शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
उच्चस्तरीय छानबिन आयोग

एमालेको माग बमोजिम आयोग गठन गर्ने सहमति

आइतबार, १४ असोज २०८०, १२ : ०४
आइतबार, १४ असोज २०८०

काठमाडौँ । नेकपा एमालेको माग बमोजिम सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ । उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गर्नेबारे आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति भएको हो । 

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले सचेतक महेश बर्तौलालगायतको सहभागितामा बसेको बैठकले आयोग गठन गर्ने सहमति गरेको हो । एमाले सचेतक बर्तौलाले आयोगको कार्यादेश तीन महिनाको हुने जानकारी दिए । 

आयोगले विदेशबाट इलेक्ट्रिक सिगरेटमा सुन राखी अबैध पैठारी (तस्करी) गरिएको, साउन २ गते ब्रेकसुमा राखी तस्करी गरिएको सुन लगायत पटक पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई  स्वतन्त्र र निस्पक्ष छानबिन गर्ने बर्तौलाले जानकारी दिए । 

यस्तो तस्करीजन्य कार्यको पूर्णरुपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटकको सुन तस्करी सम्बन्धमा नेपाल सरकारका विभिन्न निकायबाट भएका छानबिन अनुसन्धानसमेतको अध्ययन गरी तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र सो कार्यमा संलग्न व्यक्तिका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएमा थप छानविन अनुसन्धान गरी कानून बमोजिम कारबाहीका आयोगले लागि सिफारिस गर्ने उनको भनाइ छ ।

सचेतक बर्तौलाले भने, ‘सुन तस्करीबारे एमालेसहितका विपक्ष दलहरूले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने मा गरेको थियो । त्यो मागमा सरकार र दलहरूबिच एउटा सहमति भएको थियो । असोज ५ गते बनाउने र त्यसै दिनबाट सो छानबिन सुरु गर्ने सहमति भएको थियो । असोजको छ गते टर्‍यो । आयोग बनेन । त्यसयता छलफलका प्रक्रियाहरू आरम्भ भए । आज सरकारले हामीलाई छलफलका लागि बोलायो । हामी प्रधानमन्त्रीज्यूको निवासमा छलफलमा जुट्यौँ । राष्ट्रिय मान्यताप्राप्त दलहरूसहितको उपस्थितिमा एउटा सहमति गरियो । त्यो सहमति अनुसार उच्च अदालतको पूर्वन्यायाधीशको नेतृत्वको कार्यदल बन्नेछ । आयोग बन्नेछ । त्यो आयोगले तीन महिना भित्र आफ्नो कार्य सम्पन्न गर्नेछ । त्यो आयोग आजै घोषणा हुनेछ । आजै हाउस चल्नुअघि क्याबिनेटले त्यो निर्णय गर्नेछ । र, आजको हाउस स्वाभाविक ढङ्गले जानेछ । र, बैठकको सुरुमै सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्ना कुराहरू राख्नुहुनेछ ।’

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन र संयुक्त राष्ट्र संघको महासभाको भ्रमणबारे सो आयोग बनाउने बारे पनि संसद्लाई जानकारी गराउने छन् । प्रधानमन्त्रीले संसद् बैठक आयोग बनाउने र आफ्नो विदेश भ्रमणबारे पनि जानकारी गराउने विषयमा पनि बैठकमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

उनले भने, ‘आयोगको कार्यादेशको बारेमा कुरा मिल्न सकेका थिएनन् । सम्माननीय प्रधानमन्त्रीज्यू आएपछि आज नै प्रमुख प्रतिपक्ष दलका नेतासहित सात राजनीतिक दलको नेताहरूबिचमा बसेर सहमति भएको छ । आज सदन पनि छ । त्यसमा उहाँले आयोग र आफ्नो विदेश भ्रमणको बारेमा जानकारी दिनुहुनेछ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप