सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई गलत ब्रिफिङ भयो कि भन्ने मलाई लाग्छ :  बद्री केसी (भिडियोसहित)

मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँमा सम्पन्न ११ औँ विश्व सम्मेलन र निर्वाचनपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) विवादमा फसेको छ । निर्वाचनबाट डा बद्री केसी सन् २०२३–०२५  कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएपनि दुई प्रत्याशीहरु आरके शर्मा र महेश श्रेष्ठले नतिजा अस्वीकार गरे । चुनावमा धाँधली भएको भन्दै उनीहरुले समानान्तर कमिटी बनाएको अवस्था र संघमा आरोप प्रत्यारोप बढिरहेका बेला अध्यक्ष डा बद्री केसीसँग रातोपाटी टिभीका लागि रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंले अध्यक्षको शपथ लिएसँगै अर्को पक्षले नतिजा अस्वीकार गर्दै नयाँ कार्यसमिति गठन गरेको छ, एनआरएनएको आधिकारिक अध्यक्ष को हो ?

संसारभर ८७ देशमा एनआरएनएका सदस्यहरू छन् । नेपालसहित ५९ देशमा एकै पटक चुनाव भइरहेको थियो । यो चुनाव ८७ देशमा छरिएर रहेका एनआरएनका सदस्यहरूले नजिकबाट नियालिरहेका थिए । निर्वाचन समिति सर्वसम्मत बनेको हो । भोटिङ कम्पनी सर्वसम्मत रूपमा छानिएको हो । अर्थात् सबै प्र्रक्रिया पुर्‍याएर गरिएको निर्वाचनबाट निर्वाचित आधिकारिक नभएर अर्को को होला त आधिकारिक अध्यक्ष ? 

आरके शर्माले त तपाईंले धाँधली गरेर चुनाव जित्नुभयो, अवैध ढङ्गले शपथ लिनुभयो भनिरहनुभएको छ नि, तपाईंले धाँधली नै गर्नुभएको हो ?

निर्वाचन हारिसकेपछिको रोइलो मात्र हो । छानबिन गर्न नमान्ने अनि कपोलकल्पित कुरा गर्दै हिँडेर हुन्छ ?

चुनावमा तपाईंले सिस्टम नै ह्याक गर्नुभयो, भेरो नामको भोटिङ कम्पनी तपाईंकै लगानीको कम्पनी हो भन्नेसम्मको आरोप छ नि ?

म त्यत्रो बिलियन डलरको कम्पनीको मालिक हुन पाए त राम्रै हुन्थ्यो । यो संसारभर परिचित अस्टे«लियाको कम्पनी हो । यसले एक सयभन्दा बढी देशमा सफल निर्वाचन गराएको कम्पनी हो भन्ने चाहिँ मलाई थाहा छ ।

कात्तिक २ गते मध्यरातको नतिजामा उपाध्यक्षका उम्मेदवार पराजित भए, विरोध भएपछि फेरि सच्याइयो र विजयी भएको भनियो, कतिपय फर्जी मत खसेको भन्ने पनि छ, यी विषय सम्बोधन नगरी हतारमा नतिजा सार्वजनिक गर्न हतार गर्नुपर्ने कारण किन पर्‍यो ?

डा. केशव पौडेलको कुरा गर्नुभएको होला । त्यो नामको अक्षरमा भएको गल्तीका कारण त्यस्तो भएको हो । उहाँले पाउनुभएको भोट कहीँ नगएको कुरा त उहाँ निर्वाचित भएबाटै प्रमाणित भएन र ? 

badri kc 1

हामी नै आधिकारिक भनेर एउटा समूहले शुक्रबार मात्रै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ, धाँधलीको छानबिन हुनुपर्ने भनेर भनिरहेएको छ, तपाईंहरूको रणनीति अब पेलेर जाने हो कि मिलेर जाने ?

म प्रतिस्पर्धी साथीहरूलाई जिम्मेवारी दिने योजनामा छु कता पेल्ने कुरा गर्नुभएको ? यसमा पेल्ने भन्ने कुरै छैन । सत्यतथ्य भने पत्ता लगाउने हो । जहाँसम्म परराष्ट्र मन्त्रालयको कुरा छ, उसले पनि यसअघिको गल्ती दोहोर्‍याउँदैन भन्ने विश्वास छ ।

तपाईं छानबिनका लागि तयार नै हुनु भएन भन्ने छ ?

म त छानबिन गर्न तयार मात्र होइन, साथीहरूले निर्वाचन समिति, भोटिङ कम्पनी, शपथ लिएको कुरालाई गलत साबित गर्न सक्नुभयो भने तुरुन्तै पद छाड्न तयार छौँ । हामीलाई पनि धाँधली गरेर जितेको भन्ने कलङ्कको टीका लगाएर हिँड्न मन छैन ।

छानबिन गर्न केले रोक्यो त ?

छानबिनको माग गर्ने तर छानबिन गरौँ न त प्रतिनिधि दिनुस् भन्दा नदिने । उहाँहरूसँग प्रतिनिधि पठाउनुस् भनेर माग गरिएको पत्र पनि हामी सार्वजनिक गर्छौं । उहाँहरू छानबिनकै पक्षमा हुनुहुन्न । त्यहाँ केही गडबड छैन भन्ने उहाँहरूलाई थाहा छ ।

कात्तिक ३ गते तपाईंसहित भएर निर्वाचन प्रक्रिया स्थगित गरेको विज्ञप्ति निकाल्नुभयो । धाँधली भएको भनिएको विषयमा छानबिन गर्ने सहमति पनि अकस्मात् उल्लङ्घन भयो र त्यही कारणले एनआरएनए फुट्यो भन्ने आरोप छ नि ?

निर्वाचन प्रक्रिया स्थगित भएको कुरा विज्ञप्तिमा कहीँ लेखिएको छैन । त्यो अहिले पनि हेर्दा हुन्छ । त्यस दिन प्रधानमन्त्री आउनेलगायतका कार्यक्रम थिए । प्रधानमन्त्री अचानक नआउने भन्ने सूचना आयो र त्यस दिनको कार्यक्रम स्थगित गरिएको मात्र हो । 

१०औँ महाधिवेशनमा एउटा समूह फुट्यो, ११औँमा फेरि अर्को समूह फुटेसँगै एनआरएनए तीनवटा भयो, खासमा एनआरएनए यसरी किन फुटिरहन्छ ?

सरकार र राजनीतिक दलहरूले अवैधानिक काम गर्ने समूहलाई संरक्षण गरेकाले यस्तो अवस्था आएको हो । अझ तपाईंहरू अवैधानिक कमिटी बनाएर आउनुस्, हामी मान्यता दिन्छौँ भनेर सरकारमा बसेकाले नै भन्न थाले कि भन्ने मलाई आशङ्का छ ।

प्रधानमन्त्री प्रचण्डले नै त्यस्तो गर्नुभयो भन्ने हो ?

प्रधानमन्त्रीलाई गलत ब्रिफिङ भयो कि भन्ने मलाई लाग्छ । 

तपाईंले प्रधानमन्त्रीसँग समय माग्नुभएन कि समय दिइएन ?

मैले आधिकारिक पत्र पठाएको छु, त्यसको जवाफ आइसकेको छै्रन । 

तपाईं एमाले निकट भएकै कारण सरकारी पक्षबाट असहयोग भएको भनिन्छ नि, त्यस्तै भएको हो ?

म एमालेको साधारण सदस्य पनि छैन । राजनीतिक भने पनि जे भने पनि मेरो आस्था एनआरएन संस्थाप्रति हो ।

एमालेको उम्मेदवार भनेर तपाईंलाई किन प्रचार गरियो त ?

बद्री केसी राम्रो मान्छे हो भनेर एमालेका साथीहरूले समर्थन गरे होलान् । त्यसैलाई प्रचार गरियो । बरु तथ्य के हो भने आस्थाकै कुरा गर्ने हो भने अहिले मेरो नेतृत्वमा निर्वाचित २७ जनामा १६ जना त डेमोक्र्याट नै छन् ।

badri kc

विजयी भएर पनि प्रधानमन्त्री भेट्न पाउनु भएको छैन, कांग्रेस र माओवादी निकटकाले छुट्टै एनआरएनए बनाएका छन्, तपाईंलाई अब काम गर्न त गाह्रो होला नि ?

पूर्वअध्यक्षहरू, संस्थापकहरू र अधिकांश एनआरएनहरूको आशीर्वाद पाएको छु । यस संस्थामा राजनीतिको टोपी र जुत्ता बाहिर राखेर बिनापूर्वाग्रह उपविजेता साथीहरूलाई पनि उचित जिम्मेवारी दिएर काम अघि बढाउँछु । त्यसपछि काम गर्न गाह्रो हुने प्रश्नै आउँदैन ।

नढाँटीकन भन्नुस् त तपाईंहरूले चुनावका कति करोड सक्नुभयो ? 

हाम्रो समूहले राजनीतिक आस्थाबिना र नाजायज एक पैसा खर्च नगरी निर्वाचन जितेको हो । 

अर्को प्रसङ्ग, एनआरएनएले धेरै कुरा गर्ने तर लगानी नगर्ने आरोप छ, किन त्यस्तो ?

अहिले पनि एनआरएनहरूको एक खर्बभन्दा बढी लगानी नेपालमा छ । नागरिकताका कारण केही आशङ्का थियो । अब बढ्छ । यसका लागि हामीले एनआरएन नेपाल डेभलपमेन्ट फन्ड कार्यक्रम ल्याइसकेका छौँ । यो कम्पनी बनिसकेको छ । सरकारसहितको लगानीमा यो कम्पनी अघि बढ्छ र यसले लगानी अवश्य बढाउँछ । 

नागरिकता पनि पाउनुभयो, फेरि औँलो दिँदा डुँडुलो निल्ने भने जस्तो वंशजको नागरिकताको कुरा फेरि किन गर्दै हुनुहुन्छ ?

वास्तवमा डुँडुलो दिनुपर्ने औँलो मात्र दिइयो भन्ने हाम्रो भनाइ हो । विश्वका ६५ देशले राजनीतिक अधिकारसहितको दोहोरो नागरिकता दिइरहेका छन् । त्यस्तो अभ्यास गर्दा नेपाललाई पनि केही घाटा हुँदैन । 

अन्तिममा, एनआरएनएको भविष्यमाथि प्रश्न उठ्न थालेको छ, यो संस्था सकिँदै छ कि फेरि उठ्ला त ?

जबसम्म नेपाल रहन्छ, जबसम्म नेपालीहरू बहिर रहन्छन्, एनआरएनए भन्ने संस्था रहिरहन्छ । रहिरहन्छ मात्र होइन मेरो नेतृत्वमा यो संस्था अझ माथि उठ्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया