शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पुनः निर्वाचन नभए एनआरएनए डाइनोसर बन्न सक्छ : आरके शर्मा (भिडियोसहित)

मङ्गलबार, १४ कात्तिक २०८०

गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको जिकिर गर्दै अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले नतिजा स्वीकार गरेनन् । जसका कारण निर्वाचनपछि एनआरएनएमा एक पक्षले अर्को पक्षलाई स्वीकार नगर्ने अवस्था बनेको छ । यतिसम्मकि कात्तिक ४ मा बद्री केसीले अध्यक्षको शपथ लिएपनि उनको नेतृत्व अस्वीकार गर्दै आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरियो । जुन कार्यसमितिलाई अध्यक्षका अर्का प्रत्याशी श्रेष्ठको पनि साथ दिएका छन् ।  यससँगै शर्माले आफू आधिकारिक अध्यक्ष भएको दाबी गर्दै आएका छन् भने विवाद बढ्दो क्रममा रहेको देखिन्छ ।  एनआरएनएमा विवाद बढिरहेको बेला नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्मासँग रातोपाटी टिभीका लागि रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंशः 

तपाईं निर्वाचन हारेर पनि कसरी अध्यक्ष बन्नुभयो ?

१०औँ महाधिवेशनमा राजनीतिक रुपमा पेलेर जान चाहने र कानुनी व्यवस्था देखाउँदै एनआरएनएलाई आफ्नो खल्तीमा राख्ने लडाइँ चलेको थियो । यसो भएपछि संस्था नफुटोस् भनेर तीन जना अध्यक्षसहितको अध्यक्षमण्डल बनाएका थियौँ । ११औँ महाधिवेशनसम्म आइपुग्दा आफ्नो कार्यकाल स्वर्णिम रहेको भन्दै स्वघोषणा गर्नुभयो । कार्यकाल स्वर्णिम बनेको भए २० वर्षदेखि सम्हालेको नेतृत्व फेरि किन सम्हाल्न चाहनुभयो ? दोस्रो विषय, अध्यक्षका प्रत्यासीले र निर्वाचन समितिले समेत निर्वाचन त्रुटिपूर्ण भएको स्वीकार गरेपछि पनि दुई हप्ताको अनुसन्धानपछि आउने प्रतिवेदन मान्ने भद्र सहमति १० घन्टासमेत टिकेन । बलजफती रुपमा सत्ताको दुरुपयोग गर्दै मतदाताको व्यक्तिगत गोपनीयता भङ्ग गराइएको स्थिति छ ।

निर्वाचनमा ८ वटा ल्यापटपबाट भोटिङ हुनुपर्ने हो । निर्वाचन समितिले निर्वाचन अघि मुचुल्कासमेत उठाएको थिएन । निर्वाचनको सामान्य प्रक्रिया नै पूरा नगरी चुनाव कसरी जितिन्छ ? बन्दसत्रका कार्यक्रम गरेर, विधान संशोधन र आर्थिक प्रतिवेदन गरेर र संस्थाको प्रतिवेदन गरेपछि अध्यक्षमण्डल गठन गर्दै प्रक्रियागत रुपमा सर्वसम्मतले मेरो नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

प्रक्रियागतरुपमा चयन भएको कार्यसमिति मेरो नेतृत्वको टिम हो । सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित बनेको आधिकारिक कार्यसमिति मेरो नेतृत्वको हो ।

rk sharma 2

विश्वभरका प्रतिनिधिको मतदानबाट अध्यक्ष बन्नुभएका बद्री केसी छाडेर एउटा कोठामा छुट्टै बसेर बनेको अध्यक्ष तपाईं नै कसरी आधिकारिक हुनुभयो ?

निर्वाचनको सामान्य प्रक्रिया समेत पूरा नगरी गराइएको चुनावमा विश्वभरका प्रतिनिधिले कसरी मतदान गर्छन् ? यो जबरजस्ती सत्ता कब्जा गरेर अनियमित ढङ्गले गराइएको निर्वाचन हो । र निर्वाचन कमिटीको र विद्युतीय मतदान कम्पनी भेरोको प्रवक्ता समेत हुनुहुन्छ । त्यसैले डा. बद्री केसी सर्वेसर्वा होइन । निर्वाचनमा सहभागी हुन अमेरिकाबाट नेपाल आउनुभएका विश्व बरालको भोट अमेरिकाबाटै खस्यो । कतारमा रहनुभएका टीका कार्कीको भोट नेपालबाट खस्यो । बेल्जियमको सीता सापकोटाको फोटो परिवर्तन गरेर झण्डै मतदानबाट बञ्चित हुनुप¥यो । यत्रो समस्या हुँदासमेत निर्वाचन स्वच्छ हुन्छ भनेर भन्न कसरी सकिन्छ ?

निर्वाचन कमिटी सर्वसम्मत रुपमा बनाइएको थियो । विद्युतीय मतदान कम्पनी भेरो छनौटमा समेत सहमति भएको थियो । यी सबै विषयमा सहमति जनाउँदै आएपछि परिणाम आफ्नो विपरीत आएपछि विमति जनाउनु भएको हो ?

भेरो भोटिङमा कार्बन कपी राख्नुपर्छ भनेर माग गरेको थिएँ । अहिले पनि मिटिङको रेकर्डमा त्यो छ । उहाँले पेल्दै लगेर ब्लक चेनमा यो निर्वाचन हुन्छ भन्ने निर्णय गराउनुभयो । सिस्टम र मानवीयरुपमा हुने त्रुटि सुरुमै जानकारी हुन्न । अन्तिम समयसम्म पनि उम्मेदवारी दिने÷नदिने द्विविधासमेत उहाँमा देखियो । कार्यालयको तालाचाबी समेत आफ्नो खल्तीमा बोक्नुहुँदो रहेछ । उहाँले प्रक्रियाको तालाचाबी समेत आफ्नो खल्तीमा बोक्नुभएको होला । निर्वाचनमा त्रुटि भयो भन्दै विज्ञप्ति जारी गरेपछि फेरि स्वघोषणामार्फत अध्यक्षको पद सम्हाल्न मिल्दैन ।

निर्वाचनमा धाँधली भएको प्रमाण तपाईंसँग के छन् ?

अनुपस्थित व्यक्तिको नाममा मतदान गर्नु धाँधली होइन र ? अन्य मतदाताको नाममा गरिएको फर्जी मतदान धाँधली होइन ? मतदान स्थगन गर्न खोज्दासमेत उहाँ (बद्री केसी)ले दम्भले निर्वाचन गराउनुभयो । भोटिङको सूचीमा अन्य तीन प्रत्यासीको फोटो अट्दा मेरो फोटो अटाइएन । यो धाँधली होइन ? उहाँ निर्वाचित भएदेखि पुनःनिर्वाचनमा आउन केको डर ? मतदानको लाइनमा रहनुभएका मतदातालाई समय सकिएको भन्दै अधिकारबाट वञ्चित गराउन सकिन्छ ? यसको अन्तिम विकल्प भनेको पुनः चुनाव हो । अब छानबिनको प्रक्रिया सक्किइसकेको छ । किनकि, २० अक्टोबरमा सोल्टी होटलको २१७ नम्बरको कोठामा गरेको सहमति भङ्ग भइसकेको छ । २ हप्तासम्म छानबिन गर्ने सहमति उहाँले भङ्ग नगरेर अध्यक्षमा निर्वाचित भएको भए आगामी २ वर्ष बद्री केसीको झोला बोकेर हिँड्थेँ ।

rk sharma 1

तपाई आफूलाई आधिकारिक अध्यक्ष मान्नुहुन्छ भने फेरि पुनः चुनाव किन गर्नुपर्‍यो ?

हो म आधिकारिक अध्यक्ष हो । तर, अध्यक्ष हुँ भन्दैगर्दा संस्थालाई बन्धक बनाउन हुँदैन । पुनः चुनावका लागि साथीहरु आउने भएमा एकताको महाधिवेशन गरेर संस्थालाई एकै स्थानमा ल्याउनुपर्छ । अझै पनि झगडा गरेर बस्दा एनआरएनए डाइनोसर बन्छ ।

पुनः निर्वाचनबाट तपाईं अध्यक्षमा निर्वाचित बन्नुभयो र बद्री केसी हार्नुभयो भने उहाँले नमान्न सक्नुहुन्न ?

निर्वाचनमा स्पष्टरुपमा धाँधली भएको छ । प्रक्रियाहरू मिचिएको छ । मैले जित्ने र उहाँले हार्ने र एकअर्काको जित अस्वीकार गर्नेभन्दा पनि प्रक्रियाको विषय मूख्य हो ।

तपाईं अध्यक्षका प्रत्यासीहरु सबैजनाको आ–आफ्नो विचारधारा र राजनीतिक आस्था छ । डा. केसीले सत्ताको दुरुपयोग गरेको आरोप लगाउँदै गर्दा प्रधानमन्त्री र परराष्ट्रमन्त्री सहितको टोलीलाई भेटेर राजनीतिक दुरुपयोग तपाईंहरुले गरेको होइन ?

हामीलाई अन्याय पर्दा जाने कुन ठाउँमा ? मैले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट गर्न १० पटक अपोइन्टमेन्ट लिँदा पनि समय पाइनँ । म अन्याय पर्दा सम्मानित राजनीतिक दल र सरकारसँग जाने होइन ? नेपाल सरकार र सम्मानित निकायमा पहिलादेखि नै जानकारी गराइसकेको थिएँ ।

राजनीति र सत्ताको दुरुपयोग गरेर आरके शर्मा नेतृत्वको समूहले एनआरएनएलाई डाइनोर बनाउँदै छ भन्यो भने ?

यो डा. बद्री केसीसहितको समूहले गर्दैछ । डा. केसी मभन्दा २ वर्ष सिनियर नेता हो । उहाँले ज्यान गए कुर्सी छाड्दिन भन्न मिल्ने ? किन उहाँ फेरि अध्यक्षमा दोहोरिन चाहनुभयो ? मैले एनआरएनएको एकाधिकार तोड्छु भनेर सबै मतदातासँग कसम खाइसकेको छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया