चितवन निकुञ्जका पुष्पा र अञ्जली मङ्गलबार कोशी पठाइँदै
चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार बिहान ११ बजेदेखि २ बजेभित्र ती गैँडा खोरमा राखेर कोशी पठाइने छ । उनले भने, “शीतल दिन भयो भने चाँडै नै पठाउँछौँ, गर्मी भयो भने पनि २ बजेभित्र पठाउँछौँ ।” दुईवटा खोरमा अलगअलग राखेर गैँडा पठाइँदैछ ।
गैँडालाई लिएर निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली कोशी जानेछ । वरिष्ठ पशुचिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा भेटेरिनरी चिकित्सकको टोलीसमेत गैँडासँगै कोशी जानेछन् ।
बुधबार गैँडालाई कोशीमा पुर्याएर खुल्ला खोरमा राखिने छ । कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा लान लागिएको हो । विभागका तत्कालीन उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो ।
सुरुमा यहाँबाट लगिएका गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने छ । कोशीको पथरी सेक्टर कार्यालय नजिकै आरक्ष सुरक्षार्थ सेनाको पोष्ट रहेको क्षेत्र नजिक गैँडा राखिँदै छ । प्रकृतिमा छाड्ने समयमा गैँडा थप गरेर छोडिने छ ।
केही वर्षअघि आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा १३ वटा अर्ना ल्याइएको थियो । तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट आरक्षमा गैँडा ल्याउनुपर्ने माग गरेका थिए । सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी पठाउन लागिएको बताए । ती दुवै पोथी गैँडा हुन् । ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अनाथ हुन पुगेको अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो । तिनीहरूलाई पुष्पा र अञ्जली नामकरण गरिएको छ ।
अहिले पुष्पा तीन वर्ष नौ महिना र अञ्जली दुई वर्ष छ महिनाका भएका छन् । ती गैँडा अहिले पनि मानव बस्तीमा आएर दुःख दिने गरेका छन् । तिनै गैँडा पठाउन लागिएको पुनले बताए । पछिल्लो गणनाअनुसार निकुञ्जमा छ सय ९४ गैँडा रहेको तथ्याङ्क छ । पछिल्लो गणनाका क्रममा यी गैँडा उद्धार गरेर ल्याइएकाले तथ्याङ्कमा समावेश गरिएको छैन । पछिल्लो गणनाअनुसार देशभर सात सय ५२ गैँडा रहेका छन् । हाल पठाउन लागिएका गैँडा हुर्किएपछि थप भाले पठाएर प्रकृतिमा छोड्ने योजना बनाइएको छ ।
निकुञ्जबाट यसअघि बर्दिया, शुक्लाफाँटा र विदेशीलाई उपहारमा गैँडा पठाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण