शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी

सहकारीमा बेथिति : स्थानीय तहमा पनि उजुरी पर्न थाले

बुधबार, २२ कात्तिक २०८०, २३ : ०५
बुधबार, २२ कात्तिक २०८०

बुटवल । लुम्बिनी प्रदेशका सहकारीमा बेथिति बढ्न थालेपछि स्थानीय तहहरूमा पनि बचतकर्ताहरूले उजुरी दिन थालेका छन् ।

लुम्बिनी प्रदेशमा रहेका बुटवल, नेपालगन्ज, तुलसीपुर, घोराही उपमहानगरपालिका बचतकर्ताहरूले सहकारी सञ्चालक समितिले बदमासी गरेको आरोप लगाउँदै आफ्नो बचत र सेयर रकम फिर्ता ल्याइदिन मागसहित उजुरी दिएका छन् । स्थानीय तहले केही उजुरीका आधारमा सञ्चालक समितिबाट रकम उपलब्ध गराएका छन् भने केही उजुरी छानबिनकै प्रक्रियामा छन् ।

दाङको घोराही उपमहानगरपालिका–१५ मा रहेको जनज्योति पशुपन्छी कृषि सहकारी संस्थाको सञ्चालक समितिले बचत तथा सेयर गरी २५ लाखभन्दा धेरै हिनामिना गरेको भन्दै बचतकर्ताहरूले हालै पालिकामा उजुरी दिएका छन् । यहाँ यसअघि पनि सोही वडामा रहेको सूर्य बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिले रकम हिनामिना गरेको उजुरी परेको थियो ।

घोराही नगरपालिका सहकारी शाखा प्रमुख प्रेम बहादुर केसीका अनुसार यो पालिकाभित्र दर्ता भएका सहकारीहरूको बेथितिलाई नगरपालिकाले आफ्नो अधिकार प्रयोग गरेर नियन्त्रण गर्ने र प्रहरी, जिल्ला प्रशासन, प्रदेश र संघ सरकारको कार्यक्षेत्र भएमा उतै पठाउने गरेको रातोपाटीलाई बताए । यहाँ २०३ वटा सहकारी दर्ता भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकामा सहकारी सञ्चालक समितिले बदमासी गरेको भन्दै ३ वटा उजुरी परेका छन् । ती उजुरीमाथि छानबिन चलिरहेको छ । नेपालगन्ज उपमहानगरपालिका सहकारी शाखा प्रमुख प्रवीण रानाले हाल सहकारी बचतकर्ताहरूले दिएको उजुरीमाथि छानबिन भइरहेको रातोपाटीलाई बताए । नेपालगन्जमा ११२ वटा सहकारी दर्ता भएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा हालै एउटा सहकारी सञ्चालक समितिले बदमासी गरेको उजुरी परेको छ । सहकारी शाखा प्रमुख सुनिता शर्माले उक्त उजुरी कानुनी प्रक्रियामा रहेको बताइन् । यहाँ १६७ वटा सहकारी दर्ता भएका छन् । उनले भनिन्, ‘आएका उजुरीहरू बचतकर्ताको सेयर तथा बचतलाई ध्यान राख्दै मिलाउने काम भइरहेको छ ।’

बुटवलमा कार्यक्षेत्र भएका तर संघ र प्रदेशमा दर्ता भएका सहकारीहरूको सबैभन्दा धेरै बदमासी गरेको उजुरी आएका छन् । बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणकर खनालका अनुसार बुटवलमा दर्ता नभएका तर यहाँका बचतकर्ताको रकम हिनामिना गरेको झन्डै १० वटा सहकारी छन् ।

4

ती सहकारीहरूले बुटवलवासीको बचत र सेयर हिनामिना गरेको उजुरी परेपछि प्रदेश, संघमा आफूहरूले पठाएको रातोपाटीलाई बताए ।

बुटवल उपमहानगरपालिकाभित्र १३५ सहकारी छन् । बुटवलमा यसरी बचतकर्ताहरूको रकम हिनामिना गरेपछि अहिलेसम्म ६ वटा सहकारी पूर्ण रूपमा बन्द भएका छन् ।

बचतकर्ताको रकम हिनामिना भएको भन्दै सुप्रिम सहकारी साइन, सुनौलो, सार्थक, आयाम, आगन्तुक, उपदेश, उपकार, जनप्रिय, सुसन्देश, शुभश्री आदिका विरुद्ध निवेदन आएको खनालले बताए । ती सहकारी संघ र प्रदेशमा दर्ता रहेकाले उजुरीहरू सम्बन्धित निकायमा पठाएको उनको भनाइ छ ।

सुप्रिम सहकारीका सञ्चालकमाथि २ सय भन्दा धेरै बचतकर्ताले उजुरी दिएका थिए । उक्त सहकारीको उजुरी अहिले प्रदेशको गृह मन्त्रालयमा पुगेको लुम्बिनी प्रदेश सहकारी रजिस्ट्रार यम बहादुर कुँवरले रातोपाटीलाई बताए ।

लुम्बिनी प्रदेशमा ४ हजार ६ सय सहकारी छन् । तीमध्ये सात सय ८७ वटा सहकारी लुम्बिनी प्रदेशको कार्यक्षेत्रभित्र छन् ।

प्रदेश सरकारस्तरका सहकारीमध्ये अहिले एक दर्जन सहकारीमा बेथिति देखिएको छ । रजिस्ट्रार कुँवरले सहकारीमा ठगी सम्बन्धमा आएका उजुरी सल्टाउने काम भइरहेको रातोपाटीलाई बताए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा प्रवक्ता एसएसपी कृष्ण बहादुर पल्ली मगरले सहकारी बचतकर्ताहरुले आफ्नो रकम नपाएको उजुरी जिल्ला जिल्ला प्रहरी कार्यालयमा पनि दिइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप