मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
अदालत

संवैधानिक नियुक्तिसम्बन्धी रिट फेरि पनि हेर्न नभ्याइनेमा

बुधबार, २० मङ्सिर २०८०, १६ : १८
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागसहित दर्ता भएको रिट फेरि पनि हेर्न नभ्याइनेमा परेको छ । बुधबारसहित यो मुद्दामा लगातार तीनपटक हेर्न नभ्याइनेमा परेको हो ।

२०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइका लागि बुधबार पेसी तोकिएको थियो । तर बुधबार पनि यस मुद्दा हेर्न नभ्याइनेमा परेपछि यस मुद्दामा लगातार तीन पटक र हालसम्म ६ पटक हेर्न नभ्याइनेमा परेको हो ।

बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुस्मालता माथेमा र कुमार रेग्मीको इजलासमा उक्त रिटको पेसी तोकिएको थियो । अगाडि अन्य मुद्दाको पेसी रहेको र अगाडिको मुद्दामा सुनुवाइ हुँदा यस रिटको पालो नआएकाले हेर्न नभ्याइनेमा परेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गरी विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेका ५२ जना पदाधिकारी तथा सदस्यहरूको नियुक्ति बदरको माग गर्दै रिट परेको थियो ।

अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, समृत खरेल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल लगायतले दायर गरेको रिटमा यसअघि २०७८ चैत ९ गते कारण देखाऊ आदेश जारी भएको थियो भने २०७९ असार ८ गतेको आदेशमा सबै मुद्दालाई लगाउमा राख्ने र सबै विपक्षीलाई जानकारी दिने आदेश भएको थियो ।

त्यसैगरी २०७९ साउन ११ गतेको पेसीमा म्याद बुझाउन नसकिएका पदाधिकारीलाई म्याद बुझाउने आदेश भएको थियो भने २०७९ फागुन ३ गते उक्त रिट हेर्न नभ्याउनेमा परेको थियो । त्यसपछि २०८० भदौ २७ गतेको पेसीमा पनि यस मुद्दा हेर्न नभ्याउनेमा परेको थियो ।

मुद्दामा संवैधानिक नियुक्ति लिएका ५२ जना, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संवैधानिक परिषद्का सदस्य आदिलाई विपक्षी बनाइएको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासमेतलाई विपक्षी बनाई दायर रिटमा प्रधानन्यायाधीशले नै हेर्न मिल्ने कि नमिल्ने भन्ने विषयमा समेत रिट परेपछि यो मुद्दा पछाडि धकेलिएको थियो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप