बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

प्रभाव पार्न सक्ने खेलाडी – बास डी लिड (नेदरल्यान्ड्स)

शुक्रबार, १९ असोज २०८०, ११ : १०
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । पाँचौँ पटक आईसीसी एकदिवसीय विश्वकपमा सहभागिता जनाइरहेको नेदरल्यान्ड्सले सबैभन्दा बढी भरोसा गरेको खेलाडी हुन्, बास डी लिड । २४औँ वर्ष प्रवेशको सङ्घारमा रहेका यी अलराउन्डरको प्रदर्शनले विश्वकपमा नेदरल्यान्ड्सको भविष्य निर्धारण गर्नेछ ।

बास डी लिड नेदरल्यान्ड्सको टोलीका यस्ता खेलाडीहरू जसले जुनसुकै राष्ट्रविरुद्ध पनि खुलेर आफ्नो ब्याट चलाउन सक्छन् । झन् पाकिस्तानविरुद्घको खेलमा त उनको ब्याटिङ र बलिङ दुवै उत्कृष्ट रहँदै आएको छ । 

उनी पाकिस्तानविरुद्धको एकदिवसीय खेलमा सबैभन्दा बढी रन बनाउने सबैभन्दा बढी विकेट लिने खेलाडी हुन् । उनले पाकिस्तानविरुद्धको एउटै एकदिवसीय खेलमा एक सय २० बलको सामना गरी ८९ रन बनाएका छन् । 

यसैगरी उनले पाकिस्तानविरुद्धको खेलमा नौ ओभर बलिङ गर्दै ५० रन खर्चिएर तीन विकेट पनि लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसिएट सदस्य राष्ट्र नेदरल्यान्ड्सका यी प्रभावशाली खेलाडीले देशका लागि हालसम्म ३० वटा एकदिवसीय प्रतियोगिता खेलेका छन् । 

उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २७.३२ को औसतले कुल सात सय ६५ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनले एक शतक र दुई अर्धशतक पनि बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनको उच्च स्कोर एक सय २३ रन हो ।

यसैगरी उनले नेदरल्यान्ड्सका लागि ३१ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । टी—२० मा उनले २८ पाली खेल्दै ३०.५० को औसतले कुल ६ सय १० रन बनाएका छन् । टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले चारवटा अर्धशतक पनि बनाएका छन् । टी—२० प्रतियोगितामा उनको उच्च स्कोर अविजित ९१ रन हो । 

यसका अतिरिक्त उनी दायाँहाते मध्यमतेज गतिका बलर पनि हुन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २४ विकेट लिएका छन् । टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि बास डी लिडले २७ वटा विकेट हात पारिसकेका छन् । त्यसैले नेदरल्यान्ड्सले १३औँ विश्वकपमा पनि उनलाई आफ्नो मुख्य हतियारका रूपमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप