शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

पार्टीको सिफारिस विपरीत मन्त्रीका आफन्तलाई नियुक्ति

शनिबार, ०२ मङ्सिर २०८०, १६ : ४४
शनिबार, ०२ मङ्सिर २०८०

बुटवल । लुम्बिनी प्रदेशको दाङको राप्ती प्रादेशिक अस्पताल विकास समितिमा अध्यक्ष नियुक्त गर्दा पार्टीको सिफारिस एउटा तर नियुक्ति भने मन्त्रीको आफन्तले पाएको खुलेको छ । हालै लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले पार्टीको निर्णयविपरीत आफ्नै नातेदारलाई राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेपछि माओवादी केन्द्र दाङमा विवाद चर्किएको हो । 

मुख्यमन्त्री र स्वास्थ्यमन्त्री नभएका बेला कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका मास्कीले आफ्ना नजिकका मान्छेलाई अस्पताल विकास समितिको अध्यक्ष बनाएको आरोप लागेको छ । माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको कात्तिक १४ गते बसेको बैठकले शशी किरण ढकाललाई प्रादेशिक अस्पतालको अध्यक्षमा मनोनीत गर्न प्रदेश कमिटीलाई सर्वसम्मत सिफारिस गरेको थियो । 

3

तर अर्थमन्त्री मास्कीले पार्टीले सिफारिस गरेको व्यक्तिलाई नभई भान्जी ज्वाइँ नाता पर्ने सल्यानका दीपक शाहलाई कात्तिक २३ गते नियुक्त गरेपछि माओवादीभित्र विवाद चर्केको माओवादी नेताहरूले बताएका छन् । स्थानीय पार्टी कमिटीको निर्णयविपरीत मन्त्री मास्कीले आफू अनुकूलका व्यक्तिलाई नियुक्त गरेर मनोमानी गरेको भन्दै स्थानीय नेताहरू रुष्ट बनेको माओवादी जिल्ला कमिटीका एक सदस्यले रातोपाटीलाई बताए । 

तुलसीपुर नगर कमिटीले गरेको सिफारिसविपरीत पार्टीकै मन्त्रीले प्रादेशिक अस्पतालको अध्यक्षमा अर्को प्रदेश कर्णालीबाट सल्यानका शाहलाई मनोनीत गरेकोमा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीका अध्यक्ष खुसीराम चौधरीले असन्तुष्टि व्यक्त गरे । शाह यसअघि सल्यानको शारदा नगरपालिका–१५ मा वडा अध्यक्षमा माओवादी केन्द्रबाट चुनाव लडेर पराजित भएका थिए । 

कात्तिक २३ गते कार्यवाहक मुख्यमन्त्री तथा स्वास्थ्य मन्त्रीको हैसियतमा मास्कीले अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेका थिए । जसअनुसार प्रदेशका १३ वटा अस्पताल विकास समितिमध्ये नेपाली काँग्रेसलाई ६, माओवादीलाई ४, जसपा, लोसपा र एकीकृत समाजवादीलाई एक–एक वटा अस्पताल विकास समितिको अध्यक्ष दिइएको थियो । 

यता लुम्बिनी प्रदेशमा गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष पाण्डेयले मन्त्रिपरिषद्ले निर्णय गर्दा सबैको सल्लाह भएको तर मन्त्रीको आफन्तभन्दा पनि त्यहाँ नाम मात्र हेरिएको बताए । हाल नियुक्त भएका दीपक शाहको ठेगाना दाङ उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप