मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जनताले वर्तमान व्यवस्थाको विकल्प खोजेका छैनन् : मुख्यमन्त्री जम्कट्टेल

बिहीबार, १४ मङ्सिर २०८०, १८ : १५
बिहीबार, १४ मङ्सिर २०८०

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तत्काल जनताले व्यवस्था परिवर्तन नचाहेको बताएका छन् । जनताले वर्तमान व्यवस्थाको विकल्प नखोजेको भन्दै मुख्यमन्त्री जम्कट्टेलले अहिलेको बहस व्यवस्था परिवर्तनतर्फ केन्द्रित गर्न जरुरी नरहेको बताए ।

मकवानपुरको थाहा नगरपालिकामा थाहा नगर उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारबाट सुरु भएको ‘थाहा महोत्सव’को उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले अहिले नागरिकले व्यवस्था परिवर्तनभन्दा पनि विकास र समृद्धि खोजेको बताए ।

उनले वर्तमान अवस्थामा व्यवस्था परिवर्तनमा बहस केन्द्रित गर्नुभन्दा विकास र समृद्धिका मुद्दामा छलफल गर्नु जरुरी रहेको बताए । नागरिकहरुलाई विकास र समृद्धिका माध्यमबाट शासक वर्ग तथा नेतृत्व कर्ताले आफ्ना विचार, दृष्टिकोण जनतामा लानुपर्ने उनको भनाई छ ।

‘अहिले केही व्यक्तिहरु यो व्यवस्था ठिक छैन । परिवर्तन गर्नुपर्छ । राजतन्त्र ल्याउनुपर्छ भनेर सक्रिय भइरहेका छन् । जनताले वर्तमान व्यवस्थाको विकल्प खोजेका छैनन् । त्यसैले त्यसतर्फ बहस गर्न जरुरी छैन,’ उनले भने, ‘अबको सवाल विकास र समृद्धिको हो । हामीले विकास र समृद्धिका मुद्दामा आफ्ना बहसहरु केन्द्रित गर्नुपर्छ । विकास र समृद्धिसँगै आफ्ना विचार दृष्टिकोण जनतामाझ लानुपर्छ । हाम्रो बहस विकास र समृद्धिका लागि स्थानीय तहको योजना के हो ? प्रदेशले बजेट कार्यक्रम कस्तो ल्यायो ? संघीय सरकारले मापदण्ड अनुसार विकासका लागि के के गर्ने हो ? भन्ने विषय एजेण्डा बन्नुपर्छ ।’

उनका अनुसार तीन तहको सहकार्यमा कृषि, पर्यटन, उद्योग र रोजगारी सृजनाको विषयमा के के गर्ने भन्ने विषयमा बहस, छलफल र सहकार्य गर्नु अहिलेको आवश्यकता हो । वर्तमान अवस्थामा राजनीतिक विचार र बहसलाई थाती राखेर काममा केन्द्रित हुनुपर्ने उनको भनाई छ । पछिल्लो समय अर्थतन्त्रमा आएको मन्दीका कारण विश्व नै प्रभावित भएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताए ।

‘अहिले विश्व नै अर्थतन्त्रको मन्दीका कारण मारमा परेको छ । हामी पनि त्यसको प्रभाव भोग्दै छौँ । तर, निराश बन्नुपर्ने अवस्था छैन । नयाँ ढंगबाट सोचेर अघि बढौँ । हामीले पुरानै शैलीबाट काम गरिरहेका छौँ । नयाँ ढंगको योजना बनाएर अघि बढ्नुपर्छ,’ उनले भने ।

प्रदेश सरकारले कृषि क्षेत्रको रुपान्तरणका लागि समुदायमा आधारित अनुदान कार्यक्रम लागु गर्ने तयारी गरिरहेको मुख्यमन्त्री जम्कट्टेलले बताए । कृषि क्षेत्रमा आबद्ध कृषकहरुलाई लक्षित गरी पकेट क्षेत्र घोषणा गरेर अनुदान तथा उत्पादनका कार्यक्रम कार्यान्वयन गर्ने तयारी सरकारले गरेको उनको भनाई छ । प्रदेश सरकारले स्थानीय तहको सिफारिसका आधारमा बागमती प्रदेशमा ८५ वटा पकेट क्षेत्र घोषणाको तयारी गरेको उनले बताए । समुदायमा आधारित उत्पादन मोडल अनुसार सरकारले स्थानीय र प्रदेश सरकारसँग कृषक, निजी क्षेत्र र सहकारीहरूलाई जोड्ने तयारी गरेको मुख्यमन्त्री जम्कट्टेलले बताए । उक्त मोडल अनुसार उत्पादन वृद्धिका लागि प्रदेश र स्थानीय तहको लगानीमा कृषकहरुलाई सहयोग गर्दै बजारीकरणमा निजी क्षेत्रसँगको सहकार्य गरिने उनले बताए ।

सरकारले विकासमा पछि परेका र मानव विकास सुचकांकमा तल्लो स्थानमा रहेका वडाहरुलाई लक्षित गरी नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयनको चरणमा रहेको उनले बताए । पछि परेका वडाहरुको शिक्षा स्वास्थ्य तथा जीवनस्तरसँग जोडिएका विषयहरुलाई सरकारले प्राथमिकतामा राखेर उक्त कार्यक्रम कार्यान्वयनको प्रक्रिया अघि बढाएको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप