शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–बाबुराम बिचको अविश्वास अन्त्य भयो, छिट्टै पार्टी एकता हुन्छ : सहअध्यक्ष श्रेष्ठ

बिहीबार, ०७ मङ्सिर २०८०, १६ : ३४
बिहीबार, ०७ मङ्सिर २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईको बिचमा अविश्वासको अन्त्य भएको बताएका छन् । 

बिहीबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका श्रेष्ठले प्रचण्ड र भट्टराईको बीचमा अविश्वासको अन्त्य भएकोले छिट्टै दुई पार्टीको एकता हुने बताएका हुन् । उनले दुई नेताका बिचमा कुनैपनि प्रकारको असमझदारी नभएको बताए । उनले क्रान्तिकारी शक्तिहरु छिन्नभिन्न नभई एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको वस्तुगत आवश्यकता भएको उल्लेख गर्दै सो वस्तुगत आवश्यकताको बोध दुवै शीर्ष नेताहरुमा भएको बताए ।

अध्यक्षद्वय प्रचण्ड र भट्टराई एकताबद्ध भएर जाने निष्कर्षमा पुगेको भन्दै अब एकता प्रक्रियामा विलम्ब नहुने सहअध्यक्ष श्रेष्ठले बताए । उनले एकता प्रक्रिया कुनैपनि बहानामा पछाडि नफर्किने बताए ।

सहअध्यक्ष श्रेष्ठले प्रतिगामी शक्तिहरु एकताबद्ध हुँदै गइरहेको भन्दै सो कुरा अग्रगामी शक्तिहरुले चिन्ता गर्नुपर्ने विषय भएको बताए । प्रतिगामी शक्तिहरु एक हुनासाथ संघीयता, गणतन्त्र र संघीयता खारेज नहुने उनको भनाई छ । उनले नेपालबाट अब संघीयता र गणतन्त्रलाई अब कसैले हटाउन नसक्ने बताए ।

सहअध्यक्ष श्रेष्ठले माओवादी केन्द्र र नेसपामात्रै नभई विगतमा जनयुद्ध, जनआन्दोलनमा सहभागी सबै शक्तिहरु पुनः एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप