शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

तीन महिनामा बैंकहरुले २ खर्ब ३९ अर्ब तरलता उपयोग गरे

सोमबार, २७ कात्तिक २०८०, १५ : ४४
सोमबार, २७ कात्तिक २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुले २ खर्ब ३९ अर्ब रुपैयाँभन्दा बढी तरलता उपयोग गरेका छन् । केन्द्रीय बैंकमार्फत स्थायी तरलता सुविधा, ओभरनाइट तरलता सुविधाबापत बैंक तथा वित्तीय संस्थाहरुले कूल २ खर्ब ३९ अर्ब ४९ करोड रुपैयाँ तरलता (कारोबारमा आधारित) उपयोग गरेका हुन् । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत १ अर्ब २० करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधामार्फत २ खर्ब ३८ अर्ब २९ करोड उपयोग गरेको केन्द्रीय बैंकले जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणहरुमार्फत खुद २३ खर्ब ५५ अर्ब ९ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो।

समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब २५ करोड ६३ लाख खुद खरिद गरी १ खर्ब ६६ अर्ब ५४ करोड तरलता प्रवाह गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब १९ करोड ९७ लाख खुद खरिद गरी १ खर्ब ५४ अर्ब ४ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो । 

समीक्षा अवधिमा अमेरिकी डलर ७२ करोड बिक्री गरी ९५ अर्ब ५४ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब २ करोड बिक्री गरी १ खर्ब ३० अर्ब ४१ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप