बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

बाबर आजमलाई हारको भागिदार बनाउनु कति जायज ?

बिहीबार, ०९ कात्तिक २०८०, १६ : १७
बिहीबार, ०९ कात्तिक २०८०

विमल कुमार

धेरै लामो समय बितेको छैन । भारतीय खेलाडी विराट कोहलीले पाकिस्तानी टोलीका कप्तान बाबर आजमलाई विश्व क्रिकेटकै सबैभन्दा उत्कृष्ट ब्याट्सम्यानको संज्ञा दिएका थिए । उनले आजमलाई तीनवटै ढाँचाको क्रिकेटका सबैभन्दा उत्कृष्ट ब्याट्सम्यान भनेका थिए । अनि, कोहलीले यो यथार्थ स्वीकार्न कुनै अप्ठ्यारो पनि मानेका थिएनन् ।

कोहली जे मनमा लाग्यो त्यो बोल्दै हिँड्ने व्यक्ति पक्कै पनि होइनन् । त्यसमाथि विश्व क्रिकेटमा पटक—पटक बाबर आजमको तुलना कोहली आफैसँग हुँदै आएको थियो । कोहलीले भनेकाले मात्र बाबर आजमले उत्कृष्ट खेलाडीको संज्ञा पाएका भने होइनन् ।

आफूलाई विश्व क्रिकेटको उत्कृष्ट ब्याट्सम्यानका रूपमा उभ्याउन बाबर आजमले निकै ठुलो सङ्घर्ष पनि गरेका छन् । उनी अहिले पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ब्याट्सम्यान वरीयतामा नम्बर एक स्थानमा विराजमान छन् ।

babar azam (1)

 तर, अहिले बाबर आजमको त्यही नम्बर एक पगरी स्वयं पाकिस्तानी क्रिकेट समर्थकमाझ आलोचनाको विषय बन्न पुगेको छ । पाकिस्तानी समर्थकको तर्क छ, यदि विश्वकपमा कप्तान आफैले उत्कृष्ट पाली खेल्न सक्दैनन् भने विश्वको नम्बर एक ब्याट्सम्यानको पगरी गुथ्नुको कुनै तुक छैन ।

चौतर्फी आलोचना

भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा हालसम्म पाँच खेल खेलेको पाकिस्तानले तीन खेलमा पराजय भोगिसकेको छ । आफ्नो पछिल्लो खेलमा त पाकिस्तानी टोली तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानसँग आठ विकेटले पराजित भएको थियो ।

 अफगानिस्तानसँगको त्यो हारपछि त पाकिस्तानी कप्तानको आलोचना झनै चुलिएको छ । बाबर आजमका लागि अवस्था कतिसम्म निराशाजनक बन्न पुगेको छ भने टोलीका पूर्वखेलाडीहरु नै उनीविरुद्ध खनिन थालेका छन् ।

पाकिस्तानी टोलीका पूर्वकप्तान राशिद लतिफले त बाबर आजमको तुलना कोहलीको निकै खराब समयसँग गरेका छन् । कुनै समय कोहली भारतीय टोलीका कप्तान थिए । कोहली कप्तान हुँदा एकताका उनी ‘ड्रेसिङ रुम’ मा अन्य कुनै खेलाडीको सुझाव मान्दैनन् भन्ने आरोप लाग्ने गर्थ्यो । कोहलीको त्यही नकारात्मक पक्षसँग अहिले राशिद लतिफले बाबर आजमको तुलना गरेका हुन् ।

babar azam (3)

 राशिद अतिफभन्दा पनि एक कदम अगाडि बढेर पाकिस्तानी टोलीका तीव्र गतिका पूर्वबलर आकिब जावेदले त बाबर आजम कप्तानको लागि नै उपयुक्त पात्र नभएको दाबी गरेका छन् । आकिब जावेदले बाबर आजमभन्दा त साहिन शाह अफरिदीलाई कप्तानको जिम्मेवारी दिनु उपयुक्त हुने बताएका छन् ।

खासगरी पछिल्लो समय बाबर आजममाथि भइरहेको निरन्तरको आक्रमण दक्षिण एसियाली क्रिकेट संस्कृतिका लागि नौलो कुरा भने होइन । किनभने यो क्षेत्रमा कुनै पनि टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसके त्यसको सम्पूर्ण दोष कप्तानको काँधमा थोपर्ने परम्परा नै बसिसकेको छ ।

 यसको विपरीत कप्तान कस्तो टोलीको नेतृत्व गर्दै ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदैछ भन्ने महत्वपूर्ण विषयलाई कसैले ध्यान दिएको पाइँदैन । विश्व क्रिकेटमा एउटा भनाइ पनि छ, ‘कुनै पनि कप्तान त्यति नै सफल देखिन्छ जति उसका टोलीका खेलाडीहरु सफल हुन्छन् ।’ यसको अर्थ, टोलीका खेलाडीहरूले गर्ने प्रदर्शन नै कप्तानको मुहारमा प्रतिबिम्बित हुने हो ।

भारतीय टोलीले पनि भोगेको थियो यस्तो नियति

धेरै टाढा भौँतारिनु आवश्यक छैन । भारतीय टोलीकै उदाहरण हेर्दा पनि हुन्छ । भारतीय टोली पनि पटक—पटक खराब समयबाट अगाडि बढ्दै आजको स्थितमा आइपुगेको हो । आज भारतीय टोलीका कप्तान रोहित शर्माको प्रशंसा गरेर नअघाउने व्यक्तिहरूको जमात निकै ठुलो छ ।

तर, आजभन्दा ठिक एक वर्षअघि उनै रोहित शर्मा सबैभन्दा बढी आलोचनाको सिकार बनेका थिए । यति मात्र होइन, भारतीय टोलीका पूर्वकप्तान एवं हालका प्रमुख प्रशिक्षक राहुद द्रविड पनि यसको सशक्त उदाहरण हुन् । उनी पनि कुनै समय व्यापक आलोचनाको सिकार बनेका थिए ।

rohit sharma

ठ्याक्कै भन्नु पर्दा अस्ट्रेलियामा आयोजित टी—२० विश्वकपपछि भारतीय टोलीले निरन्तर असफलता भोगिरहेको समय थियो, त्यो । तर, धेरै क्रिकेट विश्लेषकले त्यतिबेला जसप्रित बुमराहको अभावलाई ध्यान दिएका थिएनन् । बुमराहजस्ता प्रभावशाली एउटा खेलाडीको अनुपस्थिति टोलीका लागि कति घातक हुन्छ भन्ने कुरा एउटा कप्तानभन्दा बढी कसैले बुझ्न सक्दैन ।

तर, अहिले भारतीय टोलीको अवस्था फेरिएको छ । बुमराहमात्र होइन, अहिले त मोहम्मद सामी, मोहम्मद सिराज, अलराउन्डर रवीन्द्र जडेजा, पूर्वकप्तान विराट कोहली भारतीय टोलीमा पूणर्रुपमा छाएका छन् । उनीहरूकै उत्कृष्ट प्रदर्शनमा भारतले एकपछि अर्को सफलता हात पार्दै आएको छ ।

त्यसैले हार्दिक पाण्डेया घाइते हुँदा पनि त्यसको असर भारतीय टोलीमा परेको देखिँदैन । अहिले यदि कुनै खेलमा सूर्यकुमार यादब, शुभमन गिल, श्रेयस ऐयर, शार्दुल ठाकुर वा रविचन्द्रन आश्विनजस्ता खेलाडी चल्न सकेनन् भने पनि भारतीय टोलीलाई खासै फरक परेको देखिँदैन ।

अहिले बाबर आजमसँग औसत टोलीमात्र छ

अहिले विश्वकप यात्रामा होमिएको बाबर आजमको टोलीलाई हामी सबैले देखेका छौँ । पाकिस्तानी टोलीले निकै आशा गरेको खेलाडी हुन्, साहिन शाह अफरिदी । तर, उनले अस्ट्रेलियाविरुद्ध लिएको पाँच विकेटलाई अपवाद मान्ने हो भने अन्य खेलमा उनको औसत सामान्य छ ।

यतिसम्म कि भारत र अफगानिस्तानविरुद्ध पनि साहिन शाह अफरिदीको प्रदर्शन उत्कृष्ट स्तरको देखिएको थिएन । ब्याटिङतर्फ पनि मोहम्मद रिजवान र अब्दुल्लाह शफिकवाहेक अन्य पाकिस्तानी ब्याट्सम्यानले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् ।

edca6540-73c5-11ee-b315-7d1db3f558c6

 

अन्य खेलाडीको प्रदर्शन पनि उच्च स्तरको देखिएको छैन । अनि यस्तो अवस्थामा प्रशिक्षक वा कप्तानले अन्तिम ११ खेलाडीको छनोट कसरी गर्ने ? पाकिस्तानी टोलीको सबैभन्दा प्रभावशाली पक्ष भनेको तीव्र गतिका बलिङ नै हो । यो विश्वकपमा त्यही पक्ष कमजोर देखिएको छ ।

अनि, त्यसको भागिदार पनि कप्तान बाबर आजमलाई नै बनाइँदै छ । सायद, यसलाई एउटा कप्तानमाथि गरिएको अन्याय भन्दा पनि हुन्छ । पाकिस्तानी टोलीका पूर्वकप्तान एवं आफ्नो समयका चर्चित बलर वसिम अकरम र वकार युनुस आफैलाई पनि यो यथार्थ राम्ररी थाहा छ । त्यसैले उनीहरू पनि अहिले निराश देखिन्छन् ।

साहिन शाह अफरिदीले जारी विश्वकपमा हालसम्म १० विकेट त लिएका छन् तर, उनको ‘ईकोनोमी रेट’ हेर्दा प्रतिओभर करिब ६ रन देखिन्छ । जबकी भारतका जसप्रित बुमराहले हालसम्म १२ विकेट लिएका छन् र उनको ‘ईकोनोमी रेट’ चार रनभन्दा पनि कम छ ।

हसन अली र ह्यारिस रउफले पनि हालसम्म आठ—आठ विकेट लिएका छन् । तर, उनीहरूको ‘ईकोनोमी रेट’ पनि प्रतिओभर ६ रनभन्दा बढीको हाराहारीमा छ । स्पिनरका रूपमा अहिले पाकिस्तानी टोलीमा सदाब खान, मोहम्मद नवाजजस्ता खेलाडी छन् । तर, उनीहरूले अहिलेसम्म केवल दुई—दुई विकेट लिएका छन् । उनीहरूको ‘ईकोनोमी रेट’ निकै बढी देखिन्छ ।

इफ्खिार अहमद र उसमा मिरको प्रदर्शन त झनै निराशाजनक देखिन्छ । टोलीको यस्तो प्रदर्शनलाई हेर्दा त्यसको दोष केवल कप्तानको काँधमा थोपर्नु कति उपयुक्त होला ? के यस्तो टोलीलाई लिएर वकार युनिस वा वसिम अकरमले पाकिस्तानलाई सेमिफाइनलसम्म पुर्‍याउन सक्थे होलान् ? सायद सक्दैन थिए ।  

त्यसैले अहिलेको अवस्थालाई राम्ररी बुझेका पाकिस्तानी टोलीका ब्याटिङ प्रशिक्षक मोहम्मद युसुफ कप्तान बाबर आजमको बचाउमा ओर्लिएका छन् । मोहम्मद युसुफ आफै पनि पाकिस्तानी टोलीका पूर्वकप्तान हुन् । मोहम्मद युसुफका अनुसार, अहिलेको हारको दोष केवल कप्तान बाबर आजमलाई दिँदा उनीमाथि अन्याय हुन जान्छ ।

बाबर आजमलाई समर्थन आवश्यक छ

बाबर आजम अहिलेको स्थितिमा पूणर्रुपमा दोषमुक्त छन् भन्ने पनि होइन । उनको पनि केही कमजोरी छन् । उनको कप्तानीमा पनि केही समस्या होलान् । त्यसैले उनको आलोचना हुनु पनि पर्छ । तर, आलोचनाको नाममा निरन्तर उनलाई खेद्नु भने राम्रो होइन ।

आलोचना पनि रचनात्मक रूपमा गर्न सकिन्छ । पाकिस्तानी समर्थकले यो तथ्य बिर्सनु हुँदैन कि आज पाकिस्तानलाई विश्व क्रिकेटको उत्कृष्ट टोली बनाउनमा उनै बाबर आजमको महत्त्वपूर्ण भूमिका रहेको छ । उनी आफै पनि अहिले पाकिस्तानी टोलीका शान हुन् ।

यसै वर्ष बाबर आजम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हासिम अमला र भिभ रिचर्डसजस्ता महान् ब्याट्सम्यानलाई पछि पार्दै सबैभन्दा छिटो पाँच हजार रन बनाउने खेलाडी बनेका थिए । विराट कोहली र रोहित शर्माजस्ता धुरन्धर खेलाडीले पनि पछिल्लो समय बाबर आजमको आईसीसी वरीयतालाई चुनौति दिन सकिरहेका छैनन् ।

babar azam (2)

केही महिना पहिलेसम्म बाबर आजम टी—२० अन्तर्राष्ट्रिय र टेस्ट वरीयतामा समेत माथिल्लो पाँच स्थानभित्र परेका थिए । इन्जमाम उल हकले सक्रिय खेल जीवनबाट सन्न्यास लिएपछि बाबर आजम एकमात्र यस्ता पाकिस्तानी ब्याट्सम्यान हुन्, जसले विश्व क्रिकेटमा आफ्नो फरक पहिचान बनाएका छन् ।

पाकिस्तानी क्रिकेटका लागि पनि यो आफैमा गौरवको विषय हो । तर, दुःखपूर्वक भन्ने पर्छ, पाकिस्तानी क्रिकेटले यो यथार्थलाई बुझ्न सकिरहेको छैन । पाकिस्तानी क्रिकेट र समर्थकबाट बाबर आजमले जुन सम्मान पाउनु पर्थ्यो त्यो उनले पाउन सकिरहेका छैनन् । जारी विश्वकपमा आफूले खेल्न बाँकी सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढ्न सके बाबर आजमको सम्मान कायम रहन्थ्यो कि !

(बीबीसी हिन्दी सेवाबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप