महिला उद्यमी तथा व्यवसायी प्रभा कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद् हुन् । खस आर्य कोटाबाट प्रतिनिधि सभा सदस्य (सांसद) बनेकी प्रभा रास्वपाको ललितपुर जिल्ला उपसभापति समेत हुन् ।
नेपालको राजनीतिमा परिवर्तन सम्भव छ भन्ने विश्वासले उनी राजनीतिमा होमिएकी हुन् । पद, पहिचान, शक्तिका लागि नभई असल राजनीतिक संस्कार र जनताको हितमा सशक्त आवाज उठाउन संसद् पुगेको उनी बताउँछिन् ।
प्रस्तुत छ, रातोपाटीको ‘सांसदसँग’ स्तम्भका लागि प्रभासँग गरिएको कुराकानी :
पहिले व्यापार, व्यवसायमा हुनुहुन्थ्यो, अचानक किन सांसद बन्नुभयो ?
मन लाग्यो भन्दा पनि समयले एउटा एउटा अवसर जुटाउँदो रहेछ । मैले आफ्ना जिम्मेवारीहरू लगभग पूरा गरिसकेपछि अबको समय समाजका लागि छुट्ट्याएको हो । सांसद बनेर अब जनतालाई सेवा दिने ठाउँमा आइपुगेको छु । यो इच्छाभन्दा पनि समयको माग हो ।
सांसद बनिसकेपछि कस्तो अनुभव बटुल्नुभयो ?
आफू सांसद नहुँदा ‘ओहो ! यो त एकदमै ठुलो पद हो, एकदमै ठुलो ठाउँ हो’ जस्तो लाग्थ्यो । आफू सांसद भइसकेपछि यो ठाउँ ठुलोभन्दा पनि जिम्मेवारी धेरै भएको ठाउँ रहेछ भन्ने महसुस गरिरहेको छु ।
यसबिचमा संसद् सचिवालय र पार्टीले आयोजना गरेका विभिन्न तालिम पनि लिनुभयो । के–के कुरा सिकियो ?
तालिममा धेरै कुरा सिकियो । सांसद भइसकेपछि गर्नुपर्ने काम, जिम्मेवारीबारे थाहा भयो । हामीले जे कुरा पनि सिक्दै जाने हो, जन्मिँदै आमाको गर्भबाट सबै कुरा सिकेर आएको हुँदैन । त्यसैले हरेकले फिल्डमा सिक्नैपर्छ । संसदभित्र कसरी बोल्ने, कस्तो कुरामा ध्यान दिएर बोल्ने, के–के कुरा गर्र्ने, त्यसभित्रको नियम कानुन हुन्छ, त्यसलाई कसरी पछ्याउने भन्ने कुराहरू सिकियो ।
चुनावमा तपाईंका प्रतिबद्धताहरू के–के थिए ? जनतासँग के–के बाचा गर्नुभएको थियो ?
म समानुपातिक तर्फबाट सांसद् बनेको हो । त्यसैले मैले बाचा गरेको थिइनँ । समग्र नेपाली नागरिकले चाहेको परिवर्तन नै हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको मूल एजेन्डा हो भनेर हामी हिँड्यौँ । त्यो बाहेक झुटो आश्वासन दिने, तपाईंको घर अगाडि बाटो बनाइदिन्छु, बिग्रेको पुल बनाइदिन्छु, तपाईंका सबै कामहरू गर्छु भनेर झुटो आश्वासन दिएर कतै पनि हामीले भोट मागेनौँ ।
संसदमा कस्ता विषयमा आवाज उठाउन मन लाग्छ ?
म पहिलादेखि व्यवसायमा आवद्ध थिएँ । घरभित्र बसेका दिदी–बहिनीहरूले काम गरेर दुई–चार पैसा आर्जन गरुन् भन्ने मेरो उद्देश्य हुन्थ्यो । हामीले त्यसमा काम पनि गरेको हो । एउटा क्लिनिङ कम्पनीमार्फत हामीले धेरै दिदी–बहिनीलाई रोजगार पनि दिलायौँ ।
_GLPzCNBVyH.jpg)
श्रमिकले पाउनुपर्ने पारिश्रमिक नपाएको, सरकारले दिएको सुविधा पनि नपाएको कुराहरू मैले पहिलादेखि देख्थेँ । अहिले तिनै कुराहरूकै बारेमा प्रश्न उठाइरहेको छु । श्रमिकहरूले पाउनुपर्ने न्यूनतम् ज्याला पाउनुपर्छ, उहाँहरूलाई अधिकार दिनुपर्छ भन्ने कुरामा सदनमा आवाज उठाइरहेको छु ।
आफ्नो कार्यकाललाई अर्थपूर्ण र महत्त्वपूर्ण बनाउन के–के काम गर्ने योजना छ ?
सबै नेपालीले रास्वपाले सुशासन ल्याउँछ भनेर पूर्ण विश्वस्त भएर हामीलाई संसदमा पठाएको हो । सुशासन ठुलोदेखि सानोसम्म सबैले बराबर पाउनुपर्छ ।
ठुलोलाई नियम–कानुन नै नलाग्ने, सानोलाई मात्र लाग्ने भन्ने जुन भाष्य निर्माण भएको थियो, त्यो तोडिनुपर्छ । श्रमजीवीहरूका समस्याहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ ? भुइँ मान्छेहरूले पाउनुपर्ने चिजहरू पाएका छन् कि छैनन् भन्ने कुरामा म एकदमै धेरै केन्द्रित भएर समाधानमा लाग्नेछु ।
जनतासँग घुलमिल गर्न, गुनासो सुन्न कत्तिको समय पाइरहनु भएको छ ?
मैले धेरैभन्दा धेरै समय नै नेपाली जनताहरूलाई दिएको छु । मेरो एउटा विशेषता के हो भने मलाई सिधै मोबाइलमा फोन गर्नुस् भनेको छु । म उहाँहरूको फोन, म्यासेजको रेस्पोन्स गर्छु । मैले गर्न सक्ने कुराहरू के–के छ, समिति होस् वा मन्त्रालयमा कहाँ–कहाँ गएर भन्नुपर्ने कुरा हो, त्यो मैले गरिरहेको छु । म जनतासँग एकदमै नजिक छु जस्तो लाग्छ ।
विशेषगरी आफूले प्रतिनिधित्व गरेको जिल्ला र देशबासीलाई के सन्देश दिनुहुन्छ ?
जनताहरू अलि हतारमा हुनुहुन्छ, किनभने यो ३०–४० वर्षदेखिको जुन बेथिति, भ्रष्टाचार, अनियमितता छ, त्यसले जनतामा निराशा पैदा गरेको छ । जनताले चाहेका कुरा कतै पनि लागु नहुने, ठुलाबडाकै रजगज थियो । म जनतालाई के भन्छु भने हामीले भर्खरै तीन महिना पूरा गरेका छौँ । हामीले गर्नुपर्ने काम धेरै छ । यो पाँच वर्षको समयमा ४० वर्षको बेथितिलाई थिति बसाउनको लागि पर्याप्त समय होइन । त्यसैले हामीलाई काम गर्ने मौका दिनुहोस् । हामी तपाईंहरूको काम, अपेक्षा र विश्वासलाई एकदमै राम्रोसँग गर्नेछौँ भन्ने विश्वास दिलाउन चाहन्छु ।
प्रतिक्रिया