बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छ : उपनेता तामाङ

आन्दोलनमा राप्रपाका ६५ प्रतिशत कार्यकर्ताहरू सहभागी भएको दाबी
शनिबार, १६ मङ्सिर २०८०, ११ : १०
शनिबार, १६ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको बताएका छन् ।  तामाङले व्यवसायी प्रसाईंको आन्दोलनमा राप्रपाका ६५ प्रतिशत कार्यकर्ताहरू सहभागी भएको दाबीसमेत गरे ।

उनले आफ्नो पार्टीले कार्यकर्तालाई जानु पनि र नजानु पनि नभनेको उल्लेख गर्दै कार्यकर्ताहरूले आफ्नो इच्छाअनुरूप आन्दोलनमा सहभागी भएको बताए । उनले पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही व्यवसायी प्रसाईंले गरेको कार्यक्रममा गई सम्बोधन गरेको र राप्रपाले नैतिक समर्थन गरेको बताए । 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपनेता तामाङले भने, ‘दुर्गा प्रसाईंको आन्दोलनलाई हाम्रो नैतिक समर्थन हो । पार्टीका कार्यकर्ताहरू त्यहाँ ६५ प्रतिशत भन्दा बढी नै उपस्थित हुनुभयो । हाम्रो पार्टीले कार्यकर्ताहरूलाई जाऊ पनि भनेको छैन र नजाऊ पनि भनेको छैन । त्यस कारण हाम्रो नैतिक समर्थन हो । नैतिक समर्थन भएपछि केके गर्नुपर्छ भन्ने कुरा कार्यकर्ताले जान्ने कुरा हो । हाम्रो प्रवक्ता एबं संसदीय दलका प्रमुख सचेतक समेत गएर त्यहाँ आफ्ना कुरा राखेर आउनुभएको छ ।'

नेता तामाङले राप्रपाको एजेन्डा बोकेर आउने सबैलाई राप्रपाले समर्थन गर्ने बताए । 'व्यवसायी प्रसाईंका विविध प्रस्तावहरू छन्, उहाँका विविध माग छन् । त्यसमध्ये राजासहितको प्रजातन्त्र पुनर्स्थापना र हिन्दु राज्य पुनर्स्थापना दुई विषय तथा संघीयता खारेजको विषयमा हाम्रो समर्थन छ । हाम्रो विचारमा सहमत सबैलाई आह्वान गर्दछौँ- सहकार्य गर्न आउनुस् ।’

उपनेता तामाङले राप्रपाले मङ्सिर २७ गते कैलाली, २८ गते महेन्द्रनगर र २९ गते जनकपुरमा आमसभा गर्न लागेको जानकारी दिए । उनले पुस २७ गतेबाट राप्रपाले आफ्ना एजेन्डाअनुसारका विभिन्न कार्यक्रमहरू घोषणा गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप