आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
एनआरएनए तनाव

कसरी हुन पुग्यो एनआरएनए कार्यालयमा तनावको अवस्था ?

अशान्त बन्दै एनआरएनए कार्यालय, कर्मचारीले थाले घरबाटै काम
मङ्गलबार, १४ कात्तिक २०८०, १५ : २७
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । कात्तिक ४ गते बद्री केसीले अध्यक्षको शपथ लिएपछि असन्तुष्ट पक्षले समेत गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर कमिटी घोषणा गर्यो । यससँगै फुटको अवस्थामा पुगेको एनआरएनएभित्र संकट गहिरिँदै गएको छ । असन्तुष्ट पक्षले बद्री केसीको नेतृत्वलाई अस्वीकार गर्दै नयाँ कार्यसमिति चयन गरेपछि दुई पक्षीय टकराब बढेको हो । 

बद्री केसीले चुनावमा धाँधली नभएको र असन्तुष्टहरुले हारको मानसिकताका कारण अहिलेको अवस्था सिर्जना भएको दाबी गर्दै आएका छन् । तर, आरके शर्माले केसीले धाँधली गरेको कैयन प्रमाणहरु आफूसँग रहेकाले अब पुनर्निर्वाचन बाहेक मिल्ने अर्को विकल्प नभएको बताउँदै आएका छन् । 

रातोपाटीसँग मंगलबारको अन्तरवार्तामा समेत शर्माले केसीले सिस्टम ह्याक गरेर धाँधली गरेकाले उनलाई अध्यक्ष मान्नै नसकिने बताएका थिए । उनले भनेका थिए, ‘यो निर्वाचनको नतिजालाई स्वीकार गर्न सक्ने अवस्था नै छैन ।  उनले (केसी) तालाचाबी हातमा लिएर सबै प्रमाणहरु नष्ट गरिसकेकाले छानबिन समिति गरेर यथार्थ विवरण आउन सक्ने अवस्था पनि छैन । त्यसकारण अबको विकल्प भने पुनर्निर्वाचन मात्रै हो ।’

nn

तर, केसीले भने धाँधलीको पुष्टि गर्न चुनौती दिएका छन् । रातोपाटीसँगकै सोमबारको अन्तरवार्तामा उनले धाँधलीको पुष्टि भए राजीनामा दिन तयार रहेको बताएका थिए । यसबाट के बुझिन्छ भने केसी पक्ष आरके शर्माको माग पुरा नगर्ने पक्षमा छ भने आरके पनि कुनै हालतमा केसीलाई नस्विकार्ने पक्षमा देखिन्छन् । 

उसो त शर्माले आफूलाई आधिकारिक अध्यक्ष दाबी गर्दै आएपनि कार्यालयमा प्रवेश पाएका छैनन् । यद्यपि प्रवेश नपाएपनि उनले बालुवाटारस्थित कार्यालयको ढोकाबाहिरै रहेको सोफामा बसेर कार्यसम्पादन गर्ने गरेका छन् । केही दिनयता यसरी नै कार्यालयको बाहिरैबाट कार्यसम्पादन गर्दै आएका शर्मा मंगलबारपनि शर्मा महासचिव बुद्धि सुवेदीलगायतका अभियन्ताहरुसँगै कार्यालय पुगेका थिए । 

उनी कार्यालय पुग्दा कर्मचारीहरु नभएपनि बैठक कक्षमा भने एमालेका नेता महेश बस्नेतसहितको कार्यक्रम चलिरहेको थियो । जुन कार्यक्रममा युवासंघका कार्यकर्ताहरुको सहभागिता थियो भने सँगै बद्री केसी पनि थिए । 

कार्यालयमा कर्मचारी नभएको तर बैठक हलमा युवासंघको कार्यक्रम भइरहेको देखेपछि आरके समूहले भिडियो खिचेको थियो । सो क्रममा आरकेसहितका अभियन्ताले संघको कार्यालयमा यो केको कार्यक्रम भएको हो ? भन्दै सोधिखोजी गरेका थिए । 

सोही क्रममा आरकेले भिडियो खिच्न थालेका थिए भने साथमै एनआरएनए अभियन्तासमेत रहेका बेल्जियम निवासी पत्रकार ओम शर्माले पनि भिडियो खिचेका थिए । 

तर, कार्यक्रममा युवासंघका कार्यकर्ताहरुले आन्तरिक बैठक चलिरहेको भन्दै भिडियो नखिच्न र बाहिर जान भनेका थिए । तर, शर्माले आफू पत्रकार रहेको भन्दै भिडियो खिच्न नछाडेपछि तनावको अवस्था आएको बताइएको छ । 

368395192_192029847209200_612043660320219126_n

असन्तुष्ट पक्षका महासचिव बुद्धि सुवेदीका अनुसार ओम शर्माको दाँतमा प्रहार हुँदा चोट लागेको छ । सार्वजनिक एक तस्बिरमा उनको दाँतबाट रगत बगिरहेको देखिन्छ । यस्तै आरके शर्मासहितका अन्य अभियन्ताहरुमाथि पनि हातपात र अभद्र व्यवहार भएको बताइएको छ । 

अध्यक्ष शर्माले कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले आफूहरुमाथि हातपात र अभद्र व्यवहार गरेको बताए । उनले आफू कुटपिटका बीच उम्किन सफल भएपनि अन्य अभियन्ताहरुमाथि थप हातपात र दुर्व्यवहार भएको बताए । 

‘हामीमाथि युवासंघबाट आक्रमण भएको छ । यो अत्यन्त निन्दनीय छ’, उनले भने । घटनापछि संघको कार्यालयमा प्रहरी पुगेसँगै अवस्था सामान्य भएपनि अहिले अभियन्ताहरुको भिडभाड लागेको छ । तर, घटनापछि युवासंघका कार्यकर्ता भने हलबाट बाहिरिएको बताइएको छ । 

संघको ११ औँ महाधिवेशनमा बद्री केसी निर्वाचित भएपछि  अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठले मतपरिणाम स्वीकार गरेका छैनन् । उनीहरुले केसीलाई अवैध घोषणा गर्दै आरकेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेसँगै आधिकारिकताका लागि प्रयास गरिरहेका छन् ।

चुनाव हार्ने पक्षबाट एनआरएनए कार्यालयमा अवरोध भयोः बद्री केसी

यसैबीच संस्थापन पक्षीय अध्यक्ष बद्री केसीले चुनाव हार्ने पक्षबाट कार्यालयमा निरन्तर अवरोध भएको आरोप लगाएका छन् । जसका कारण बालुवाटारस्थित कार्यालयमा असहज अवस्था सिर्जना भएको उनले बताए ।

चुनाव हार्ने पक्षले कर्मचारीलाई अनावश्यक तनाव दिने, अवरोध गर्ने जस्ता गतिविधिले कर्मचारी मानसिक तनावमा रहेको उनले बताए । जसका कारण सोमबारदेखि सबै कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको बताइएको छ । अवस्था समान्य नहुँदासम्म कर्मचारी कार्यालय गएर कार्यसम्पादन नगर्ने बताइएको छ । 

 अध्यक्ष केसीका अनुसार एमाले नेता महेश बस्नेतसहितका युवासंघका नेता कार्यकर्ता बधाई दिनका लागि कार्यालयमा पुगेका थिए । ‘बधाई दिन आउँदाखेरी साथीहरुले अवरोध गरेछन्, भिडियो खिचेछन्’, केसीले भने, ‘त्यही बीचमा सायद भिडियो नखिच्नुस् भन्दा कुनै एक जना पत्रकार भनिएको हो कि पत्रकार भनिएका साथीले जबरजस्ती गरेपछि अवरोध गरेको मात्रै हो । अरु केही भएको छैन ।’

उनले आफू कार्यक्रमस्थलमा रहँदासम्म कसैमाथि कुटपिट नभएको दाबी गर्दै त्यसपछि भएको विषय भने आफूलाई थाहा नभएको बताए । 

उनले हार स्वीकार नगर्नेहरुले कार्यालयमा आएर अवरोध गर्नु गलत भएको भन्दै हार स्वीकार गर्नुको विकल्प नभएको प्रतिक्रिया दिए । ‘कार्यालयमा आउन मान्छेलाई अवरोध गर्ने, हारेर पनि विभिन्न ठाउँमा आधिकारिक मै हो भनेर जाने जस्ता कुराहरु अवाञ्छनीय कुरा हुन्’, उनले भने, ‘प्रजातान्त्रिक पद्धतिमा हार स्वीकार गर्नुपर्छ र अर्को पटकका लागि तयारी गर्दा राम्रो हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप