शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीकै कार्यक्रमका वक्ताले रौतहटमा तस्करी बढेको भनेपछि...

आइतबार, १२ कात्तिक २०८०, १७ : २९
आइतबार, १२ कात्तिक २०८०

रौतहट । तस्करहरूले खुला सिमानाको फाइदा लिइरहेको रौतहटस्थित प्रहरीकै एक कार्यक्रममा वक्ता जनप्रतिनिधिले गुनासो गरेका छन् । रौतहटस्थित सशस्त्र प्रहरी बल ११ नम्बर ११ हेक्वाद्वारा बौधीमाई नगरपालिका बंकुलमा शनिवार आयोजित सीमावासीसँग सशस्त्र प्रहरी विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकांश जनप्रतिनिधिहरूले उक्त गुनासो गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि बौधीमाईका मेयर प्रदीप कुमार यादवले खुल्ला सिमाना आफूहरुका लागि वरदानको रुपमा भए पनि स्थानीयले लिनुपर्ने फाइदा भन्दा बढी तस्करी चोरी, पैठारी गर्ने व्यक्तिले लिने गरेको जिकिर गरे । उनले तस्करी रोक्न सीमामा तारबार गर्नुपर्ने सुझाव दिएका थिए ।

माओवादी द्वन्द्वकलामा विस्थापित भएको बंकुल छोटी भन्सार हालसम्म सञ्चालन नहुँदा स्थानीय तथा व्यापारीलाई ठुलो सास्ती खेप्नु परेकाले तत्काल सञ्चालनको पहल हुनुपर्ने मेयर यादवको भनाई थियो । 

उनले सीमा जोडिएको गाउँका स्थानीयले भारतीय बजारबाट निजी प्रयोगको लागि ल्याउने कृषि सामग्रीमा सहजता अपनाई दिन आग्रह गरेका थिए ।

कार्यक्रममा परोहा नगरपालिकाका मेयर शेख वकीलले सीमा क्षेत्रमा बसोवास गर्ने मधेसी समुदायका व्यक्तिले सीमाको सुरक्षाको लागि आफ्नो ज्यानसमेत दिन तयार रहेको बताउँदै नेपाल र भारतबिच सांस्कृतिक ,सामाजिक सम्बन्ध रहेकाले सहज आवागमनको वातावरण हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरीका एसपी माधव रेग्मी, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष देव प्रयाग गुप्ता, ईशनाथ नगरपालिका–६ का वडाध्यक्ष जवाहर साह, ईशनाथ नगरपालिका–२ का वडाध्यक्ष धर्मेन्द्र साह, बौधीमाई नगरपालिका–४ का वडाध्यक्ष मुक्तिनारायण मिश्रा लगायतले पछिल्लो समय रौतहटमा प्रहरीकै मिलोमतोमा भारतीय सामानको तस्करी बढेको गुनासो गरेका थिए ।

रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले प्रहरी पुग्नुभन्दा अघि आफ्नो मुलुकको जग्गाको लागि ज्यानको प्रवाह नगरी सीमा क्षेत्रको रक्षा गर्ने मधेसी जनता नै भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप