शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
मंसिर ७ को प्रदर्शनी

एमाले र दुर्गा प्रसाईं आमनेसामने : तिक्ततापूर्ण सम्बन्धका कारण संशय

आइतबार, ०३ मङ्सिर २०८०, १९ : ४५
आइतबार, ०३ मङ्सिर २०८०

काठमाडौँ । एमाले निकट राष्ट्रिय युवासंघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एकै दिन (मंसिर ७ गते) राजधानीमा गर्ने भनिएको प्रदर्शनीलाई संशयपूर्ण ढंगले हेरिएको छ । पछिल्लो समय यी दुवै पक्षको सम्बन्ध तिक्ततापूर्ण देखिएकाले एकै दिन आमनेसामने हुँदा परिस्थिति के हुने भन्ने चिन्ता सर्वत्र देखिन्छ । 

भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकता बढेकाले आफूहरूले ७ गते शान्तिपूर्ण ढंगले विरोधसभा गर्न लागेको युवा संघका अध्यक्ष क्षितिज थेबेले बताएका छन् । ‘यो जनप्रदर्शन वा सडक संघर्ष केही होइन । विरोधसभा मात्र हो,’ अध्यक्ष थेबेले भने, ‘हामीविरुद्ध कुनै माफियाहरू जाइलाग्न आए, त्यसको प्रतिवाद गर्छौं । कसैले चाहँदैमा युवा संघलाई झुकाउन सक्दैन ।’

राज्य व्यवस्था र गणतन्त्रका विरुद्ध सडकमा खुलेयाम अराजकता मच्चाउँदा समेत सरकार बेखबर भएर बस्नु लाजमर्दो विषय भएको उनले टिप्पणी गरे ।

यता, आफूहरूले व्यवस्थाविरुद्ध जनविद्रोह गर्न लागेको प्रसाईंले बताएका छन् । ‘कम्तीमा ५ लाख मानिस काठमाडौँ पुग्दै छन् । जनताले गर्ने विद्रोह श्रीलंकाको जस्तै हुनेछ । शान्तिपूर्ण हुन्छ । हामी लडाइँ गर्न जाँदैनौँ । हामीसँग हतियार छैन । तर यो व्यवस्था नढलेसम्म आन्दोलन जारी रहन्छ,’ प्रसाईंले आइतबार दिउँसो टेलिफोनमार्फत भने, ‘हाम्रो विद्रोहमा राजा, राष्ट्रवादीको पनि ऐक्यबद्धता छ । राजा भनेको राष्ट्रवादी मान्छे हो । राजाले त देश जोडेको हो नि । अनि राजा सडकमा आउँदा किन आतंकित हुनुपर्यो ? राजा सडकमा आए जनतालाई झनै हौसला बढ्छ ।’ 

युवा संघको विरोधसभालाई माउ पार्टी एमालेले अपनत्व लिने निर्णय गरिसकेको छ । शनिबार राजधानीमा युवा संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारकै कारण देश गम्भीर अवस्थामा पुगेको र अराजकता बढेको आरोप लगाए । लोकतान्त्रिक व्यवस्थामाथि कसैले धावा बोले एमाले चुप लागेर नबस्ने ओलीको चेतावनी थियो । सिंगो पार्टीको आडभरोसा पाएर हौसिएको युवा संघले विरोधसभालाई शक्ति प्रदर्शनका रूपमा समेत लिएको छ । 

यता, माओवादी, एमाले हुँदै पछिल्लो समय आफूलाई स्वतन्त्र अभियन्ता घोषणा गरेका प्रसाईंले आफूहरूको अभियानमा पूर्वराजावादी, राप्रपासहित राष्ट्रवादी शक्तिहरूको ऐक्यबद्धता रहेको बताएका छन् । 

तिक्ततापूर्ण सम्बन्ध

कम्बोडियाको टेलिकममा ओलीको अर्बौं लगानी रहेको गम्भीर आरोप लगाएपछि आक्रोशित एमाले कार्यकर्ताले गत महिना प्रसाईंलाई कालोमोसो दलेका थिए । युवा संघको व्यवहारबाट चिढिएका उनले अध्यक्ष ओली र एमाले नेता महेश बस्नेतविरुद्ध विषवमन गर्दै आएका छन् ।

दुवै पक्षले आफूहरूको प्रदर्शनी शान्तिपूर्ण रहने बताएका त छन्, सँगसँगै दुवैले आफ्नो प्रदर्शनीलाई प्रतिष्ठाको विषय बनाएकाले हिंसा भड्कन सक्ने चिन्ता थपिएको छ । दुई पक्षबीचको तिक्ततापूर्ण सम्बन्धका कारण पनि काठमाडौँ उपत्यकाको सुरक्षा चुनौती थपिन सक्ने गृह मन्त्रालयको आकलन देखिन्छ । यही विषयलाई लिएर काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसँग आइतबार गृहका अधिकारीले सुरक्षा चुनौतीबारे छलफल गरे । 

 गणतन्त्रमाथि प्रहार !

पछिल्लो समय संसद्, सडक र सामाजिक सञ्जालमार्फत व्यवस्थामाथि नै प्रहार हुने क्रम बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत हप्ता गणतन्त्र पक्षधर दलहरूको बैठक बोलाएका थिए । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको बैठकमा पछिल्ला गतिविधिलाई गम्भीर विश्लेषण गरिएन मात्रै, लोकतान्त्रिक गणतन्त्रविरुद्ध आक्रमण भए गणतन्त्र पक्षधर दलहरू एकजुट भएर प्रतिवाद गर्ने सहमति समेत गरियो । यसलाई पूर्वराजावादी तथा पुरातनपन्थी दलहरूले गणतन्त्रको जग नै हल्लिएको रूपमा लिएका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र नै कमजोर जगमा उभिएकाले हल्लिन थालेको बताउँछन् । प्रसाईंले राप्रपाले उठाएको एजेन्डा बोकेकाले अघोषित रूपमा समर्थन रहने उनको भनाइ छ । ‘गणतन्त्र कमजोर जगमा उभिएको छ । त्यसैले हल्लिन थालेको छ । राजसंस्था वा हिन्दुराष्ट्र कायम गर्छु भनेर कसैले आन्दोलन गर्छ भने समर्थन रहनु स्वाभाविकै हो । राप्रपाका एजेन्डालाई कसैले उठाउँछ भने हाम्रा लागि त्यो खुसीको कुरा हो । प्रत्यक्ष रूपमै सामेल वा सहकार्य नभए पनि अप्रत्यक्ष समर्थन रहन्छ,’ उनले भने, ‘गणतन्त्र, धर्म निरपेक्षताविरुद्ध पार्टीले सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्नेछ । त्यही विषयमा छलफल गर्न पुसको पहिलो हप्ता केन्द्रीय कार्य सम्पादन समिति बैठक बोलाएका छौँ ।’

विर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र शाह यही ९ गते झापा जाँदै छन् । चाडबाड वा विपत्तिका बेला विज्ञप्ति निकालेर भए पनि आफू जनतासँगै रहेको संकेत गर्दै आएका शाह तीर्थाटनका नाममा विभिन्न शक्तिपीठ पुगी नागरिकहरूसँगको भेटघाटमा समेत सक्रिय देखिन्छन् । भारत, थाइल्यान्ड, सिंगापुर पुगेर राजनीतिक भेटघाटमा व्यस्त रहने शाह ९ गते झापा जानुलाई पनि राजनीतिक भेटघाटकै सिलसिलाको रूपमा धेरैले अथ्र्याएका छन् । आफू पनि झापामै हुने हुँदा शाहसँग भेटघाट हुन सक्ने राप्रपा अध्यक्ष लिङ्देनले अनुमान गरे ।

पूर्वराजावादीहरूको सक्रियता बढ्दैमा राजसंस्था फर्केर आउने सम्भावना नदेखिएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन् । राज्य व्यवस्थामाथि पछिल्लो समय भइरहेको प्रहारबाट धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने दाउमा राजावादीहरू रहेको उनको बुझाइ छ । 

‘देशका विभिन्न ठाउँमा देखिएको निराशा, धार्मिक तथा सामाजिक सद्भावविरुद्ध भइरहेको गतिविधिका कारण धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने दाउमा राजावादीहरूको दाउ देखिन्छ,’ उनले भने, ‘अहिलेको अवस्थाले व्यवस्था नै ढल्छ भन्ने म देख्दिनँ । बरु सत्तामा बस्नेले जनताका आक्रोश समयमै व्यवस्थापन गर्न नसक्दा अराजकताको हातमा राज्यशक्ति जाला तर राजतन्त्र फर्कने सम्भावना देखिँदैन ।’

व्यवस्था बदलिए पनि अवस्था नबदलिँदा आम नागरिकमा निराशा बढेको विश्लेषक श्रेष्ठको बुझाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप