सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
ह्वीलचेयरमा पहिलो पटक पाटन दरबार छिर्दा
फोटोफिचर

ह्वीलचेयरमा पहिलो पटक पाटन दरबार छिर्दा

आइतबार, १७ मङ्सिर २०८०

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

ललितपुर । लक्ष्मीमाया थापा जन्मिँदै शरीरको तल्लो भाग नचल्ने अवस्थामा जन्मिएकी थिइन् । सानै उमेरदेखि ह्वीलचेयरमै सीमित उनी जीवनको २५ वर्षमा आइपुग्दा सामाजिक कार्यमा स्नातक सकेर मास्टरको तयारीमा लागिरहेकी छन् ।

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ललितपुर महानगरले आइतबार आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी सितापाइलादेखि आफ्नो आमासँग आएकी थिइन् । उनी पाटन दरबारमा पहिलोपटक आएकी हुन् ।

disabled (7)

काठमाडौँजस्तो ठाउँमा घरबाट बाहिर निस्किँदा एक्लै लामो बाटो हिँड्न सहज हुँदैन । त्यसैले बिना काम उनी बाहिर निस्कन सक्ने अवस्था नै हुँदैनथ्यो । ‘सानोमा सामाजिक विषयमा पढेको देखेको पाटन दरबार क्षेत्र आज ह्वीलचेयर मै घुम्न र हेर्न पाउँदा सपना पूरा भएको जस्तो भयो,’ उनले भनिन, ‘हामीजस्तो शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले पाटन दरबारभित्र छिर्न पाउँदा यो भन्दा ठुलो कुरा के हुन सक्छ ?’

कार्यक्रममा सहभागी हुन आएका भोजराज श्रेष्ठ पनि ललितपुर महानगरप्रति आभार व्यक्त गर्दै थिए । ‘ललितपुर महानगरले यस्तो उदाहरणीय कार्य गरेकोमा निकै खुसी लाग्यो,’ उनले भने ।

disabled (1)

विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्रमा पुरानो संरचनामाथि नयाँ बनाउन नपाउने भएकाले आज एक दिनका लागि र्‍याम्पहरु बनाइएको ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले बताए । ‘ललितपुर महानगरलाई स्मार्ट सिटीतर्फ लगिरहेका छौँ, त्यसै क्रममा स्मार्ट सिटीमा हुनु पर्ने आवश्यकता अनुसार पूर्ण रूपमा अपाङ्गमैत्री संरचनातर्फ पनि जोड दिँदै आएका छौँ,’ उनले भने ।

विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले पहिलै बनिसकेको पुरातत्त्व महत्त्वका संरचनामाथि यी अपाङ्गमैत्री र्‍याम्प बनाउन नपाइने भएकाले आजका लागि मात्र बनाइएको तर भविष्यमा कुनै ठाउँबाट वैकल्पिक बाटो बनाएर प्रवेश गराउने उनको भनाइ छ ।

कार्यक्रममा ललितपुर महानगरका प्रमुख, उपप्रमुखले अपाङ्गता भएका व्यक्तिहरूसँगै पाटन दरबार क्षेत्र अवलोकन गरेका थिए । पाटन दरबार क्षेत्रको सुन्दरी चोक, मूल चोक र केशव नारायण चोकमा घुमेर अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ ।

disabled (2)disabled (3)disabled (4)disabled (5)disabled (6)disabled (8)disabled (9)disabled (10)disabled (11)disabled (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया