सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

के झलनाथ र रामकुमारी एमाले फर्किन लागेका हुन् ?

शुक्रबार, १७ कात्तिक २०८०, १२ : ४६
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । ‘बोल्न पाइन्छ, हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन । सर्वसत्तावादका विरूद्ध बोल्न पाइन्छ । संविधानको चीरहरण गर्नेका विरूद्ध बोल्न पाइन्छ । संविधान र कानुनी राज्यको खिलाफमा सेटिङ र बन्द कोठाभित्र भएका अँध्यारा षड्यन्त्रका विरूद्ध बोल्न पाइन्छ ।’

यो अभिव्यक्ति हाल नेकपा एकीकृत समाजवादीकी सचिवसमेत रहेकी रामकुमारी झाँक्रीले २०७७ साल माघ २९ गते तत्कालीन नेकपाका प्रचण्ड–माधव समूहले भृकृटीमण्डपमा आयोजना गरेको विरोधसभामा दिएकी हुन् । त्यतिबेला उनी नेकपाको केन्द्रीय सदस्य थिइन् । पार्टीको आन्तरिक घर झगडालाई देखाएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपश्चात् ओलीविरूद्ध झाँक्री मञ्चमा आक्रामक रूपमा प्रस्तुत भएकी थिइन् । मुखमा कालो टेप बाँधेर फिल्मी शैलीमा मञ्चमा प्रवेश गरेकी उनले त्यतिबेला दिएको अभिव्यक्ति निकै भाइरल भएको थियो ।

ओलीविरूद्ध विस्फोटक रूपमा प्रस्तुत भएकी उनै झाँक्रीले २ वर्ष ९ महिना पुग्नै लाग्दा बुधबार ओलीलाई प्रफुल्ल मुद्रामा बुके दिएको तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै भइरल भएको छ । दसैँ, तिहार र छठको उपलक्ष्यमा केन्द्रीय कार्यालय च्यासलमा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा उनको इन्ट्री निकै रोचक देखिन्थ्यो । दिउँसोतिर चियापानमा सहभागी भएकी उनलाई एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायतले मञ्चमै स्वागत गरे । झाँक्रीसँगै तस्बिर खिचाए ।

उनीसँगै कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल पनि सहभागी थिए । ओलीसँग निकै खुलेका खनालको तस्बिर पनि अहिले सामाजिक सञ्जालमा भाइरल भइको छ । सँगसँगै राउण्ड टेबलमा ओलीसहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री खनाल, पूर्वमन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, नेकपाका महासचिव नेत्रविक्रम चन्द, रास्वपाका सभापति रवि लामिछाने लगायत शीर्ष नेताहरूको बसाइले सबैको ध्यान खिचेको थियो ।

तर चियापानमा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी भएनन् । नेकपाकालमा देखिएको ओली–नेपालको तीक्ततापूर्ण सम्बन्ध चियापानमा समेत देखियो । नेपाल चियापानमा सहभागी नभइ गृहजिल्ला रौतहट पुगेका थिए । कार्यक्रममा नेपालसहित नेकपा एकीकृत समाजवादीका अन्य शीर्ष नेता देखिएनन् ।

तर, कार्यक्रममा सहभागी खनाल, झाँक्रीसहितको तस्बिर अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै चियापनमा सहभागी भएका सबैलाई धन्यवाद दिएका छन् । ओली–झाँक्रीको उक्त तस्बिरलाई धेरैले ‘फोटो अफ दि डे’ का रूपमा सेयर गरेका छन् । अर्थपूर्ण तस्बिरलाई लिएर खनाल र झाँक्री एमाले फर्किन लागेको अनुमान धेरैले गरेका छन् ।

उक्त तस्बिर झाँक्री आफैँले पनि ट्वीटरमा सेयर गरेकी छिन् । तस्बिरको कमेन्टमा अधिकांशले उनलाई एमाले फर्किन लागेको रूपमा अर्थ्याएका छन् । केहीले राजनीतिमा नैतिकता नहुने रहेछ भन्दै प्रश्न उठाएका छन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य हस्त शाहीले ओलीसहित एमाले नेताहरूले शेयर गरेका तस्बिरमा झाँक्रीले दुई वर्ष ९ महिना अघि बोलेको भिडियोसहित कमेन्ट गरेका छन् । पछिल्लो समय नेपालसँग असन्तुष्ट रहेका खनाल र झाँक्रीको ओलीसँग चिया सम्बन्धले एमाले फर्किन लागेको अनुमानलाई मलजल गरेको छ ।

यद्यपि तत्काल एमालेमा फर्किने वा पार्टी एकीकरण गर्ने पक्षमा आफूहरू नभएको खनालले जिकिर गरेका छन् । ‘तत्काल पार्टीलाई यताउति गरेर जाने खालको काम मबाट हुँदैन । पार्टी एकीकरण नीति, विचार, सिद्धान्त सबै कुरा मिलेरमात्र हुन्छ । तत्काल एमालेसँग एकीकृत हुने प्रश्नै आउँदैन । तथापि एमालेसँग कार्यगत एकता हुनसक्छ । वामहरूबिच कार्यगत एकता गर्नु कुनै गाह्रो कुरा भएन’, रातोपाटीसँग उनले भने ।

महाधिवेशनमा आफ्नो सम्पूर्ण विचार शृङ्खला प्रस्तुत गरी नीति र नेतृत्व लिनेगरी छलफल अगाडि बढाउने उनले बताए । साथै उनले अझै १० वर्ष आफू राजनीतिमा सक्रिय रहने जिकिर गरे ।

‘कसरी देशको समाजवादी आन्दोलन अगाडि बढ्छ ? हाम्रो पार्टी आफैँले कसरी प्रदर्शन गर्छ ? कमजोरी के के हो  ? पार्टीको कार्यदिशा के हुन्छ ? सिद्धान्त, कार्यक्रम के हो ? विधान कस्तो हुनुपर्छ ? यी सबै विषयमा छलफल हुन्छ । वैचारिक कार्यदिशा पास हुन्छ । साथसाथै स्वाभाविक रुपले संगठनात्मक नेतृत्वको विषयमा छलफल हुन्छ’, खनालले भने, ‘अझै ५÷१० वर्ष काम गर्न सक्छु । मेरो हेल्थ ५० वर्ष भन्दामाथि कसैले पनि भन्दैन । कम्तीमा म १० वर्ष सक्रिय रूपमले काम गर्न सक्छु । नेतृत्व लिन तयार छु ।’

तर नेतृत्वको कार्यशैलीप्रति नेता खनालले तीव्र असन्तुष्टि जनाए । पार्टी विभाजनको बेला आफू बिरामी भएर भारतमा रहेको स्मरण गर्दै उनले एमाले र एकीकृत समाजवादीमा कुनै भिन्नता नभएको बताए । यसैगरी वामपन्थीको नेतृत्वमा सरकार बन्ने स्थिति हुँदाहुँदै नेतृत्व दक्षिणपन्थी भड्कावमा फसेको आरोपसमेत उनले लगाए ।

‘संसदको अंकगणितका आधारमा वामपन्थीको नेतृत्वमा सरकार बन्न सक्छ । अब कांग्रेससँग सहकार्य वा गठबन्धन गर्नु आवश्यक छैन’, उनले भने, ‘वामपन्थी आन्दोलन र कम्युनिस्ट सिध्याउन नेतृत्व घोर दक्षिणपन्थी भड्कावमा फसेको छ । समग्र कम्युनिस्ट आन्दोलन बचाउन वामपन्थीबिच सहकार्य र एकता आवश्यक छ ।’

२०७७ साल फागुन २३ गते सर्वोच्च अदालतले नेकपा बदर गरेपछि पुरानै अवस्थामा एमाले फर्कियो । तर नेकपाभित्रको आन्तरिक द्वन्द्व एमालेमा सल्कियो । त्यतिबेला एमाले विभाजन गर्नुपर्ने पक्षामा झाँक्री अग्रमोर्चामा थिइन् । विवाद साम्य हुन सकेन । घर झगडाले एमालेमा उग्ररूप लियो ।

ओलीविरूद्ध माधव–झलनाथ समूहले देशभर समानान्तर समिति गठन ग¥यो । अन्ततः २०७८ भदौ २ गते एमालेबाट माधव–झलनाथ समूह अलग भयो । सोही दिन निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न जानेबेला झाँक्रीले अध्यक्ष नेपालको हात समातेको तस्बिर निकै भाइरल भएको थियो ।

निर्वाचन आयोगले भदौ ९ गते दलको मान्यता दियो । आयोगले दलको मान्यता दिएसँगै भदौको अन्तिम साता नेकपा एकीकृत समाजवादीबाट देउवा नेतृत्वको सरकारमा झाँक्रीसहित जार जना मन्त्री भए । तर पार्टीले ६ महिनामा सरकारबाट फिर्ता बोलाएपछि रुँदै मन्त्री पद छाडेकी उनले अध्यक्ष नेपालसँग बोलचालै बन्द गरिन् । त्यस यता बिग्रेको सम्बन्ध अहिलेसम्म सुधार आएको छैन ।

भदौको पहिलो साता पार्टी कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकमा खनालले १६ बुँदे फरक प्रस्ताव नै दर्ता गरे । स्यायी कमिटी, केन्द्रीय कमिटीले गरेको निर्णयविपरीत अध्यक्ष नेपालले नेताहरूको जिम्मेवारी तोकेर अन्तरपार्टी निर्देशन(अपानी) जारी गरेको भन्दै झलनाथ, झाँक्री लगायत नेताहरूले बबण्डर मच्चाए । खनालले त अपानीलाई कोत पर्वकै संज्ञा दिँदै नसच्याए अप्ठ्यारो पर्ने चेतावनी दिए । चौतर्फी आलोचना भएपछि अध्यक्ष नेपाल अपानी फिर्ता लिन बाध्य भए ।

पार्टीले आगामी माघको दोस्रो साता महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । खनाल यतिबेला प्रतिवेदन लेखनको तयारीमा छन् । नेताहरूको जिम्मेवारी, महाधिवेशनको तयारीको विषयमा निर्णय लिन छिट्टै सचिवालय बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताए । यसरी एकपछि अर्को आन्तरिक कलहमा फसेको एकीकृत समाजवादी पार्टी निर्माण नभइ विघटनको दिशातिर अगाडि बढेको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

नेता तथा कार्यकर्ता एमालेमै फर्किनेको सूची लामो बन्दै गएको छ । खनाल, झाँक्री लगायत नेताहरूलाई फर्काउनका लागि एमालेका शीर्ष नेताहरू नै भित्रभित्रै सक्रिय रहेको बुझिएको छ । विभिन्न चर्चा र आशंकाबिच ओलीसँग खनाल, झाँक्रीको चिया राजनीति कत्तिको सफल हुन्छ, त्यो हेर्न बाँकी नै छ ।

यसअघि मुकुन्द न्यौपाने, केदार न्यौपाने, भागवत विश्वासी, सूर्य शर्मा, सूर्यचन्द्र न्यौपाने, सुवास कर्माचार्य, बालकृष्ण चापागाईं, कुलवीर चौधरी, हिराचन्द्र केसी, तारा लामा, मिठाराम केसी, अशोक यादव, सीता गुरुङ, तर्कबहादुर शाही, धनबहादुर रायमाझी, यदुवंश झा, विक्रम शाही, गणेश खनाल, देवी थापा, सरोजकुमार यादव, बीना बुढाथोकी, चन्द्रलाल बुढा, अशोक चन्द, दलबहादुर सुनुवार, कुर्मराज शाही, रीता रावल, सुन्दर विश्वकर्मा, नन्दसिंह बुढा लगायत नेताहरू एमालेमै फर्किएका छन् । नेकपा एकीकृत समाजवादीबाट अझै धेरै नेता तथा कार्यकर्ता एमाले फर्किने एमालेका नेताहरूले दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप