बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ऐतिहासिक रजत दिलाउने १९ वर्षीया एरिका भन्छिन्- ‘अझै धेरै गर्नुछ, यो एउटा स्टेप मात्र हो’

शनिबार, २० असोज २०८०, २१ : ३४
शनिबार, २० असोज २०८०

काठमाडौँ । नेपाली कराते खेलाडी एरिका गुरुङले १९ औँ एसियाली खेलकुदमा शनिबार ऐतिहासिक रजत पदक जितेकी छन् । हाङझावस्थित लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाएकी हुन् ।

फाइनलमा एरिका काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अङ्कले पराजित भइन् । यसअघि एरिकाले सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ अङ्कले हराउँदै स्वर्ण भिडन्त पक्का गरेकी थिइन् । एरिकाले नेपालका लागि एसियाडको करातेमा जितेको यो पहिलो रजत पदक हो । एसियाडको इतिहासमा नेपालको यो समग्रमा तेस्रो रजत हो ।

यसअघि नेपालका लागि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ को बैंकक एसियाडमा व्यक्तिगत रजत र १८ औँ एसियाली खेलकुदमा नेपालको प्याराग्लाइडिङ पुरुष टोलीले टिम स्पर्धामा रजत जितेको थियो । नेपालका लागि यो समग्रमा तेस्रो र व्यक्तिगत स्पर्धामा भने दोस्रो एसियाड रजत पदक हो ।

कराते एसियाडमा नेपालका लागि पदक दिलाउँदै आएको खेल हो । यसअघि सन १९९४ मा जापानको हिरोशिमामा भएको एसियाडमा करातेबाट सीता राई, सन् १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र सन् २०१४ को इन्चोन एसियाडबाट विमला तामाङले कास्य पदक दिलाएका थिए ।

नेपाली टोलीका सेभ दि मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एरिकालाई ऐतिहासिक पदक जित्न सफल भएकोमा बधाइ दिदै एरिकाले सिंगो राष्ट्रको शिर उचो बनाएको बताए ।

‘मैले आफुले सकेको प्रदर्शन गरे । फाइनलमा सोफ्याले राम्रो खेलिन् । आगामी दिनमा झन् धेरै कडा मिहिनेत गर्नेछु,’ एरिकाले भनिन्, ‘मैले फाइनल खेलाई हार भन्दापनि एउटा पाठको रुपमा लिएको छु । यसले मलाई थप मोटिभेसन दिएको छ ।’

एरिकाले थप एक्सपोजर पाउँदै गए अन्य नेपाली खेलाडीले पनि राम्रो गर्न सक्ने बताइन् । ‘देशका लागि पदक जित्न सक्दा मैले आफूलाई भाग्यमानी ठानेकी छु । गर्वको अनुभूति भइरहेको छ । अझै धेरै गर्नुछ, यो एउटा स्टेप मात्र हो,’ १९ वर्षीया एरिकाले भनिन् ।

नेपाली टोलीका प्रशिक्षक एवं साग स्वर्णधारी कुशल श्रेष्ठले नेपाललाई प्रशिक्षकको रुपमा रजत दिलाउन पाउँदा ज्यादै खुसी लागेको बताए । ‘कराँतेले ऐतिहासिक पदक जितेको छ । हामीले जसको भिडियो हेरेर खेलेका थियौँ, फाइनलमा उसैसँग खेल्न पाएका छौँ । यसलाई अझ अपग्रेड गरेर अगाडि बढे अर्को पटक स्वर्ण पदक जित्न सकिन्छ,’ कुशलले भने ।

शनिबारै नेपालका सन्तोष श्रेष्ठ  पुरुष ६७ केजीमुनि तौल समूहको प्रिक्वाटरफाइनलमा थाइल्यान्डका फियन्डी चाईवाटसँग ३–२ अङ्कले पराजित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप