सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोट भूकम्प र विपत् व्यवस्थापनको चुनौती

आइतबार, १९ कात्तिक २०८०, १२ : ०३
आइतबार, १९ कात्तिक २०८०

आठ वर्षअघि गएको भूकम्पले दिएको पीडा र त्रास  बिर्सिन नपाउँदै कात्तिक १७ गते राति फेरि जाजरकोट केन्द्रबिन्दु बनाएर अर्को ६.४ रेक्टरको भूकम्प गयो । यसले धेरै धनजनको क्षति भएको छ । जसमा १५७ जनाभन्दा बढीको मृत्यु भयो भने कैयौँ घर तथा भौतिक संरचना भत्किएका छन् । 

विश्वमै भूकम्पको उच्च जोखिमयुक्त देशमध्ये नेपाल ११ औँ नम्बरमा पर्छ । पटक पटक गएका साना ठूला भूकम्पले जनधनको धेरै क्षति गरेको छ । 

मापनको हिसाबले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको यो भूकम्प त्यति ठूलो स्केलको होइन तर त्यसको असर भयानक भने देखियो । सयौँको सङ्ख्यामा मानिसको मृत्यु भयो भने हजारौँ घर तथा भौतिक संरचना भत्किए । सामाजिक सञ्जाल रङ्गियो । मानिस फेरि सडकमा निस्के । अनि पुनः चर्चा भयो भूकम्पको असर र यसबाट बच्ने उपायहरूका बारेमा । विज्ञलगायत धेरैले आफ्नो हैसियत अनुसारको सुझाव र ज्ञान बाँढ्न थालेका छन् । 

हाम्रो एउटा कमजोरी के पनि हो भने घटनापछि हामी जति आत्तिन्छौँ, तात्तिन्छौँ र अनुभव लिन्छौँ तर समय क्रमसँगै सबै बिर्सिएर पुरानै लयमा बग्न थाल्छौँ ।

सरकार र पार्टीहरूले राहत वितरण गर्न सुरु गरेका छन् । हेलिकप्टर लिएर सरकारी संयत्र उद्धार र राहत वितरणमा खटियो । श्रद्धाञ्जली र समवेदना दिन सामाजिक अभियन्तासहित ठुला र साना नेताहरू तँछाडमछाड नै गरेको देखियो । यसका आफ्नै प्रभाव र पाटा होलान् ।

प्रायः भूकम्पको असर पहाडी क्षेत्रमा धेरै देखिन्छ । नेपालको धेरैजसो पहाडी इलाकामा अझ पनि तत्काल उद्धार र आपत्कालीन सेवा दिन गाह्रो छ । 

त्यसैले भूकम्पपछि घाइतेको उद्धार र सुरक्षित व्यवस्थापन नै हाम्रो मुख्य चुनौती हो । त्यसबाहेक चर्किएका र जीर्ण घर तुरुन्तै निक्र्याेल गरेर त्यस्ता जोखिमयुक्त घरका मानिसलाई अन्यत्र व्यवस्थापन गर्नु दोस्रो चुनौती हो । यी दुई उपायले भूकम्प गैसकेपछिको अवस्थामा क्षति कम गर्न मद्दत गर्छ । त्यसबाहेक हरेक स्थानीय तहले वैकल्पिक मार्ग निर्माण गर्नु उपयुक्त हुन्छ । भूकम्पपछि मुख्यतः पहिरोको पनि सम्भावना हुनाले उद्धारमा समस्या हुन सक्छ । तसर्थ वैकल्पिक मार्गको बारेमा समयमै सोच्नु बुद्धिमानी हो ।

त्यसपछि सरकार, सरकारी संयन्त्र र दाताहरूको भूमिका भनेको राहत वितरण, उपयुक्त र प्रयाप्त मात्रामा खाना, पानी, औषधी र बासको प्रबन्ध गराउनु हो । मृत शरीरको व्यवस्थापन गर्नु पनि ठूलो चुनौतीको विषय हो । यसमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

यीमाथिका कार्यहरू भूकम्पपछिको अल्पकालीन व्यवस्थापनमध्येका हुन् । तर नेपाल जस्तो देशमा सधैँ भुइँचालो गएपछि मात्रै राहत र व्यवस्थापनमा मात्रै अल्झिएर बस्नु थप क्षति कुर्नु हो । हाम्रो जस्तो अल्प विकसित मुलुक, हरेक तहमा राजनीतिक प्रभाव र जनताको चेतना स्तरको मूल्याङ्कन गर्दा कति कुरा दीर्घकालीन बनाउन कठिन हुँदोरहेछ । जस्तै– भूकम्पको जोखिम न्यूनीकरणसम्बधी नीति बनाएर त्यसको कार्यान्वयन गर्दा नेता, पार्टी र सरकार जति लोकप्रिय हुन्छ त्योभन्दा धेरै लोकप्रिय र प्रशंसा भूकम्प आउना साथ नेताले दिएको समवेदना र राहतको घोषणा जस्ता कार्यले हुदोरहेछ । अझ कुन नेताले पहिले समवेदना पस्के, कुन नेताले हेलिकप्टर चडे, कसले कति राहत घोषणा गरे जस्ता कुराले महत्त्व राख्छ । राजनीतिक र मानवीय हिसाबले पनि यो फाइदाजनक हुदोरहेछ । हाम्रा मिडिया र कार्यकर्ताले समेत यस्तै कार्यलाई प्रोत्साहन गरेको देखिन्छ । हुन पनि भूकम्प गइसकेपछि पहिलो जिम्मेवारी र कर्तव्य पनि त्यहीँ नै हो । 

तर यी यावत् कुरा अल्पकालीन हुन् । यसले तत्काल फाइदा गरे पनि अर्काे विपत्ति आउनलाई रोक्ने वा कम क्षति हुने ल्याकत राख्दैन ।

अब के गर्ने त ? 

अब गर्नुपर्ने मुख्य र पहिलो काम भनेको भूकम्प प्रतिरोधी संरचना निर्माण नै हो । महानगरपालिका वा नगरपालिकाले मात्र होइन अब हरेक गाउँपालिकाले पनि घर निर्माण गर्दा नक्सा पास गरेर मात्र बनाउनुपर्ने नीति तर्जुमा हुनु पर्छ । दीर्घकालीन रूपमा जोखिम न्यूनीकरणको योभन्दा अरू उपयुुक्त उपाए अरू छैन । नक्सा पास गर्दा भूकम्प प्रतिरोधात्मक निर्माणको मापदण्ड अवलम्बन गराउनु पर्छ । जिम्मेवार पक्षले सूक्ष्म निरीक्षण र सुपरीवेक्षण गर्नु पर्छ ।

मानिसलाई के लाग्छ भने भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्न सिमेन्ट र छडको प्रयोग गर्नै पर्छ अथवा यस्ता संरचना बनाउँदा थप खर्चिलो हुन्छ । यो कुरा पटक्कै होइन । हाम्रै गाउँठाउँमा उपलब्ध हुने ढुङ्गा, माटो र काठ वा बाँस प्रयोग गरेर पनि भूकम्पप्रतिरोधी संरचना बनाउन सकिन्छ । यस्ता संरचनाले पनि निरन्तर आइरहने यस प्रकारका सानातिना भूकम्प र पराकम्पको जोखिमलाई न्यूनीकरण गर्न सक्छ ।

अर्काे मुख्य कुरा भूकम्पको हरेक आयामसम्बधी जनचेतना फैलाउनु नै हो । जनता माझ जोखिम न्यूनीकरण र प्रकोप व्यवस्थापनका विषयमा व्यापक जनचेतना प्रदान गर्नु पर्छ । मानिसमा चेतना र बलिया संरचना बनाउन सकियो भने वर्षैपिच्छे भूकम्पबाट हुने क्षतिलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।

नेपालको जस्तो जोखिमयुक्त देशमा सानातिना भूकम्प वा पराकम्प आइरहन्छन् । अझ नेपालको पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नआएको सयौँ वर्ष भयो । त्यहाँ सञ्चित रहेको शक्ति बेला बेला आइरहने यस्तै भूकम्पले केही मात्रामा क्षय गरेको छ । तर अझ ठूलो भूकम्पको सम्भावना टरेको छैन । तसर्थ हामी आफैँ सजग हुनुका साथै सरकारले उपयुक्त दीर्घकालीन नीति तर्जुमा गरेर कार्यन्व्यन गर्नु उपयुक्त हुन्छ ।

गुल्मी, हाल : काठमाडौँ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नारायण ज्ञवाली
नारायण ज्ञवाली
लेखकबाट थप