बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र यमनबिचको विश्वकप छनोट खेलको तयारीमा जुट्यो एन्फा

मङ्गलबार, २१ कात्तिक २०८०, १२ : ०२
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीले आगामी विश्वकप फुटबल प्रतियोगिताका लागि मङ्सिरको पहिलो साता एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेल खेल्दैछ । सन् २०२७ मा आयोजना हुने एसियन कपका लागि समेत यो दोस्रो चरणको छनोट खेल हो । 

दोस्रो चरणको पहिलो लेग खेलमा नेपालले मङ्सिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यमनको सामना गर्नेछ । नेपाल र यमनबिचको खेल साँझ ७ बजे सुरु हुनेछ । त्यसपछि नेपालले यमनको घरेलु मैदानमा दोस्रो लेग खेल खेल्नेछ ।

यमन विश्व फुटबल महासङ्घ (फिफा) को पछिल्लो वरीयतामा नेपालभन्दा निकै अगाडि रहेको छ । वरीयतामा यमन १५६औँ र नेपाल १७३औँ स्थानमा आसिन छन् । यमनविरुद्धको खेलका लागि २६ सदस्यीय नेपाली टोली हाल बन्द प्रशिक्षणमा रहेको छ ।

नेपाली टोलीलाई मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले प्रशिक्षण दिइरहेका छन् । घरेलु मैदानमा हुने यमनविरुद्धको खेलका लागि आवश्यक तयारी अगाडि बढाइसकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

एन्फाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाएअनुसार, दोस्रो चरणको खेलका लागि कमर्सियल र मिडिया राइट सिंगापुरस्थित स्पोर्ट फाइभलाई प्रदान गरिएको छ । यमनविरुद्धको खेलका लागि टिकटको मूल्य पनि निर्धारण गरिएको छ ।

एन्का अनुसार, नेपाल र यमनबिचको खेलका लागि साधारण प्यारापिटतर्फ टिकटको मूल्य चार सय रुपैयाँ निर्धारण गरिएको छ । भीआईपी प्यारापिटतर्फको टिकट मूल्य भने एक हजार रुपैयाँ कायम गरिएको एन्फाले जनाएको छ । 

उक्त खेलको टिकट एन्फा आफैले व्यवस्थापन गरी बिक्री गर्ने बताइएको छ । उक्त खेलको टिकट खेल हुने दिन बिहानदेखि दशरथ रङ्गशाला परिसरमा बिक्री गरिने एन्फाले जनाएको छ । यमनको राष्ट्रिय टोलीलाई अभ्यासलाई च्यासल रङ्गशालामा व्यवस्था मिलाइएको पनि एन्फाले जनाएको छ ।

उक्त खेलको प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी पनि एन्फाले दिएको छ । एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार, नेपाल र यमनबिचको खेलको अनुमानित बजेट ७३ लाख ६८ हजार चार सय रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप