बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मिडिया सोसाइटीको आक्षेपप्रति पत्रकार महासंघको  ध्यानाकर्षण

बिहीबार, ०२ कात्तिक २०८०, २१ : ४८
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपबाट बलपूर्वक निष्काशन तथा गैरकानुनी सरुवा गरिएका पत्रकारको अधिकार प्राप्तिका लागि नेपाल पत्रकार महासङ्घले गरिरहेको भद्र आन्दोलनका बारेमा नेपाल मिडिया सोसाइटीको नाममा आएका आक्षेप र टिप्पणीप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घले आज विज्ञप्ति जारी गरी सोसाइटीले जारी गरेको विज्ञप्ति आम श्रमजीवी पत्रकारको कानुनी अधिकारका साथै नेपाल पत्रकार महासङ्घमाथि प्रहार गर्ने उद्देश्यले प्रेरित  रहेको निष्कर्ष निकालेको छ ।

“कान्तिपुरमा कार्यरत ८२ जना पत्रकारलाई श्रमजीवी पत्रकार ऐनको विरुद्ध निष्काशन र सरुवा गरिएको विषयलाई बिर्सिएर महासङ्घ विरुद्ध गरिएका अनेकौँ कुतर्कको कुनै अर्थ नरहने स्पष्ट छ । सोसाइटीको नाममा आएको स्तरहीन विज्ञप्तिप्रति थप टिप्पणी गर्न महासङ्घ आवश्यक ठान्दैन, सोसाइटीमा आबद्ध सदस्य संस्थामा श्रमजीवी ऐनलगायतका कानुन पालना नभएकाबारे महासङ्घमा गुनासो छ”, विज्ञप्तिमा भनिएको छ । 

श्रमजीवी पत्रकार ऐन आफ्नो संस्थामा तत्काल कार्यान्वयन गर्न महासङ्घले सोसाइटीको ध्यानाकर्षण गराएको छ । साथै, केही दिनदेखि विभिन्न नाममा महासङ्घ विरुद्ध भएका मिथ्या प्रचारले कान्तिपुरभित्र सम्पादकीय स्वतन्त्रता गम्भीर सङ्कटमा परेको महासङ्घको निष्कर्ष छ ।

“नेपाल पत्रकार महासङ्घले कान्तिपुर मिडिया ग्रुपमा थालेको आन्दोलन स्वरुप परिवर्तन गरेको छ, कात्तिक ३ गतेदेखि ‘डिजिटल प्लेटफर्म’ मार्फत आन्दोलन जारी राख्ने निर्णय गरिएको जानकारी गराइन्छ, दसैँ बिदा पश्चात आन्दोलनलाई अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाज र नागरिक तहलाई जोड्दै थप सशक्त र परिणाममूखी बनाइने छ” विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप