शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बराहपोखरीबाट एक करोड ७५ लाख रुपैयाँको खसी बिक्री

शनिबार, ०४ कात्तिक २०८०, ०८ : ०२
शनिबार, ०४ कात्तिक २०८०

खोटाङ । दसैँतिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट रु एक करोड ७५ लाख बढीको खसी काठमाडौँ निर्यात भएको छ । खसीबाख्रापालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले आठ सय ७५  खसी काठमाडौँ पुर्‍याएका छन् ।

एउटा खसीको सरदर मूल्य रु २० हजार मान्दा रु एक करोड ७५ लाखभन्दा बढी रकम पालिका भित्रिएको बराहपोखरी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख आशिष बञ्जराले जानकारी दिनुभएको छ । खसी खरिदका लागि ठेकेदारको समूह गाउँपालिकाका छवटै वडाका किसानको घर–घरमा पुगेका थिए । 

दसैँतिहारका अवसरमा घरैमा खसी बिक्री हुँदा कतिपय एकैघरका किसानले रु पाँच–छ लाखसम्म हात पारेका छन् । कतिपय किसानले एउटै खसी ८० केजी तौलसम्मका बिक्री गरेका छन् । किसानबाट खरिद गरिएको खसीलाई ठेकेदारले धाप्लाङघाटस्थित सुनकोसी पार गराएपछि आठवटा ट्रक र दुईवटा बोलेरोमा हालेर अन्यत्र लगेका थिए । उनीहरुले खसीलाई धाप्लाङघाटसम्म हिँडाएर पुर्‍याएका थिए । 

कतिपय खसी यही कात्तिक १ गते बिहान र कतिपय खसी कात्तिक २ गते बिहान काठमाडौँ पुर्‍याएको पशु सेवा शाखा प्रमुख बञ्जराले जानकारी दिए । कतिपय किसानले आफँै उदयपुरको गाईघाटमा लगेर खसी बिक्री गरिरहेका छन् ।

दश स्थानीय तह रहेको जिल्लाबाट यस वर्षको दसैँतिहारका अवसरमा करोडौँ मूल्य बराबरको खसी निर्यात भएको बाख्रापालन व्यवसायी सङ्घ खोटाङले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो समय व्यावसायिकरूपमा बाख्रापालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप