आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
व्यवस्था विरोधी आन्दोलन

आन्दोलनमा होमिएका दुर्गा प्रसाईंसँग किन ‘कन्भिन्स्ड’ छैन राप्रपा ?

आन्दोलनमा पूर्वराजाको मौनता !
शुक्रबार, ०८ मङ्सिर २०८०, १२ : १७
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौँ । ‘पाँच अर्बभन्दा बढी ऋण लिएर, ब्याज र किस्ता नतिरेर, अहिले त ८ अर्ब पुग्न लागेको छ । कति पैसा विदेशमा पठाएर बसेको छ । त्यो मान्छेले अब बैंकको ब्याज नतिर्ने, ऋण नतिर्ने भन्दाखेरी ताली बजाएर कुद्छन् मान्छे । उसले राजा ल्याइदिन्छ, हिन्दु राष्ट्र ल्याइदिन्छ भनेर मान्छे कुद्छन् ल ! यस्तो पनि कार्यकर्ता र नेता भइन्छ ? यसरी पनि पार्टी चल्छ ? अगाडि बढिन्छ ?’

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ हो यो । गत वर्षको फागुनमा इलाममा आयोजित एक कार्यक्रममा लिङ्देनले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंविरुद्ध दिएको आक्रामक अभिव्यक्ति यतिबेला सामाजिक सञ्जालमा बहसको विषय बनेको छ ।

उनले ‘बैंक ठग’लाई राप्रपाले समर्थन नगर्नेसमेत बताएका थिए । ‘एउटा बैंक ठगलाई मैले समर्थन गरेर हिँडौँ ? त्यो बैंकको पैसा भनेको बैंकको पैसा होइन हजुर, तपाईँहरुले बचत गरेको पैसा हो,’ उनले भनेका थिए, ‘नेपाली जनताको पैसा लगानी हुन्छ, फेरि बचत हुन्छ । त्यो बैंक डुब्दा तपाईं हाम्रो लगानी पनि डुब्ने हो । बैंकबाट पैसा लिएर विदेशमा चोरबाटोबाट पैसा लैजाने अनि यहाँ पैसा नतिर्ने, तिर्नै पर्दैन भनेर साह्रै राम्रो कुरा उठायो भनेर कुदिहाल्ने ?’

प्रसाईंले २०७९ फागुन १ मा झापाको काँकडभिट्टाबाट पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनका परिवारका सदस्यलाई दायाँबायाँ राखेर ‘नागरिक बचाउने महाअभियान’ सुरु गरे पनि त्यसप्रति आविश्वास प्रकट गर्दै लिङ्देनले यस्तो अभिव्यक्ति दिएका थिए । त्यतिमात्रै होइन, लिङ्देनलाई कार्यक्रममा निम्ता दिइए पनि अनुपस्थित रहेका थिए । उनीमात्रै होइन, प्रसाईंले एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा (नेपाल)का अध्यक्ष कमल थापा, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतलाई कार्यक्रममा आउन सार्वजनिक आह्वान गरे पनि पूर्वराजपरिवारका सदस्यबाहेक कोही गएका थिएनन् ।

झापाको औपचारिक कार्यक्रमपछि प्रसाईंले विभिन्न चरणको कार्यक्रम गर्दै यतिबेला काठमाडौँ केन्द्रित अभियान थालेका छन् । तर, प्रसाईंको आन्दोलनप्रति राप्रपासहित धेरै राजावादी संघ संगठन ‘कन्भिन्स्ड’ हुन सकेका छैनन् । प्रसाईंले बिहीबारदेखि सुरु गरेको ‘व्यवस्था विरोधी’ आन्दोलनमा राप्रपाका केही नेताले व्यक्तिगत रुपमा साथ दिए पनि राजतन्त्रको आवश्यकता औँल्याउने गरेको राप्रपाले संस्थागतरुपमा केही निर्णय गरेको छैन । प्रसाईंको अभियानबारे ९ महिनाअघि ‘कठोर’ अभिव्यक्ति दिएका लिङ्देन अझै पनि सकारात्मक नरहेको उनको प्रतिक्रियाले स्पष्ट हुन्छ ।

‘हाम्रा साथीहरु सहभागी भए होलान् । तर, संस्थागत रुपमा हाम्रो कुनै निर्णय भएको छैन’, रातोपाटीसँग संक्षिप्त कुरा गर्दै लिङ्देनको बिहीबार भनेका थिए, ‘आन्दोलनको विषयमा मेरो कुनै प्रतिक्रिया छैन । हामीले यसलाई एकदमै होसियारीपूर्वक हेरिरहेका छौँ ।’

राप्रपाको नेतृत्वपंक्ति दुर्गा प्रसाईंको यो आन्दोलनलाई राजनीतिक एजेण्डाबिहीन मान्दछ । बरु, यो आन्दोलन कसैको आर्थिक स्वार्थ पूरा गर्न केन्द्रित रहेको उनीहरुको ठहर छ । अहिले नै व्यवस्था परिवर्तनका लागि आन्दोलन गरिहाल्ने अवस्था नभएको पनि राप्रपा नेतृत्वपंक्तिको ठहर छ ।

बरु राप्रपाले पार्टीको एजेण्डाअनुसारको आन्दोलनका लागि तयारी गरिरहेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलनका लागि विगतमा एउटा कमिटी बनेको र कमिटीले तयार गरेको कार्ययोजनाबारे कार्यसम्पादन समितिमा सामान्य छलफल पूरा भएको छ ।

कार्ययोजनालाई पुनर्लेखन तथा अन्तिम रुप दिनका लागि उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा अर्को कमिटी बनाइएको छ । अहिले त्यो कार्ययोजनालाई अर्का उपाध्यक्ष रवीन्द्र मिश्रसमेत मिलेर ‘वर्क आउट’ भइरहेको बताइएको छ ।

श्रेष्ठका अनुसार अबको कार्यसम्पादन समितिमा पेस भएर आवश्यक निर्णय हुन्छ । ‘कार्ययोजना कार्यसम्पादन समितिले पास गरेपछि त्यो केन्द्रीय समिति बैठकमा गएर आवश्यक निर्णय हुन्छ’, श्रेष्ठको भनाइ छ ।

राप्रपाको केन्द्रीय समिति बैठक आगामी पुस पहिलो साताका लागि तय गरिएको छ । श्रेष्ठले प्रसाईंसँग मिलेर जानेबारेमा पार्टीभित्र कुनै औपचारिक छलफल भइनसकेको स्पष्ट गरे ।

प्रसाईंसँग ‘कन्भिन्स्ड’ छैन राप्रपा

पार्टीले प्रसाईंको आन्दोलनलाई सघाउनेबारे कुनै संस्थागत निर्णय नगरे पनि पार्टीकै केही नेता र कार्यकर्ताहरुको सहभागिता स्वतस्फूर्तरुपमा रहेको भने स्वीकार गर्छन् ।

उसो त राप्रपाको संस्थापन पक्षका नेताहरु प्रसाईंको आन्दोलनको दिशा नै स्पष्ट नरहेकाले नेताहरुनै ऐक्यबद्धता प्रकट गर्न हतार गर्न नहुने बताउँछन् । ‘अब राजा फर्काउने भनेर कमल थापाले भनिरहेका छन्, उनले आन्दोलन गर्दा त्यहाँ जाने, केशर बहादुरले गर्लान्, त्यहाँ पनि गइदिने र अन्य विभिन्न समूहले पनि गर्लान्, त्यहाँ पनि जिम्मेवार नेताहरु गइदिने त ?’ एक नेताले भने, ‘पार्टीका जिम्मेवार नेताहरु आधिकारिक लाइनबिना ऐक्यबद्धता जनाउँदै जानुले राम्रो सन्देश जाँदैन ।’

उनले प्रसाईंको आन्दोलनमा राजतन्त्र फर्काउने एजेण्डा समेत रहेको भनिए पनि सुरुवाती प्रस्तुति नै अराजक रहेकाले विश्वास गरिहाल्ने अवस्था नरहेको समेत प्रतिक्रिया दिए ।

‘यो एजेण्डाको मुल संवाहक शक्ति भनेको राप्रपा हो । यो एजेण्डालाई आजका दिनसम्म परिवर्तनको रापतापबाट पनि जोगाएर यहाँसम्म ल्याउने पार्टी भनेको राप्रपा नै हो’, ती नेताको भनाइ छ, ‘परिस्थिति सहज बन्दै गएपछि त धेरै मान्छे जोडिने भए । तर, राप्रपा र राप्रपाको नेतृत्वलाई लल्कारेर वर्तमान व्यवस्था परिवर्तन हुन्छ भन्ने तर्क गरिएको छ ।’

प्रसाईँको आन्दोलनको कुनै सैद्धान्तिक जगसमेत नरहेकाले ‘कन्भिन्स्ड’ हुन नसकिरहेको राप्रपाका नेताहरुको भनाइ छ । ‘सबैभन्दा पहिला कुन सैद्धान्तिक जगमा यो आन्दोलन भइरहेको छ भन्ने प्रसाईंले स्पष्ट पार्नुपर्छ । राजसंस्थाको विषयमा के गर्ने ? राजनीतिक दलहरुसँग सहकार्य गर्ने हो कि हैन ? सत्तै पल्टाउने हो कि ? जनव्रिदोहबाट सिंहदरबारमै हुल पस्ने हो कि ? के गर्ने ? यो स्पष्ट भएको छैन’, राप्रपाका अर्का एक नेताको भनाइ छ ।

यसैगरी समान विचारधारा भएकाहरुसँगको व्यवहारमा पनि प्रसाईंको आन्दोलनको भविष्य निर्धारण हुने राप्रपाको बुझाइ छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रसाईंले औपचारिक रुपमा सहकार्यका लागि राप्रपालाई कुनै आह्वान वा छलफल गरेका छैनन् । अहिलेसम्म सहकार्यको स्थिति नरहेकाले पार्टीले परिस्थितिलाई नजिकबाट नियाल्ने काममात्रै गर्दै आएको उनको भनाइ छ ।

‘राप्रपा अहिलेको अवस्थामा परिस्थितिलाई नजिकबाट नियाल्दै पर्ख र हेरको नीतिमा छ’, श्रेष्ठले भने, ‘हामी वर्तमान अवस्था र व्यवस्था नै परिवर्तन गर्नु पर्छ भन्नेमा स्पष्ट छौँ । छिट्टै पार्टीले निर्णय गरेर आवश्यकताअनुसार अघि बढ्छ ।’ तर, प्रसाईंको स्वभावका कारण राप्रपाले उनको आन्दोलनमा भने अविश्वास प्रकट गरेको श्रेष्ठको संकेत थियो ।

हिन्दु राष्ट्र र राजसंस्थाको नारा सडकमा गुञ्जायमान हुनुमा यो एजेण्डाको प्रमुख संवाहकको नाताले सन्तोष र गर्वको अनुभूति गर्ने श्रेष्ठले बताए ।

कहिले गर्छ राप्रपाले आन्दोलन ?

राप्रपाका महामन्त्री धवलशमशेर राणा अन्दोलनको तयारी अन्तिम चरणमा पुगेकाले निर्णय गरेर कार्यान्वयनमा लगिने बताउँछन् । ‘आन्दोलनको स्वरुप तयार गर्न कार्यसम्पादन समितिले एउटा कमिटी बनाएको छ । कमिटीले पेपर पनि तयार गरिसकेको छ । अब छिट्टै त्यसलाई पारित गरेर अघि बढ्छौँ’, उनले भने ।

राणाले प्रसाईंको आन्दोलनलाई सकारात्मक रुपमा लिइएको भए पनि पार्टीले यसबारे आधिकारिक निर्णय भने नलिएको बताए । ‘हाम्रो मुद्दा बोक्ने, व्यक्ति, समूह, पार्टी सबै हाम्रा मित्र हुन्’, राणाले भने, ‘त्यसहिसाबले हाम्रो नैतिक समर्थन हुने भयो । पार्टीका नेता कार्यकर्ताहरु पनि गएका छन् । हाम्रो सद्भाव र शुभेच्छा दुर्गाजीको आन्दोलनका लागि छ ।’

राप्रपामा फरक धारको नेतृत्व गर्ने राणासहित पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले प्रसाईंको आन्दोलनलाई समर्थन गरेको बताइएको छ । पार्टी नेतृत्व नखुल्ने र पार्टीभित्रकै केही नेताहरु खुल्ने अवस्था बन्दा राप्रपामा प्रसाईंको आन्दोलनबारे दुई लाइन रहको समेत टिप्पणी हुने गरेका छन् ।

राप्रपाका अर्का प्रवक्ता सगुन लावती प्रधानमन्त्री प्रचण्डले नै गणतन्त्र खतरामा रहेको भनिसकेकाले राजतन्त्रको पक्षमा माहोल रहेको दाबी गर्छन् । उनले आन्दोलनमा जाने तयारीमा पार्टी रहेको भन्दै आवश्यक तयारी पूरा गरेर उपयुक्त समयमा घोषणा हुने बताए ।

प्रसाईंको आन्दोलनमा पूर्वराजाको मौनता

यस्तै पूर्वराजा निकट स्रोतले दुर्गा प्रसाईंसँग पूर्वराजासँग कुनै संवाद र सहकार्य नभएको दाबी गरेको छ । प्रसाईंले पूर्वराजाको समर्थनमा आन्दोलन गरेको भने पनि उनको कार्यक्रममा ९ महिनाअघि सहभागी हुनबाहेक अन्य सम्बन्ध नरहेको पूर्वराजा निकट स्रोतको भनाइ छ । प्रसाईंले पनि बिहीबारको पत्रकार सम्मेलनमा आफ्नो प्रदर्शनमा पूर्वराजाले समर्थनमा पत्रसमेत नपठाएको भनेर असन्तुष्टि पोखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप