राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
अयोध्या । भारतको उत्तर प्रदेशस्थित अयोध्याको श्रीराम मन्दिरमा भक्तजनले चढाएको दानको रकम चोरी भएको घटनाको अनुसन्धान तीव्र पारिएको छ । उत्तर प्रदेश सरकारले यो प्रकरणको अनुसन्धान भारतीय केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) वा अन्य कुनै केन्द्रीय अनुसन्धान निकायलाई जिम्मा दिने विषयमा गम्भीर रूपमा विचार गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
‘द इन्डियन एक्सप्रेस’का अनुसार, यो मामिला आर्थिक अपराधसँग सम्बन्धित भएकाले विस्तृत र गहिरो अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालिएको छ । त्यसैले राज्य सरकारले केन्द्रीय निकायमार्फत निष्पक्ष अनुसन्धान गराउने विकल्पबारे छलफल गरिरहेको स्रोतहरूको भनाइ छ ।
हाल यो प्रकरणको अनुसन्धान विशेष अनुसन्धान टोली (एसआईटी)ले गरिरहेको छ । सुरुमा १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको भए पनि प्रारम्भिक प्रतिवेदनपछि राज्य सरकारले थप १५ दिनको समय दिएको छ । अब एसआईटीले जुलाई १५ भित्र अन्तिम प्रतिवेदन पेस गर्नुपर्नेछ ।
अनुसन्धानलाई अघि बढाउन एसआईटीको टोली बिहीबार पुनः अयोध्या पुग्ने तयारीमा रहेको बताइएको छ । उता अयोध्या प्रहरीले पनि छुट्टै अनुसन्धान जारी राखेको छ । प्रहरीले चोरी भएको अधिकांश रकम बरामद गरिसकेको र हालसम्म आठ जनालाई पक्राउ गरेर न्यायिक हिरासतमा पठाइएको जनाएको छ
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट हालसम्म ७९ लाख ८० हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । साथै चोरी गरिएको रकमबाट खरिद गरिएका सम्पत्ति र अन्य आर्थिक कारोबारको विवरण पनि सङ्कलन भइरहेको छ ।
एसआईटीले यसअघि श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका प्रमुख पदाधिकारी तथा ट्रस्टीहरूसँग पनि सोधपुछ गरिसकेको छ । सोधपुछमा महासचिव चम्पत राय, ट्रस्टी अनिल मिश्र र गोपाल राव लगायतका अधिकारी सहभागी भएका थिए ।
अनुसन्धानका क्रममा ट्रस्टीहरूसँग मन्दिरमा भक्तजनले चढाएको नगद तथा बहुमूल्य वस्तुको व्यवस्थापन, सुरक्षा र गणना प्रक्रियाबारे जानकारी लिइएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार मन्दिरका दानपात्रबाट संकलित रकम दैनिक रूपमा करिब २० देखि २५ कर्मचारीले सङ्कलन गरी गणना कक्षमा पुर्याउने गरेका थिए ।
रिपोर्टअनुसार दान रकमको गणना सुभाष श्रीवास्तव र रामशंकर यादव (टिन्नु)को निगरानीमा हुने गरेको थियो । रकम गन्ने कार्यमा लवकुश मिश्र, अनुकल्प मिश्र, रमाशंकर मिश्र, मनीष कुमार यादव र करुणेश पाण्डेलगायत कर्मचारी संलग्न रहेको बताइएको छ ।
जुन २५ मा पहिलो एफआरआई दर्ता भएपछि यी सबैलाई पक्राउ गरिएको थियो । एसआईटीले जुन १६ देखि २१ सम्म उनीहरूसँग विस्तृत सोधपुछ गरेको जनाएको छ । यसैबिच अनुसन्धानको दायरा थप विस्तार गर्दै सैनिक सेक्युरिटी सर्भिसेजका सुपरभाइजर तथा अन्य सुरक्षाकर्मीसँग पनि सोधपुछ गरिने भएको छ । मन्दिरमा प्राप्त दान रकमको सुरक्षा, गणना र त्यसलाई भारतीय स्टेट बैंक (एसबीआई)को शाखासम्म सुरक्षित रूपमा पुर्याउने जिम्मेवारी यही सुरक्षा कम्पनीका कर्मचारीलाई दिइएको थियो ।
उत्तर प्रदेश सरकारले घटनाको संवेदनशीलता र आर्थिक अनियमितताको गम्भीरतालाई ध्यानमा राख्दै आवश्यक परे अनुसन्धानको जिम्मा सीबीआई वा अन्य केन्द्रीय निकायलाई हस्तान्तरण गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको जनाएको छ । घटनाको अन्तिम सत्य तथ्य एसआईटीको प्रतिवेदन तथा आगामी अनुसन्धानपछि मात्रै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै शैलीमा बालेन सरकार : त्रिवि सेवा आयोगमा थापाको नियुक्ति विवादमा
-
अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
-
सरकारका प्रवक्ता भन्छन्– एन्फालाई भ्रष्टाचारको अखडा र राजनीतिक भर्ती केन्द्र हुन दिँदैनौँ
-
पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
-
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त
-
बागमती प्रदेशसभाः २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण