बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
शिक्षा

विवादै विवादमा बित्यो त्रिविका उपकुलपति बाँस्कोटाको ४ वर्षे कार्यकाल

बुधबार, १५ कात्तिक २०८०, २० : २६
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको कार्यकाल विहीवार पुरा हुँदैछ । चार वर्षे कार्यकालका लागि २०७६ कात्तिक १७ गते तत्कालीन प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीले बाँस्कोटालाई उपकुलपतिमा नियुक्त गरेका थिए । 

बिदा हुनुपूर्व उनले आफ्नो कार्यकालमा गरेका कार्यहरूको विवरण सार्वजनिक गरे । उनले आफ्नो कार्यकालमा गर्न सकेका, गर्न नसकेको र प्रक्रियामा रहेका प्रगतिबारे समेत जानकारी गराए । 

तर, उनको चार वर्षे कार्यकाल भने सन्तोषजनक हुन सकेन । विवादै विवादमा उनको कार्यकाल बित्यो ।  त्रिवि संसारभरका विश्वविद्यालयहरूको सूचीमा खस्किन पुग्यो । ८०० देखि १००० को बीचमा रहेको विश्वविद्यालयमा यो वर्ष भने १२०१ देखि १५०० को बीचमा रहन पुग्यो । 

टाइम्स हाइयर एजुकेशनले गरेको स्तर मापनअनुसार त्रिविको स्तर घटेको देखाएको हो । यसमा त्रिविले विभिन्न मापदण्डका कारण स्तर घटेको देखाएको तर एसियाली देशमा भने स्तर नघटेको प्रष्ट पारेको थियो । 

बाँस्कोटाको कार्यकाल बन्द हड्ताल, तालाबन्दी तथा विरोध प्रदर्शनको सामना गर्दैमा बित्यो । 

यतिसम्म कि उनको कार्यकालभरमा झण्डै १ वर्ष त तालाबन्दीमा बितेको थियो । विभिन्न समूहले ३४३ दिन विश्वविद्यालयको शैक्षिक प्रशासनिक कार्य ठप्प पार्ने गरी तालाबन्दी गरेका थिए । 

पछिल्लो समय त्रिवि पीडित संघर्ष समितिको नाममा गत असार ७ गतेदेखि त्रिविमा तालाबन्दी छ । उनीहरूले उपकुलपति, रेक्टर र रजिस्ट्रारको मूलगेटमा लगाएको ताला अझै खुलेको छैन ।

एकातिर कोरोना महामारीको चपेटा, अर्कोतिर विभिन्न विद्यार्थी संगठन, शिक्षक कर्मचारीहरू लगायतका स्वार्थ समूहको तालाबन्दीसँगै अवरोध । जसले गर्दा उनले सहज रूपमा काम गर्न पाएनन् । 

यतिसम्म कि त्रिविमा बैठक गर्न नसकेपछि जमलस्थित होटल एलो प्यागोडामा बैठक गर्नुपर्‍यो । होटलमा पुगेको जानकारी पाएका आन्दोलनरत नेविसंघका कार्यकर्ता त्यही पुगेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएका थिए । 

शिक्षक कर्मचारीको नियुक्ति नहुँदा त्रिविले अर्को सास्ती खेप्नुपर्यो । स्थायी नियुक्ति नहुँदा त्रिविले चोर बाटोलाई अघि सा¥यो । करारमा आफ्ना मान्छेलाई जागिर दिने बाटोमा त्रिवि अघि बढ्यो, जुन क्रम अझै जारी छ । 

त्रिवि सेवा आयोगको अध्यक्षको पद एक वर्षदेखि रिक्त हुँदा स्थायी नियुक्तिमा असर परेको थियो । सरकारले अध्यक्ष नियुक्त गरेको छ । तर, नेविसंघकै कार्यकर्ताहरूबाट अवरोध हुन पुग्यो । जसले गर्दा त्रिविले उपप्राध्यापक र सहप्राध्यापक लगायतको नियुक्ति प्रक्रिया नै स्थगित गर्न पुग्यो । 

त्रिविको समस्या उपकुलपति एक्लैले समाधान गर्न नसक्ने भन्दै उपकुलपति बाँस्कोटाले बाम्बार अभिव्यक्ति दिइरहे । त्रिवि दलको चक्रव्यूहबाट माथि उठ्नुपर्ने उनको तर्क थियो । तर, उनी आफैं एमाले कोटाबाट उपकुलपति नियुक्त भएका थिए, जसले गर्दा केही उनकै कमजोरी तथा केही राजनीतिक प्रतिशोधका कारण त्रिविमा उनको कार्यकाल विवादरहित हुन सकेन । 

त्रिविले वार्षिक रूपमा शैक्षिक क्यालेण्डर बनाउँदै आएको छ । तर, शैक्षिक क्यालेण्डर अनुसार न पठनपाठन हुन सकेको छ, न त परीक्षा नै । परीक्षाको नतिजा दुई वर्षसम्म पनि सार्वजनिक हुन सकेन । 

नतिजा समयमै सार्वजनिक गर्न नसकेपछि अहिले त्रिविको शैक्षिक सत्र नै एक वर्ष पछि धकेलिएको छ । 

शुल्क विवादले इन्जिनियरिङ अध्ययन संस्थान लामो समय विवादको भुमरीमा फस्यो । लामो समयपछि संस्थानले स्नातक तहको शुल्क बढाएपछि त्यसको विरोधमा विद्यार्थीहरू आन्दोलित बने । जसले गर्दा अन्तिममा बढाएको शुल्क घटाउने अवस्थामा संस्थान पुग्यो । 

त्रिविको कूल बेरुजु २८ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ भन्दा बढी छ । चालु आर्थिक वर्ष २०८०÷८१ मा २६ अर्ब २४ करोड ९४ लाख ५५ हजारको बजेट रहेको छ । सरकारले दिने अनुदान कटौती गरेको भन्दै त्रिविले शिक्षक कर्मचारीको अतिरिक्त सेवा सुविधा कटौती गर्ने निर्णय गरेको थियो । त्यसको विरोधमा शिक्षक कर्मचारीहरू लामो समयसम्म आन्दोलित बन्न पुगे । आन्दोलन चर्किँदै गएपछि त्रिवि उक्त निर्णयबाट पछि हट्न पुगेको छ । 

यसैबीच, त्रिविमा यतिसम्म अराजक बन्न पुग्यो कि उपप्राध्यापकमाथि मरणासन्न हुनेगरी कुटपिट भयो । तर, त्रिविले कुनै कारबाही गर्न सकेन । नेविसंघका कार्यकर्ताको कुटपिटबाट गम्भीर घाइते बनेका उपप्राध्यापक प्रेम चलाउने अझै पनि मुद्दा मामिलाका लागि भौंतारिई रहेका छन् । 

सरकारले उपप्राध्यापक चलाउनेको मुद्दा फिर्ता लिने निर्णय नै गरेको थियो । त्यसको विरुद्धमा चलाउने सर्वोच्च पुगे । र, सर्वोच्चले चाँडो फैसला गर्न आदेश दिएको थियो । तर, यो मुद्दा अझै टुंगोमा पुग्न सकेको छैन । 

उपकुलपति बाँस्कोटाले नियुक्त भएको २५ औँ दिनमा त्रिवि सभामा १५ बुँदे त्रिवि सुधार योजना अघि सारेका थिए । ती सुधारका योजनामध्ये कतिपय सम्पन्न भइसकेको, कतिपय कार्यहरू सम्पन्न हुने क्रममा रहेको र कतिपय कार्यहरू उठान मात्र भएको उनको भनाई छ । 

नियुक्तिको ४ महिनापछि नै कोभिड महामारीको प्रकोपले समस्या निम्त्याएको उपकुलपति बाँस्कोटाको भनाई छ । त्यस्तै,विभिन्न संघ संगठनको आवरणमा स्वार्थी समूहहरूद्वारा एक वर्षभन्दा बढी केन्द्रीय कार्यालय बन्द गरी निरन्तर काममा अवरोध सिर्जना गरिएको उनको आरोप छ । 

राजनीतिक अस्थिरताले काम गति लिन नसकेको समेत उनको भनाई छ । आफ्नो चार वर्षे कार्यकालमा ३ कुलपति (प्रधानमन्त्री) र ६ सहकुलपति (शिक्षामन्त्री) सँग कार्य गर्दा हरेक पटक सुरूदेखि नै जानकारी गराउनुपर्ने बाध्यता आएको उनले बताए । 

त्रिविको काम कारबाहीमा सर्वोच्चको अन्तरिम आदेशले लामो समयसम्म काम अगाडि बढाउन नसकिएको, त्यस्तै एक वर्षभन्दा बढी समय सेवा आयोग नेतृत्वविहीन हुँदा शिक्षक कर्मचारीको पदोन्नति तथा नियुक्तिमा अवरोध सिर्जना भएको उनको जिकिर छ । 

त्रिविका पूर्वउपकुलपति प्राडा केदारभक्त माथेमाले अब त्रिविलाई राजनीतिक गन्धबाट मुक्त गर्नुपर्ने बताए । अब नियुक्त हुने उपकुलपति कुनै राजनीतिक निुयक्तिभन्दा बाहिरको व्यक्ति बनाउनुपर्ने उनको सुझाव छ । 

त्यस्तै, त्रिविलाई बोर्ड अफ ट्रष्टीजमार्फत् सञ्चालन गर्नुपर्ने उनको धारणा छ । उनको भनाईमा बिदा हुँदै गरेका उपकुलपति बाँस्कोटासमेत सहमत छन् । उनले पनि ट्रष्टमार्फत् विश्वविद्यालय सञ्चालन गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप