शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काप्रीखोला–काँशिकाध जोड्ने पुल नबन्दा सास्ती

शुक्रबार, २६ असोज २०८०, १५ : ५५
शुक्रबार, २६ असोज २०८०

दैलेख । दैलेखको दुर्गम मानिएको महावु गाउँपालिकाको वडा नं ४ को काप्रीखोला र ५ को काँशिकाध जोड्ने पक्की पुल नबन्दा स्थानीयले सास्ती भएको छ । निर्माण कम्पनीको लापरवाहीका कारण समयमै पुन नबन्दा आवागमनमा सास्ती भएको स्थानीय बताउँछन् ।

दैनिक पाँच सयभन्दा बढी नागरिक आवतजावत गर्ने उक्त पुल निर्माणमा ढिलाइ हुदाँ वर्षाको समयमा काप्रीखोला र काँशिकाधमा आवागमनमा समस्या हुने गरेको छ । यहाँका नागरिकले बिरामी पर्दा समेत तुरुन्तै स्वास्थ्य संस्थामा पुर्‍याउन नसकिने उनीहरु बताउँछन् ।

“सधैँभरि सास्ती भोगेका यहाँका बासिन्दा पक्की पुल बनेपछि सहज यात्रा गर्ने आसमा थिए । यात्रा सहज हुनुभन्दा झन वर्षामा सास्ती हसने गरेको छ”, महावु–५ का वडाध्यक्ष दीपबहादुर शाहीले भने, “ठेकादारको गैरजिम्मेवारीका कारण यहाँका सडक, स्वास्थ्य भवनको काम प्रभावकारी भएको छैन । पक्की पुल तथा विद्युत्का पोल अलपत्र अवस्थामा छन् ।”

निर्माण कम्पनीले काम सम्पन्न नगरे यहाँका नागरिकले आन्दोलनमा उत्रने चेतावनी दिएका शाहीको भनाइ थियो । उनका अनुसार रू तीन करोड २५ लाखमा निर्माण गर्नुपर्ने उक्त पुलमा हालसम्म एउटा मात्र पिलर निर्माण गरिएको छ । 

पुल, स्वास्थ्य भवनलगायत पूर्वाधार समय सम्पन्न गर्न भन्दै निर्माण कम्पनीका प्रतिनिधि कुलबहादुर वलीलाई छ पटक पत्र पठाइसकिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । अन्तिमपटक म्याद थपको तयारी गरिएको भन्दै अब पनि काम नगरे कालोसूचीमा राख्नका लागि सिफारिस गर्ने तयारी भइरहेको कार्यालयका इन्जिनियर पारस डाँगीले बताए ।
 
“दुर्गममा बिजुली पुर्‍याउने भन्दै लगिएका बत्तीको पोल बाटोमा लथालिङ्ग अवस्थामा छन्”, वडा नं ४ का वडाध्यक्ष रामबहादुर शाहीले भने, “बारम्बार भनेका छौँ । हामीले भनेको ठेकेदारले सुनुवाइ गर्दैन । सडक, पुल, विद्युत्का पोललगायत संरचनाका कारण स्थानीयलाई आवागमनमा सास्ती भएको छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप