आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
संसद बैठक

‘भ्रष्टाचारको फाइल खोल्छु र बन्द गर्छु भनेर सरकारले भ्रष्टाचार गरिरहेको छ’

संसदमा ओलीको प्रश्न : कस्तो नाटक मञ्चन, कस्तो तमासा ?
मङ्गलबार, १६ असोज २०८०, १६ : १५
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे २ वर्षमा २ वटा सरकारले गरेका कामको उपलब्धिहरू तथ्य तथ्यांकमा नेपाली जनतासामु पेश गर्न संसदमार्फत माग गरेका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा सरकारका हरेक कामकारबाहीप्रति प्रश्न गर्दै ओलीले राजनीति र अपराधमा फरक देखिन छाडेको बताए । 

‘साढे दुई वर्ष नेपालको शासन हातमा लिएको यो गठबन्धनले यसअबधिमा आफूले प्राप्त गरेको होइन देश र जनताको हितका लागि गरेका कार्यहरु उपलब्धिहरू, नतिजाहरु यस गरिमामय सदनलाई जानकारी दिन म माग गर्दछु’, ओलीले संसदमार्फत सरकारसँग माग गरे ।

उनले तथ्य र तथ्यांकमा ती विषयहरु राख्नुपर्ने पर्ने बताए । 

‘फेरि पनि मैले भनेको छु–तथ्य तथ्यांक र अङ्कमा कुरा गरौँ’, उनले भने, ‘यतिकै उपलब्धि भएको छ, सकारात्मक संकेत देखिएको छ भनेर हुँदैन ।’

जनताको जीवनस्तरमा के कति सुधार आयो भनेर प्रश्न गर्दै ओलीले भने, ‘कति गरिबी निवारण भयो ? कतिलाई निरपेक्ष गरिबिको रेखाभन्दा माथि उठाउनुभयो ?कति उद्योगहरु स्थापना गर्नुभयो ? कति किलोमिटर बाटो बन्यो, कति हवाई मैदान स्तरोन्नति भयो कि के भयो ?’

अस्पताल, विद्यालय कति बने भन्दै उनले दैनिक कति किलोमिटर बाटो कालोपत्रे गर्नुभयो भन्दै ओलीले सरकारलाई प्रश्न गरे । 

अध्यक्ष ओलीले नेपालमा काम गरिरहेका एक हजार डाक्टरले एकैचोटी देश छोड्न पासपोर्ट बनाउन लागेको भन्दै त्यति धेरै डाक्टरहरुले देश छोड्न लाग्दा पनि सरकारले नसुनेको बताए । 

उनले परराष्ट्र नीति र सम्बन्धमा समेत सुधार गर्न नसकेको भन्दै डाक्टर र दक्ष जनशक्ति भाग्ने अनि हातपाउ बसेकाहरु मात्रै यहाँ बस्ने अवस्था बनिरहेकाले सरकार हराएको बताए । 

‘यहाँ सरकार हराएको छ, सरकार प्रमुख खोज्नुपर्ने भएको छ’, ओलीले भने, ‘अपराधीहरुले माफी पाएका छन्, उन्मुक्ति पाएका छन् । नियुक्ति पाएका छन् । गजब छ ।’ 

उनले यही हो डेमोक्रेसी भन्दै समाजवादको आधार निर्माण यसरी नै हुन्छ भनेर प्रश्न गरे । ‘यो सरकारलाई इतिहासको कुन सकारसँग तुलना गर्ने ? राजनीति र अपराधमा फरक देखिन छोडेको छ । आर्थिक संकट एकातिर, शान्ति सुरक्षा विग्रदो अर्कातिर । संविधान कानुन र राज्यप्रणाली नचिनेका बिचौलिया र गठबन्धनका परिवारका सदस्यहरुले शासनको निर्णय गरिरहेका छन्’, ओलीको भनाइ छ ।  

उनले मूल्यवृद्धि र कालोबजारी मौलाएको तथा सेवा प्रवाह अस्तव्यस्त भएको पनि बताए । ‘बन्दाबन्दैका बाटो निर्माण रोकिएका छन्, बन्छ भनेर के खुसी हुने ? सरकारी संयन्त्र स्वेच्छाचारी छ । गठबन्धनको शासनलाई के शासन भन्ने ? केलाई सुशासन भन्ने ?’, ओलीले प्रश्न गर्दै भने, ‘सुशासनका लागि अभियान चलाएको भनेर भाषण सुनेको थिएँ । यही एसिड छर्ने, खुँडा चलाउनेलाई मिनाहा गर्ने हो सुशासन अभियान ?’ उनले सरकारको यो कार्यशैलीको एमालेले विरोध गर्ने पनि बताए । ‘सरकारले चलाएको शुसासनको होइन कुशासनको अभियान हो’, ओलीले भ्रष्टाचारको अनुसन्धान गर्ने भनेर ललिता निवासको सार्वजनिक सम्पत्ति आफ्नो बनाउनेलाई खोजविन नगरी अरुलाई मुद्दा चलाएकोमा आक्रोश पोखे । ‘भ्रष्टाचारीलाई कारबाहीको बहानामा क्लिन चिट दिएर भ्रष्टाचार भइरहेको छ । जसलाई मुद्दा दर्ता गरियो तिनले त उन्मुक्ति पाउनलान् नै’, उनले भने, ‘खास भ्रष्टाचारीलाई त मुद्दा नै दर्ता नै छैन । भ्रष्टाचारको फाइल खोल्छु र बन्द गर्छु भनेर भ्रष्टाचार गरिरहेको छ । बाहिर कारबाही गर्छु भनेर माहोल बनाउने भित्र भ्रष्टाचार, तस्करी र लुट मच्चाइरहेको छ । कस्तो नाटक मञ्चन, कस्तो तमासा ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप