शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
प्रशासन

बागमती प्रदेश : एक हजार २३५ कर्मचारी दरबन्दी रिक्त, एक हजार ५०० अस्थायी दरबन्दी स्वीकृत

शुक्रबार, १५ मङ्सिर २०८०, ०६ : २८
शुक्रबार, १५ मङ्सिर २०८०

मकवानपुर । बागमती प्रदेश सरकार मातहतका विभिन्न निकायका एक हजार २३५ वटा दरबन्दी रिक्त अवस्थामा छन् । प्रदेश सरकार मातहत रहेका १२ वटा मन्त्रालय, संवैधानिक आयोग तथा बोर्ड र कार्यालयहरुमा सचिव, अधिकृत तथा सहायकस्तरका गरी कुल ४ हजार २६५ दरबन्दी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव निश्चलराज पाण्डेले बताए ।

प्रदेश सरकार स्थापनाका बखत कायम भएका ७ मन्त्रालय र सो मातहतका निकाय तथा कार्यालयहरुका लागि ३ हजार ७६३ दरबन्दी स्वीकृत भएको थियो । प्रदेश सरकारले पछि केही संरचना थप गरेको उनको भनाइ छ । थपिएका संरचनाहरुमा ५०२ वटा दरबन्दी कायम हुँदा प्रदेश सरकारले प्राप्त गरेको ३ हजार ७६३ दरबन्दी संख्या बढेर ४ हजार २६५ कायम भएको उनले बताए ।

प्रदेश सरकार मातहत रहेका कार्यालय र मन्त्रालयहरुमा अझै पनि कर्मचारी अभाव हुँदा २०० जना कर्मचारी संघीय सरकारले काजमा खटाएको पाण्डेले बताए । उनका अनुसार प्रदेश सरकारले पदपूर्ति गरेसँगै ती कर्मचारी पुनः संघीय सरकार मातहतका कार्यालयमा फिर्ता जानेछन् ।

प्रदेश सरकार गठन हुँदाका बखत पनि संघीय सरकारबाट दरबन्दी अनुसार कर्मचारी प्राप्त हुन नसकेकाले सुरुवाती चरणमा काम गर्न केही समस्या देखिएको उनले बताए । अभैm पनि प्रदेश सरकार मातहत रहेका दरबन्दीहरु पूर्ण हुन नसकेको र अस्थायी रुपमा दरबन्दी कायम गरी प्रदेश सरकारले काम गरिरहेको उनको भनाइ छ ।

हाल बागमती प्रदेशमा संघीय सरकारबाट काजमा आएका, कर्मचारी समायोजन र प्रदेश लोक सेवा आयोगबाट नियुक्त भएका गरी ३ हजार ३० जना कार्यरत छन् ।

एक हजार ५९५ अस्थायी दरबन्दी स्वीकृत

प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८०-०८१) का लागि मात्र एक हजार ५९५ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । प्रदेश सरकारको गत साउनमा बसेको मन्त्रिपरिषद बैठकले रिक्त रहेका पदमा कर्मचारी भर्ना गरी कामकाज गर्न सो दरबन्दी स्वीकृत गरेको हो ।

स्वास्थ्य सेवातर्फ बढी कर्मचारी आवश्यक रहेकाले सो अस्थायी दरबन्दी स्वीकृत गरेको सचिव पाण्डेले बताए । अस्पतालहरुको स्तरोन्नति र सुविधा वृद्धिका कारण अस्थायी रुपमा दरबन्दी स्वीकृत गरेर सेवा प्रवाह नियमित गरिएको उनको भनाइ छ । अस्थायी दरबन्दी स्वीकृत नगर्दा तलब भत्तासमेत वितरणमा समस्या हुने उनको भनाइ छ ।

उनका अनुसार प्रदेश सरकारले अस्थायी दरबन्दी अन्तर्गत प्राविधिक कर्मचारीलाई स्वीकृत दिएको छ भने केही मात्रामा प्रशासनिक कर्मचारीलाई नियुक्ति दिन दरबन्दी स्वीकृत गरिएको छ । सरकारले स्वास्थ्यतर्फ विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, बायोमिडिकल, फार्मेसिस्ट, ल्याबका कर्मचारी, नर्स लगायतका पदका लागि दरबन्दी स्वीकृत गरेको उनले बताए ।

प्रदेश सरकारले स्वास्थ्यतर्फ ७५८ पदका लागि दरबन्दी स्वीकृत गरेको सचिव पाण्डेको भनाइ छ । प्रशासनिकतर्फ करिव २०० र अन्य इन्जिनियर, भेटेरिनरी डाक्टर, जेटीएहरु रहेको उनले बताए ।

२० कार्यालयमा संघका हाकिम, २ वटा अन्य प्रदेशका

बागमती प्रदेशका २०१ कार्यालयमध्ये १७९ वटा कार्यालयको प्रमुख बागमती प्रदेश मातहतका कर्मचारीले चलाउँदै आएका छन् भने अन्य कार्यालयको प्रमुख संघीय सरकारबाट आएका र बाहिरी प्रदेशबाट काजमा बसेकाले जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रदेश सरकार मातहत रहेको १२ मन्त्रालय अन्तर्गतका १४ वटा निकायको कर्मचारी तेरिज स्वीकृत सम्पन्न भएको छ । ३ चरणमा प्रदेश सरकारको मन्त्रिपरिषद बैठकबाट १४ वटा निकायको कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको हो भने अन्य ८ वटा निकायको स्वीकृतिको चरणमा छ ।

प्रदेश सरकार मातहतको २० वटा कार्यालयको प्रमुख संघीय सरकारबाट काजमा खटाएका कर्मचारीले सम्हालेका छन् भने प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय मातहतको एक र स्वास्थ्य मन्त्रालय मातहतको एक कार्यालयको प्रमुख अन्य प्रदेशबाट काजमा खटिएका कर्मचारीले सम्हालेका छन् ।

त्यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइ, सामाजिक विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्रदेश लोक सेवा आयोगको मातहतको एक÷एक कार्यालयको प्रमुखको जिम्मेवारी संघीय सरकारबाट काजमा खटाइएका कर्मचारीले लिएका छन् भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतका २औ२ वटा कार्यालयको प्रमुख संघीय सरकारका कर्मचारीको जिम्मेवारीमा छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको ४ र भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको ६ वटा कार्यालयको प्रमुख पनि संघीय सरकार मातहतको कर्मचारीको जिम्मेवारीमा छ ।

रिक्त पद पदपूर्ति गर्न पुसमा विज्ञापन गर्ने तयारी

प्रदेश सरकारले विभिन्न निकायमा रिक्त रहेका पदहरुलाई पूर्णता दिने उद्देश्य अनुसार संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गर्ने काम गरिरहेको छ । प्रदेश निजामती कर्मचारी ऐन २०७९ अनुसार प्रदेश सरकारले १२ वटै मन्त्रालय र मातहतका निकायहरुको ओएनएम (कर्मचारी दरबन्दी तेरिज) स्वीकृत गर्न काम अघि बढाएको हो ।

पुसको दोस्रो साताका लागि लोक सेवा आयोगले भर्ना खुला गर्ने गरी ओएनएम स्वीकृत गरेर पठाउन पत्राचार गरेको र सरकारले पनि सोही अनुसार काम अघि बढाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव निश्चलराज पाण्डेले बताए ।

प्रदेश सरकार मातहत रहेको १२ मन्त्रालय अन्तर्गतका १४ वटा निकायको कर्मचारी तेरिज स्वीकृत सम्पन्न भएको छ । ३ चरणमा प्रदेश सरकारको मन्त्रिपरिषद बैठकबाट १४ वटा निकायको कर्मचारी दरबन्दी तेरिज स्वीकृत गरेको हो भने अन्य ८ वटा निकायको स्वीकृतिको चरणमा छ ।

प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालय मातहतका निकायहरुको दरबन्दी तेरिज स्वीकृतिको चरणमा छ । ती मन्त्रालयको कर्मचारी दरबन्दी तेरिज स्वीकृत भएसँगै प्रदेश सरकारबाट रिक्त रहेका पदहरुमा पदपूर्तिका लागि विज्ञापनको प्रक्रिया अघि बढ्ने सचिव पाण्डेले बताए ।

प्रदेश सरकार मातहत कायम रहेका हालको दरबन्दीमा ओएनएम सम्पन्न भएपछि केही पद थपघट हुन सक्ने र सोही अनुसार लोक सेवा आयोगले करिव एक हजार २०० जनाका लागि भर्ना खुला गर्ने उनले बताए । प्रदेश सरकारले निर्धारण गरेको कार्यतालिका अनुसार कात्तिकमा हुनुपर्ने विज्ञापन ओएनएम स्वीकृतिको काम ढिला हुँदा पुसको दोस्रो सातामा सरेको उनको भनाइ छ ।

पुसको दोस्रो साताका लागि लोक सेवा आयोगले भर्ना खुला गर्ने गरी ओएनएम स्वीकृत गरेर पठाउन पत्राचार गरेको र सरकारले पनि सोही अनुसार काम अघि बढाएको उनले बताए । प्रदेश सरकारले रिक्त दरबन्दीसँगै आवश्यक मात्रामा अस्थायी दरबन्दीलाई स्थायी गरी कर्मचारी भर्नाको तयारी थालेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप