शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

राजनीतिमा प्रचण्ड र बाबुराम एक ठाउँमा उभिनुको ठुलो अर्थ रहन्छ : गंगा श्रेष्ठ

‘पूर्वमाओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प छैन’
शुक्रबार, ०८ मङ्सिर २०८०, ०९ : ५८
शुक्रबार, ०८ मङ्सिर २०८०

पूर्वसहमति अनुसार बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता गर्ने सर्वसम्मत निर्णय गर्‍यो । बुधबार केन्द्रीय कार्यालय सुविधानगरमा बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसहित समाजवादी धारबिच एकता गर्ने निर्णय गरेको थियो । बैठकले अध्यक्ष बाबुराम भट्टराई नेतृत्वको एकता समायोजन समिति बनाउने निर्णयसमेत गर्‍यो । एकता प्रक्रियालाई लिएर पछिल्लो समय प्रचण्ड र बाबुरामबिच सम्बन्ध चिसिएको थियो । एकतालाई लिएर नेसपाभित्रै अध्यक्षद्वय बाबुराम र महिन्द्र यादवबिचमा मतभेद बढ्दै गएपछि फेरि पार्टी विभाजन हुने हो कि भन्ने आशंकालाई मलजल गर्‍यो ।

अन्ततः एकता प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेसँगै ८ वर्षपछि प्रचण्ड–बाबुराम पुनर्मिलनको तयारीमा छन् । बैठकको निर्णय, प्रचण्ड–बाबुरामबिच विवाद र सम्बन्ध, एकताको मोडालिटी लगायत विषयमा रातोपाटीका संवाददाता गणेश पाण्डेले बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री समेत रहेका नेसपाका सहअध्यक्ष एवं वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश -

पार्टी विभाजन हुने हो कि भन्ने आशंकाबिच माओवादीसँग एकता गर्ने निर्णय नेसपाले सर्वसम्मत गरेको छ, कसरी सम्भव भयो ?

माओवादीसहित समाजवादी दलहरूसँग एकता र धु्रवीकरण गर्ने सहमति गत वर्ष निर्वाचनअघि नै गरेको हो । त्यही सहमतिको आधारमा सिट बाँडफाँट, एउटै निर्वाचन चिह्न र साझा घोषणापत्र लिएर चुनावमा भाग लियौँ । बिचमा समाजवादी मोर्चा गठन र माओवादी केन्द्रको पत्राचारले पार्टीभित्र केही समस्या आयो । यद्यपि पानी बाराबारको स्थिति होइन । हाम्रो निरन्तर छलफल, परामर्श तथा सक्रियताले प्रचण्ड र बाबुरामलाई एक ठाउँमा ल्याउन सफल भयौँ । सिङ्गो केन्द्रीय समितिले माओवादीसहित समाजवादी दलहरूसँग एकता र धु्रवीकरण गर्ने सर्वसम्मत निर्णय गर्‍यो । यो खुसीको कुरा हो ।

मन्त्री र सांसद पद जाने डरले एकताका लागि बाबुराममाथि तपाईंले निरन्तर दबाब दिएको आरोप छ नि ?

बाबुरामले एकता चाहेका छैनन्, गंगा र महिन्द्र एकता नगरी नछाड्ने भन्ने जुन आरोप छ, त्यो अतिवादी सोचको भाष्य हो । सिङ्गो पार्टीको निष्कर्ष पार्टी एकता अहिलेको आवश्यकता हो । एकता माओवादी केन्द्र र नेसापबिचमा मात्र होइन, समाजवादी धु्रवीकरण गरिएको छ । फराकिलो दृष्टिकोणसहित बृहत् समाजवादी मोर्चा निर्माण हो । माओवादी र नेसपाबिच तत्काल एकता हुने र अन्यसँग समाजवादी धु्रवीकरण गर्ने पहिल्यै सहमति भएको थियो । त्यो बाबुराम, महिन्द्र र मैले भनेको पनि कुरा एउटै हो ।

यसको मतलव नेसपालाई लगेर माओवादीमा विलय गराउने होइन । एकताका लागि यसअघि पठाएको ९ बुँदे पत्रको आधारमा विचार, सिद्धान्त, संगठनमा बहस तथा छलफल गरेर अगाडि बढ्छौँ । महिन्द्र र मचाहिँ जसरी भए पनि झुकेर वा विलय भएरै एकता गर्न तयार र बाबुराम जाँदै हुँदैन वा पानी बाराबार भन्ने होइन । बाबुराममाथि दबाब दिएको कुरा सत्य होइन ।

पछिल्लो समय प्रचण्ड र बाबुरामबिच पानी बाराबारको स्थिति किन आयो ?

मेरो विचारमा उहाँहरूबिचमा कम्युनिकेसन ग्याप हो जस्तो लाग्छ । बृहत् समाजवादी मोर्चाको अवधारणा बाबुरामजीले ल्याएका हुन् । तर प्रचण्डजीले उहाँसँग सल्लाह नगरी समाजवादी मोर्चा घोषणा गरे । यस्तै पछिल्लो समय अर्का अध्यक्ष महिन्द्रजीको नाममा एकताका लागि पत्राचार भएपछि त्यसले संशय पैदा भयो । यी दुई कारणले प्रचण्ड र बाबुरामबिच आपसी सम्बन्ध चिसिएको हुनसक्छ ।

अहिले पनि हामी माओवादी संसदीय दलमै छौँ । यसले सम्बन्ध सुधार गर्न मद्दत गरेको छ । दुवै नेताहरू मिलेर आजको आवश्यकता पूरा गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुग्यौँ । पार्टीभित्र पनि बाबुरामरहित एकता हामीले कहिल्यै सोचेनौँ । बाबुरामसहित सोच्यौँ । बाहिर देखिएका यी सबै भ्रम असत्य प्रमाणित भएको छ । यसमा बाबुरामजी पनि तयार हुनुभयो । सर्वसम्मत रुपमा हिजो हामीले एकता र धु्रवीकरण गर्ने विषय एकमतले पारित गर्‍यौँ । यसले एकता र समाजवादी धु्रवीकरणलाई सकारात्मक ऊर्जा दिएको छ ।

यदि एकता प्रक्रियामा बाबुरामले जान नमानेको भए नेसपाको अवस्था के हुन्थ्यो ? विभाजनमा जान्थ्यो वा अझै फकाउने प्रयास जारी रहन्थ्यो ?

उहाँ मान्नुहुन्न भन्ने मलाई भित्रबाट लागेको थिएन । मैले बाबुराम र प्रचण्डलाई चिनेको छु । उहाँहरू कसरी बोल्नुपर्छ ? मनोविज्ञान के हो ? यी सबै कुरा मैले नजिक रहेर बुझेको छु । दुई शीर्ष नेताहरूलाई मिलाउन सकिन्छ भन्नेमा म विश्वस्त थिएँ । जहाँसम्म नमिलेको भए के हुन्थ्यो भन्ने हाइपोथेटिकल प्रश्न छ, हामीले संसदीय दल, मन्त्रीबाट नैतिकताको आधारमा राजीनामा दिनुपर्थ्यो । संसदीय दलमा माओवादी केन्द्रको सदस्यको रुपमा बस्ने,  अनि पार्टीचाहिँ अलग भएर पानी बाराबारको स्थितिमा बस्न नैतिकताले मिल्ने थिएन । त्यो अवस्था आउँदैन भन्ने लागेको थियो र आएन पनि ।

निर्वाचनअघि एउटै चुनाव चिह्न र साझा घोषणापत्रमा निर्वाचन लड्ने प्रचण्ड र बाबुरामबिच भएको सहमतिलाई लिएर तपाईं असन्तुष्ट रहेको अरोप छ नि, यसमा कत्तिको सत्यता छ ?

त्यो शतप्रतिशत सत्य होइन । त्यतिबेला यो वातावरण बनाउने मुख्य नेतामध्ये एक म हुँ । माओवादी केन्द्रले आठौँ महाधिवेशनले पारित गरेको राजनीतिक दस्तावेज हेरेर नेसपाले सबैभन्दा नजिकको राजनीतिक शक्ति माओवादी केन्द्र भनेको हो । अहिले पनि त्यो दस्तावेजमा माओवादीले कमा र फुलिस्टप पनि परिवर्तन गरेको छैन । यी दस्तावेजकै आधारमा पार्टी एकता गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेका हौँ । परिस्थितिमा कुनै फेरबदल नआएको अवस्थामा पार्टी एकता गर्न सकिँदैन भन्ने ठाउँ छैन ।

एकातिर पार्टी एकताको निर्णय गर्ने अर्कोतिर राष्ट्रिय सम्मेलनको पनि तयारी गर्ने विरोधाभाष भएन र ?

यस्तो खालको अन्तरविरोध छैन । पहिलो कुरा एकता आजै भइहाल्छ भन्ने होइन । पार्टी भइसकेपछि विचार, राजनीति, अर्थशास्त्री सोच, संस्कृति, संगठन नेतृत्व लगायत धेरै कुरा आवश्यक पर्छ । यी विषय टुङ्ग्याउनका लागि एकता संयोजन समिति बनाएका छौँ ।

संयोजन समितिले काम गर्दै जाँदा एक÷दुई वा ६ महिना लाग्न सक्छ । त्यतिबेलासम्म पार्टी निष्क्रिय राख्ने कुरा आउँदैन । पार्टी एकता गर्ने निर्णय भइहाल्यो, अब सकियो भन्ने हुँदैन । आ–आफ्नो पार्टी अलग रहँदासम्म जीवन्त दिइराख्नुपर्छ ।

संगठन निर्माण, भेला सम्मेलन गरिराख्नु पर्छ । बैठक बसिराख्नुपर्छ । कार्ययोजना बनाउनु पर्छ । संगठन सुदृढीकरणका लागि यसअघि नै साउनमा हामीले अभियान चलाएका थियौँ । त्यसमा दुई महिना थप गरी फागुन मसान्तसम्म संगठन बनाउने निर्णय गरेका छौँ । त्यतिबेलासम्म स्थानीय तह, प्रदेशमा भेला सम्मेलन गर्ने र वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने भनेका छौँ ।

यसै बिचमा विधान संशोधनका लागि मस्यौदा समिति बनाएका छौँ । अहिले हामीसँग अन्तरिम विधानमात्र छ । राष्ट्रिय सम्मेलनअघि नै पार्टी एकता भए भइहाल्यो । एकता भएन भने राष्ट्रिय सम्मेलनमा जानुपर्ने हुन्छ । त्यसकारण राष्ट्रिय सम्मेलन घोषणाले पार्टी एकीकरण हुँदैन कि भन्ने सोच्नु भएन । यसले एकतालाई मद्दत नै गर्छ ।

बाबुराम नेतृत्वको एकता संयोजन समितिले ध्रुवीकरणका लागि राष्ट्रियस्तरमा भूमिका खेल्छ । दुई चारजना नेताले काम पाउलान् । अनि समग्र नेता तथा कार्यकर्ताहरू के गरेर बस्ने ? संगठनमा एउटा बिजनेस दिनुपर्‍यो ।

प्रचण्डले पहिला पार्टी एकता गरौँ, बाँकी कुरा विशेष महाधिवेशनबाट टुङ्ग्याउँला भनेर प्रस्ताव गर्नुभयो भने मान्य हुन्छ कि हुँदैन ?

त्यो मान्य हुँदैन । त्यसकै लागि शीर्ष नेताहरूको नेतृत्वमा एकता संयोजन समिति बनाएको हो । यति काम त वार्ता समितिले पनि गर्न सक्थ्यो । यति कामका लागि प्रचण्ड र बाबुरामकै नेतृत्वमा समायोजन समिति बनाइरहनु आवश्यक थिएन । वैचारिक, राजनीतिक, सांगठनिक कुराहरू मिलाउन अधिकार दिएर नै समिति बनाएको हो । त्यसकारण ल आउनुहोस्, पहिला एकता गरौँ अनि महाधिवेशनमा जाउँला भन्ने हुँदैन । धेरै कुरा टुङ्ग्याएर मात्रै एकता हुन्छ ।

एकता क्षणिक स्वार्थको रसायन हो कि दीर्घकालीन सोचका साथ आएको हो ?

एकता तत्कालको रसायनमात्र हो कि दीर्घकालीन सोच विचारले गर्न लागिएको हो भन्ने सम्बन्धमा नेताहरूको व्यक्तिगत इच्छा, चाहना फरक पर्न सक्छ । तर नेताहरू एउटा व्यक्ति मात्र नभइ संस्था हो । प्रचण्ड वा बाबुराम वा अन्यको कुरा गरौँ । उहाँहरूले व्यक्तिगत रुपमा कुरा गर्ने राजनीतिक छुट हुँदैन । समाजले के माग गरिराखेको छ ? अहिलेको वस्तुगत धरातलीय आवश्यकता के हो ? देशले के माग गर्‍यो ? ती महत्त्वपूर्ण कुरा हुन्छ । एकता अहिले सबैतिरको म्याण्डेट हो । तिमीहरुले गणतन्त्र ल्यायौ अब अवस्था बदल्न, सामाजिक आर्थिक रुपान्तरण गर्न एकजुट भएर जाऊ भन्ने जनताको म्याण्डेट हो । त्यही म्याण्डेटभित्र बसेर प्रचण्ड र बाबुराम एक ठाउँमा आउने दिशातिर गइरहेका छन् । यो दाउपेचको रुपमा उपयोग गरिहालौँ भन्दा पनि एकतासहित सामाजिक, आर्थिक रुपान्तरणबाट मात्रै समाजवादको आधार तयार हुने निष्कर्ष शीर्ष नेताहरूको हो ।

पार्टीमा छलफल र संघर्ष हुन्छ । माओवादीकालमा पनि पटकपटक एकता, संघर्ष, रुपान्तरण र नयाँ आधारमा नयाँ एकता गर्दै आएका हौँ । उहाँहरूको हिजो एकता थियो । एकताकै बिचमा संघर्ष भयो । संघर्ष बिस्तारै रुपान्तरण भइराखेको छ । यसले नयाँ आधारमा नयाँ एकता बनाउँछ ।

एकता भनेपछि विचारको संश्लेषण हुन्छ । अर्को संगठनात्मक स्वरुप पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । यसलाई कसरी हल गर्नुहुन्छ ?

पहिलो कुरा राजनीतिक र वैचारिकरुपले प्रस्टता हो । विचारमा सहमत भइसकेपछि पद भन्ने कुरा तपसिलका कुरा हुन् । जसले जुन जिम्मेवारी लिँदा त्यो विचारलाई भौतिक सत्यमा रुपान्तरण गर्न सक्छ, त्यसले त्यही जिम्मेवारी लिने हो । अहिले नै रिजिक्ट(अडान) लिएर यही पद लिने भन्ने हुँदैन । प्रचण्ड र बाबुराम हिजो हलगोरु जस्ता थिए । आज अलि अलगअलग भएजस्तो देखिएको हो । फेरि भोलि समयले त्यही भूमिका र जिम्मेवारीमा लैजाँदै छ । प्रचण्ड र बाबुराम एक ठाउँमा उभिनुको राजनीतिमा ठूलो अर्थ रहन्छ । त्यसकारण बाबुरामको के भूमिका होला ? के जिम्मेवारी होला भनेर चिन्ता गर्नुपर्ने अवस्था होइन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप