आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका पुगेका सीके राउतले भने– सबै कुरा सोचेजस्तो हुँदो रहेनछ

शुक्रबार, ०५ असोज २०८०, १४ : ०६
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । एउटा राजनीतिक कार्यक्रमका लागि अमेरिकामा रहेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सिस्टममा परिवर्तन नभएसम्म नेपालमा कुनै प्रकारको परिवर्तनको अनुभूति गर्न नसकिने बताएका छन् ।

अमेरिका रहेका नेपालीहरुसँगको भेटघाटका क्रममा उनले लोकतन्त्र छ भन्दैमा संसदमा गएर जे पाए त्यही बोल्न नपाइने प्रस्ट पारे । संसदमा दलको आकार अनुसार समय दिइने र सोही समयभित्र आफ्नो कुरा राख्नुपर्ने उनको जिकिर थियो ।

अध्यक्ष राउतले भने, ‘पहिला मलाई पनि संसदमा गएर बोलेर नै आफ्नो सबै काम गराउँछु, आफ्नो माग पूरा गराउँछु, आफ्नो अधिकार लिन्छु जस्तो लागेको थियो तर संसदमा गएपछि सोचेजस्तो, भनेजस्तो सबै कुरा हुँदो रहेनछ, त्यसको आफ्नै मूल्य मान्यता छ, संसद अंकगणितमा चल्दो रहेछ ।’

संसदमा ह्वीप लागु हुने उल्लेख गर्दै राउतले कुनै पनि दलका सांसदलाई निर्णय गर्ने स्वतन्त्रता नहुने प्रस्ट पारे । ‘सांसदले मनमा लागेको कुरा बोल्न पाउँछ तर मतदान गर्ने समय वा मत हाल्ने समयमा पार्टीले गरेको निर्णय अनुसार नै गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘ह्वीपको प्रावधान हटाएमा संसदमा धेरै कुरा परिवर्तन गर्न सकिने अवस्था आउँछ ।’

कुनै विषयमा एक महिनासम्म संसदमा बहस छलफल हुने गरे पनि अन्त्यमा गठबन्धन दलले जे निर्णय गर्छ, त्यही पास हुने भएकाले त्यत्रो चर्काचर्की बहस गरेको कुनै अर्थ नरहने पनि उनले बताए ।

अध्यक्ष राउतले कसैसँग जतिसुकै राम्रो प्रस्ताव भए पनि अंकगणित प्रतिकूल भएमा त्यो काम नलाग्ने पनि बताए । ‘सत्तारुढ दल वा गठबन्धनले जे निर्णय गरेका हुन्छन्, त्यही लागु हुन्छ, एउटा सांसदले बोलेको कुनै महत्त्व हुँदैन,’ उनले भने, ‘हामी पनि संसदमा बोल्दा ताली बज्छ, मिडियामा चर्चा हुन्छ तर त्यो बोलेको कुरा कार्यान्वयनमा आउँदैन, पहिला नै निर्णय भइसकेको हुन्छ र त्यही लागु हुन्छ ।’

निर्वाचनको क्रममा १० लाख युवालाई रोजगारी दिने प्रतिवद्धता गर्नुभएको थियो त्यो अझै किन लागु भएन भन्ने प्रश्नमा अध्यक्ष राउतले आफूहरुले रोजेको मन्त्रालय नपाएका कारण सो प्रतिवद्धता पूरा गर्न नसकेको जवाफ दिए ।

चुनाव सकिने बित्तिकै सरकारमा जाने कुरा भयो र आफूहरुको पहिलो रोजाई उद्योग मन्त्रालय रहे पनि त्यो नपाउँदा रोजगार सिर्जना गर्न नसकिएको उनको भनाइ थियो । यसका लागि अझै प्रयास जारी रहेको उनले बताए ।

‘उद्योग मन्त्रालय पाएमा १० लाख युवालाई रोजगार दिन नसके पनि दुईचार लाखलाई रोजगारी दिन सकिन्थ्यो,’ उनले भने, ‘तर सबै कुरा सोचेजस्तो नहुने रहेछ ।’

आफूले अमेरिका किन छाडेको भन्नेबारे पनि उनले त्यहाँ प्रष्टिकरण दिएका थिए । नेपालको तराई क्षेत्रमा मेची–महाकाली यात्रा गरेपछि त्यहाँको अवस्था हेरेर पुनः अमेरिका फर्किन मन नलागेको र आफ्नो ठाउँका लागि आफैँले केही गर्नुपर्ने विचारका साथ सन् २०११ मा अमेरिका छाडेर नेपाल बसेको उनले बताए ।

उनले अमेरिकामा रहेका अन्य नेपालीलाई पनि अमेरिका छाडेर नेपाल फर्किन आग्रह गरे । ‘नेपालमा पहिलाजस्तो गाह्रो छैन, काम गर्नका लागि थुप्रै मञ्च तयार छन्,’ उनले भने ।

भदौ ३१ गते अमेरिका पुगेका अध्यक्ष राउत त्यहाँको एक संस्थाले नयाँ पार्टीलाई दुई दिनसम्म दिएको तालिममा सहभागी भएका थिए । त्यसपछि उनी व्यक्तिगत भेटघाटमा सक्रिय छन् । उनी असोज ११ गते नेपाल फर्किने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप