आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

२ बुँदे सहमति पछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु

सोमबार, ११ मङ्सिर २०८०, १२ : १९
सोमबार, ११ मङ्सिर २०८०

हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा र आन्दोलनरत प्राध्यापकहरूबिच २ बुँदे सहमति भएसँगै पठनपाठनका क्रियाकलाप सुरु भएको छ । आइतबार बसेको आन्दोलनरत प्राध्यापक र प्रतिष्ठानका पदाधिकारीहरू बिचको वार्तामा सहमति जुटेको हो ।

वार्तामा सहमति बनेसँगै पेन डाउन गरेर आन्दोलनमा होमिएका प्राध्यापकहरू काममा फर्किएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी र प्राध्यापकहरूबिच एक महिनाभित्र तलब भत्ता बापतको रकम उपलब्ध गराउने सहमति भएको छ भने अन्य विषयहरू क्रमशः सुधार गर्दै जाने प्रतिष्ठानको प्रतिविद्धतापछि आन्दोलनरत प्राध्यापकहरू काममा फर्किएका हुन् ।

विगत १९ दिनदेखि प्रतिष्ठानमा कार्यरत प्राध्यापकहरूले तलब, भत्ता बापतको भुक्तानी नभएको भन्दै विरोधमा उत्रिएका थिए । विगत ४ महिनादेखि प्रतिष्ठानमा अध्यापन गराउँदै आएका विषयगत २४ जना प्राध्यापकहरूले पनि तलब, भत्ता लगायतका अन्य सुविधा बापतको रकम भुक्तानी प्राप्त गर्न नसकेको विरोधमा उत्रिएका थिए । प्राध्यापकहरूले ७ बुँदे माग अघि सार्दै  विरोधस्वरुप गत कात्तिक २२ गतेदेखि पठनपाठन नै ठप्प पारेका थिए ।

उनीहरुले नियमअनुसार प्राप्त गर्नुपर्ने तलब भत्ता तथा सेवा सुविधा समयमै उपलब्ध गराउन, शिक्षकहरूको स्थायित्वका लागि सेवा आयोग गठन, आवश्यक ऐन संशोधन गरी तत्काल कार्यान्वयन गर्न, विभिन्न स्थानमा छरिएर रहेका शैक्षिक कार्यक्रमहरूलाई एकीकृत रूपमा सञ्चालन गरी खर्च कटौती गर्न, ऐनअनुसार प्राज्ञिक परिषद्, सभा तथा अन्य समितिहरूमा शिक्षकहरूलाई प्रतिनिधित्व गरी पारदर्शिता कायम गर्न, शिक्षकहरूको पेसागत वृद्धि विकासको कार्यक्रमहरू समय तालिका बनाई कार्यान्वयन गर्न, शिक्षण सिकाई क्रियाकलापको लागी मापदण्ड अनुरूप प्रयोगशाला, पुस्तकालय तथा अन्य आवश्यक सामाग्रीहरूको व्यवस्था गर्न र प्रतिष्ठानको वृद्धि विकासमा मुख्यमन्त्री कार्यालयबाट मन्त्रालय सरह नै आर्थिक तथा मानवीय स्रोतको व्यवस्था गर्न माग गरेका थिए ।

प्राध्यापकले उठाएका मागहरूलाई प्रतिष्ठानले समयानुकूल क्रमिक रूपमा सम्बोधन गर्दै जाने र आवश्यक बजेट व्यवस्था गरी एक महिनाभित्र तलब भत्ता भुक्तान गर्ने सहमति बनेको हो । सहमतिसँगै प्राध्यापकहरूले सोमबारबाट नियमित पठनपाठनको कामलाई सुचारु गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप