब्रेन्ट कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ९८ अमेरिकी डलर नाघेको छ, जुन एकै दिनमा चार प्रतिशतभन्दा बढी वृद्धि हो । पछिल्लो एक सातामा मात्र ब्रेन्ट तेलको मूल्य करिब १३ डलरले बढेको छ भने युद्ध सुरु भएयता झण्डै ३३ प्रतिशतले वृद्धि भएको छ ।

अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट कच्चा तेलको मूल्य पनि करिब तीन प्रतिशत बढेर प्रति ब्यारेल ९० अमेरिकी डलरको नजिक पुगेको छ । यसबीच यमनका इरान समर्थित हुथी विद्रोहीले लाल सागरमा दुई वटा साउदी तेल ट्यांकरमाथि आक्रमण गरेको दाबी गरेका छन् । हुथी समूहले यसअघि बाब अल–मन्देब जलमार्गमा नाकाबन्दी गर्ने चेतावनी दिएको थियो । बाब अल–मन्देब लाल सागरको दक्षिणी प्रवेशद्वार हो र साउदी अरेबियाले स्ट्रेट अफ होर्मुजको विकल्पका रूपमा यस मार्गबाट ठूलो परिमाणमा तेल निर्यात गर्दै आएको छ ।

उता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले स्ट्रेट अफ होर्मुजको दक्षिणी क्षेत्रमा बिछ्याइएको बारुदी मार्ग हुँदै जान खोजेका तीन तेल ट्यांकरमध्ये एउटा विस्फोटपछि आगलागीमा परेको र बाँकी दुई जहाज फर्किएको दाबी गरेको छ । इरानले उक्त जलमार्ग आफ्नो नियन्त्रणमा रहेको बताउँदै अमेरिकी गतिविधि जारी रहेसम्म त्यहाँको अवस्था तनावपूर्ण रहने संकेत दिएको छ । अमेरिकी सेनाले भने इरानको समुद्री तथा सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले लगातार १२ औँ रातसम्म हवाई आक्रमण सञ्चालन गरेको जनाएको छ । अमेरिकाका अनुसार यी कारबाहीले व्यापारीक जहाज र नागरिक समुद्री यातायातमाथि हुने सम्भावित खतरालाई कम गर्ने लक्ष्य राखेको छ ।

तेल बजारका विश्लेषकहरूले अहिले मुख्य रूपमा स्ट्रेट अफ होर्मुज हुँदै कति जहाज आवतजावत गरिरहेका छन् र बाब अल–मन्देब क्षेत्रमा हुथी समूहको नाकाबन्दी कत्तिको प्रभावकारी हुन्छ भन्ने विषयलाई नजिकबाट नियालिरहेका छन् । यी दुवै समुद्री मार्ग विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन् । युद्धले ऊर्जा बजारमा थप दबाब सिर्जना गरेको छ, किनभने विश्वभर तेलको मौज्दात पहिलेको तुलनामा कम रहेको छ । साथै युक्रेनी आक्रमणका कारण रुसका धेरै तेल प्रशोधन केन्द्रमा क्षति पुगेपछि डिजेललगायत इन्धनको विश्वव्यापी आपूर्ति पनि प्रभावित भएको छ ।

विश्व शेयर बजारमा भने मिश्रित अवस्था देखिएको छ । अमेरिकाको एस एन्ड पी ५०० सूचकांकमा खासै परिवर्तन हुने संकेत देखिएको छैन भने युरोपको स्टोक्स ६०० सूचकांक शूनय दशमलव ७ प्रतिशतले घटेको छ। एसियाली बजारमा दक्षिण कोरियाको कोस्पी सूचकांक ४ दशमलव ४ प्रतिशतले बढेको छ भने हङकङको ह्याङ सेङ सूचकांक एक प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

समुद्री ढुवानीसम्बन्धी तथ्यांक कम्पनी क्लरका अनुसार हुथीको चेतावनीपछि सोमबार र मंगलबार बाब अल–मन्देब जलमार्ग हुँदै जान लागेका कम्तीमा छ वटा जहाजले आफ्नो मार्ग परिवर्तन गरेका थिए । केही जहाज अहिले सुएज नहरतर्फ मोडिएका छन्, तर यो मार्ग एसियातर्फको यात्राका लागि बढी खर्चिलो र जटिल मानिन्छ । जलमार्गमा जारी असुरक्षाको असर इन्धन उपभोक्तामाथि पनि पर्न थालेको छ । अमेरिकामा पेट्रोलको औसत मूल्य बढेर प्रतिग्यालन ४ डलर शून्य ९ सेन्ट पुगेको छ, जुन युद्ध सुरु भएयता करिब ३७ प्रतिशतले बढी हो । डिजेलको औसत मूल्य पनि प्रतिग्यालन ५ डलर २१ सेन्ट पुगेको छ, जुन युद्ध सुरु भएयता करिब ३९ प्रतिशतले वृद्धि भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप